एप्पल कसरी युएसबी टाइप सी प्रयोग गर्न बाध्य भयो ? 

apple usb c

लामो समयदेखि प्रविधि क्षेत्रमा युएसबी टाइप सी एप्पलले आफ्ना उत्पादनहरूमा ल्याउला कि नल्याउला भन्ने अनुमान र बहस हुँदै आएका थिए । तर सन् २०२२ को अक्टोबरतिर एप्पलका मार्केटिङ चिफ समेत रहेका कम्पनीका उपप्रमुख ग्रेग जोस्वियाकले आफूहरू अबका उत्पादनहरूमा युएसबी टाइप सी प्रयोग गर्न बाध्य भएको स्वीकारेका छन् ।

द वाल स्ट्रीट जर्नलले आयोजना गरेको वार्षिक टेक लाइभ समारोहमा बोल्दै जोस्वियाकले उक्त कुरा स्वीकारेका हुन् । उनले अब आफूहरूसँग कुनै पनि विकल्प बाँकी नरहेको बताए ।

एप्पल टाइप सी प्रयोग गर्न किन बाध्य भयो ?

युरोपियन युनियन (ईयु)ले लामो समयदेखि लगभग सबै इलेक्ट्रोनिक डिभाइसहरू (जस्तै स्मार्टफोन, हेडफोन, ट्याबलेट, क्यामरा, गेमिङ कन्सोल, माउस, किबोर्ड इत्यादि) चार्ज गर्नको लागी युएसबी टाइप सी प्रयोग गर्नै पर्ने कुरामा सहभागी सबै राष्ट्रहरूको सहमति खोजिरहेको थियो र सन् २०२२ को अक्टोबर २४ तारिखका दिन सबै राष्ट्रहरूले सहमति जनाएका थिए ।

ईयुको यो नयाँ कानुन ल्यापटपहरूको लागि सन् २०२६ को अन्त्यसम्ममा र बाँकी डिभाइसहरूको लागि सन् २०२४ को अन्त्यसम्मै कार्यान्वयनमा आउनुपर्छ । यो कानुन पारित भएको तीन दिनमै एप्पलले नयाँ कानुन अनुसार आफ्ना उत्पादन थाल्न आफू बाध्य भएको बताएको थियो ।

ईयुका कानुन निर्माताका अनुसार यो कानुनले ईलेक्ट्रोनिक फोहोरहरू कम गर्न मद्दत गर्छ र सबै डिभाइसहरूको लागि एउटै चार्जर बोके पुग्छ । ईयुका नागरिकहरूले हरेक वर्ष २५ करोड डलर चार्जरको लागि मात्रै खर्च गरिरहेका छन् । 

युरोपेली संसदले प्रेस जारी गर्दै भनेको थियो, “नयाँ नियमहरूमा, उपभोक्तालाई नयाँ डिभाइस किन्दा नयाँ चार्जर किनिरहनुपर्ने आवश्यकता हुने छैन किनकि सानादेखि मध्यमसम्म सबैखाले पोर्टेबल ईलेक्ट्रोनिक डिभाइसहरूको लागि एउटै चार्जर प्रयोग गर्न मिल्नेछ ।”

तर एप्पलका उपसभापति जोस्वियाकले भने ईयुको यो नयाँ कानुन प्रत्युत्पादक हुने र झन् धेरै ईलेक्ट्रोनिक फोहोर निस्कने बताएका छन् । अहिले नै अरबौँ मानिसहरूसँग लाइटनिङ कनेक्टर छ जसलाई प्रयोग गर्न नमिल्ने बनायो भने त्यो फाल्नुपर्ने वा नष्ट गर्नुपर्ने हुन्छ जसले थप ईलेक्ट्रोनिक फोहोर निस्कने उनको तर्क थियो ।

जे भए पनि ईयुले कानुन पारित गरिसकेको यो अवस्थामा उक्त युनियनभित्र पर्ने देशहरूमा मात्र आइफोन नबेच्ने निर्णय गर्न एप्पलले सक्दैन । ईयुको लागि छुट्टै अनि अन्य देशहरूको लागि छुट्टै आइफोन उत्पादन गर्न पनि एप्पलको लागि महङ्गो पर्छ । त्यसकारण पनि एप्पलले प्राय: सबै उत्पादनहरूमा युएसबी टाइप सी नै प्रयोग गर्न बाध्य हुनेछ । 

यस्तै बाध्यता अन्य कम्पनीहरूलाई पनि छ । किनकि यो नियम एप्पलले मात्र मान्नुपर्ने चाहिं हैन । अन्य कम्पनीहरुको हकमा पनि यो नियम लागु हुन्छ जसकारण नै तिनीहरूले केही वर्ष अगाडि देखि नै आफ्ना सबै ईलेक्ट्रोनिक डिभाइसहरूमा युएसबी टाइप सी ल्याउन थालिसकेका छन् । एप्पलले मात्र यो नियम लामो समयसम्म नमानेर आफ्नै बेग्लै चार्जिङ सिस्टमलाई नै निरन्तरता दिएको थियो । 

आइफोनमा टाइपसी आएपछि आउन सक्ने जटिलताहरू 

चार्ज र डेटा ट्रान्सफर छिटो हुने फाइदालाई एकातिर राखेर हेर्दा आइफोनले युएसबी टाइप सीको प्रयोग गर्न थालेपछि पक्कै पनि यसको चार्जिङ विशिष्टता र पृथकताको अन्त्य हुनेछ र त्योसँगै अन्य मूल्य उपभोक्ताले चुकाउनुपर्नेछ ।  पहिले नै छुट्टै चार्जर भएकाहरूको पैसा खेर जानेछ । 

युएसबी टाइप सी आएपछि एप्पलका पहिलेका लाइटनिङ चार्जरहरू अचानक काम नलाग्ने हुनेछन् जसकारण नै एप्पलले यो कानुनको विरोध गरेको हो । 

तर टाइप सी किनेपछि तपाईंले भविष्यमा जति डिभाइस फेरे पनि यही केबलले काम गर्ने हुँदा पैसा बच्ने फाइदा पनि छ, अर्कोतर्फ । त्यो दृष्टिकोणबाट हेर्दा चाहिं लामो समय अन्तरालमा चाहिं यो कानुनले उपभोक्तालाई फाइदा नै पुर्याउने देखिन्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.