नेपालीमा लेख्नेहरूका लागि अत्यावश्यक वेबसाइट हिज्जे डटकमको बारेमा तपाईंले बेलाबेलामा सुन्नुभएको होला तर त्यो कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारेमा तपाईंलाई थाहा नहुन सक्छ ।
यसमा तपाईंले आफूले लेखेको नेपाली भाषाको हिज्जे लगायतका शुध्दताको जाँच गर्ने र सच्याउने गर्न सक्नुहुन्छ । आजकाल यो विभिन्न नीजि र केही सरकारी कार्यालयहरूले पनि प्रयोग गर्न थालिसकेका छन् ।
यो सफ्टवेयरको गुगल क्रोममा एक्सटेन्सन र माइक्रोसफ्ट प्लगईन पनि चाँडै नै आउने अपेक्षा गरिएको छ जसकारण यो चलाउन अझै सजिलो होला भन्ने आशा गरौँ ।
तर अहिलेको लागि भने यो वेबसाइटमा मात्र उपलब्ध छ र त्यसको कसरी प्रयोग गर्ने भन्ने बारे तपाईंलाई जिज्ञासा लागिरहेको छ भने यो लेख अन्त्यसम्म पढ्नुस् । हामी यसमा उपलब्ध फिचरहरूबारे तपाईंलाई जानकारी दिदैछौँ ।
खाता खोल्नुस्
हिज्जे डटकमको सुविधा पूर्ण रूपमा लिन तपाईंले यसमा खाता खोल्नुपर्छ र यो निशुल्क छ । खाता खोल्नको लागि तपाईं निम्न स्टेपहरू पछ्याउनुस् ।
१. सबैभन्दा पहिले तपाईं हिज्जे डटकममा जानुस् ।
२. त्यसपछि दायाँ कुनामा रहेको खाता खोल्नुहोस् मा क्लिक गर्नुस् । यसमा या त तपाईंले वेबसाइटमै छुट्टै खाता खोल्नुपर्छ जुन निशुल्क छ ।
३. आफ्नो नाम, ईमेल र पासवर्ड हालेपछि निशुल्क खाता खोल्नुहोस् मा क्लिक गरेपछि तपाईँको ईमेलमा ५ अंकको पहिचान पुष्टि गर्ने कोड आउँछ । त्यो हालेपछि यसमा खाता तयार हुन्छ । यदि त्यस्तो नगरीकन सिधै गुगल वा फेसबुकको खातामार्फत् लगिन गर्न पनि तपाईंले सक्नुहुन्छ ।
यसरी खाता खोलिसकेपछि तपाईंले अब हिज्जे डटकममा उपलब्ध सबै सुविधाहरू प्रयोग गर्न सक्नुहुन्छ ।
हिज्जे परीक्षण
हिज्जे परीक्षण गर्न धेरै नै सजिलो छ । त्यसको लागि निम्न स्टेपहरू पछ्याउनुस् ।
१. यो वेबसाइटको गृहपृष्ठ (होमपेज) मा गएर तपाईंले दायाँ छेउतिर नेपाली हिज्जे परीक्षण भन्ने विकल्पमा क्लिक गर्नुस् ।
२. त्यसपछि एउटा लेख्न मिल्ने बाकस तपाईंले देख्न सक्नुहुन्छ । टाइप गर्न चाहनुहुन्छ भने त्यसमा रोमन युनिकोडमा लेख्नुस् । लेख्दालेख्दै हिज्जे मिलेन भने त्यस्तो शब्दको मुनि रातो धर्को देखिन्छ । त्यस्तो शब्दमा दायाँ क्लिक गर्नुस् र विभिन्न सम्भावित सही शब्दहरूका विकल्प देखिन्छ जसबाट तपाईंले छनौट गर्न सक्नुहुन्छ ।
३. तर यदी तपाईँ आफ्नो डिभाइसमा पहिल्यै लेखिसकेको कुरालाई व्याकरणिक सम्पादन गर्न चाहनुहुन्छ भने पनि त्यसको सुविधा छ । लेखिसकेको लेखलाई कपी गरेर त्यो बाकसमा पेष्ट गर्नुस् । त्यसपछि विभिन्न गलत हिज्जे भएका शब्दहरूको मुनितिर रातो धर्को देखिन्छ । दोस्रो स्टेपमा भनिए जसरी नै सच्याउनुस् ।
४. यसरी सच्याएर लेखिसकेको लेखलाई अब तपाईंले कपी गरेर आफूले चाहेको ठाउँमा पेष्ट गर्न सक्नुहुन्छ ।
फन्ट टाइपिङ र रूपान्तरण
हिज्जे डटकममा तपाईंले विभिन्न फन्टहरूको विकल्प पनि छान्न सक्नुहुन्छ । कुनै फन्टमा लेखेको कुरालाई अर्को जुनसुकै फन्टमा रूपान्तरण पनि गर्न सक्नुहुन्छ । त्यसको लागि तल लेखिएका स्टेपहरू पछ्याउनुहोस् ।
१. हिज्जे डटकमको गृहपृष्ठमा गएर दायाँपट्टि छेउमा गएर फन्ट रूपान्तरण मा क्लिक गर्नुस् ।
२. त्यसपछि तपाईं आफूलाई जुन फन्टमा लेख्न मन लाग्छ, त्यो फन्ट चयन गर्नको लागि फन्टको ड्रपबक्समा क्लिक गर्नुस् । त्यसपछि विभिन्न फन्टहरूको विकल्प देखिन्छ । आफूलाई लेख्न मन लागेको फन्ट छान्नुस् र लेख्ने बाकसमा लेख्न थाल्नुस् ।
३. तर तपाईं पहिले नै आफ्नो डिभाइसमा लेखिसकेको लेख वा डक्युमेन्टलाई अर्को कुनै फन्टमा रूपान्तरण गर्न चाहनुहुन्छ भने त्यो लेख कपी गरेर यो बाकसमा पेष्ट गर्नुस् ।
४. त्यसपछि तपाईंले लेखेको फन्ट जुन हो, त्यो दायाँपट्टिको फन्ट ड्रपबक्समा छान्नुस् । त्यसपछि बाँयाँपट्टिको ड्रपबक्समा चाहिं तपाईंले रूपान्तरण गर्न चाहेको फन्ट छान्नुस् ।
५. अन्त्यमा रूपान्तरण मा क्लिक गर्नुस् । त्यसपछि तपाईंको लेख तपाईंले चाहेकै फन्टमा रूपान्तरण हुन्छ ।
नेपाली शब्दकोश
नेपाल प्रज्ञा प्रतिष्ठानले तयार पारेको पछिल्लो अपडेटेड संस्करणमा आएको नेपाली बृहत् शब्दकोशको आधारमा तयार पारिएको यो शब्दकोश पनि हिज्जे डटकमको अर्को उत्कृष्ट फिचर हो । यो प्रयोग गर्न पनि धेरै सजिलो छ । तलका स्टेपहरू पछ्याउनुहोस् ।
१. हिज्जे डटकमको गृहपृष्ठमा गएर बायाँपट्टि रहेको नेपाली शब्दकोश मा क्लिक गर्नुस् ।
२. त्यसपछि त्यहाँ एउटा बाकसमा “कमल” लेखेको हुन्छ । त्यो भनेको तपाईंले कुनै शब्द टाइप गर्नको लागि उदारहण दिइएको हो । त्यहाँ तपाईंलाई जुन शब्दको अर्थ चाहिएको हो, त्यो शब्द टाइप गर्नुस् । त्यसपछि खोज्नुहोस् क्लिक गर्नुस् ।
३. त्यसपछि नेपाली बृहत् शब्दकोशमा जस्तै गरी त्यो शब्दको अर्थ त तपाईंले देख्नुहुन्छ नै । साथसाथै त्यो शब्दसँग मिल्दोजुल्दो अन्य शब्दहरूको अर्थ पनि तपाईंले देख्नुहुन्छ । यस्तो फिचर ल्याउनुको उद्देश्य चाहिं त्यो शब्दको बारेमा अझै धेरै जानकारीहरू अझ स्पष्ट तरिकाले बुझ्न सकियोस् भनेर हो ।