लगभग एक वर्ष अघि एउटा नयाँ कम्पनीको फोन लञ्च भएपछि एक खालको तरङ्ग ल्याएको थियो । मिडियाले त्यो फोनलाई महिनौँसम्म चर्चामा ल्याएका थिए । त्यो फोनको नाम थियो नथिङ फोन वन ।
प्रविधि जगतमा चर्चित वानप्लस जस्तो कम्पनी सफलताको शिखर चुमिरहेको समयमा अर्थात् सन् २०२० को अन्त्यतिर यसका सहसंस्थापक कार्ल पेइले यो नयाँ कम्पनी नथिङ खोल्नको लागि उक्त कम्पनी छाडिदिए । यो कुरालाई धेरैले स्टिभ जब्सको पथसँग पनि तुलना गरेका छन् ।
धेरैले सम्भावना बोकेको अनुमान गरेको यो कम्पनीका संस्थापक यिनै कार्ल पेइबारे केही रोचक तथ्यहरु हामी यहाँ पस्किदैछौँ ।
कलेज ड्रपआउट
कलेज ड्रपआउट गरेर टेक कम्पनी खोलेका मार्क जकरबर्ग, बिल गेट्सहरूको शिक्षामा पनि अब्बल थिए तर कार्ल पेइचाहिं स्कुल र कलेजमा औसत विद्यार्थी थिए । हुन त उनले आफू विज्ञान र दर्शनशास्त्रमा रूचि राख्ने बताएका छन् तर लामो समयसम्म ध्यान दिन नसक्ने भएकाले स्कुलमा उनी उच्च श्रेणीमा पुग्न पाएनन् ।
साथै उनले उच्च शिक्षाको लागि स्वीडेनको कलेजमा भर्ना भए तापनि छिटै नै कलेज ड्रपआउट गरेर चिनियाँ स्मार्टफोन कम्पनीमा काम थालेका थिए ।
सानैदेखि प्रविधिमा रूचि
स्कुलमा औसत भएतापनि पेइ सानै देखि प्रविधिमा रूचि राख्थे । उनी स्कुलमा सकेसम्म थोरै समय बिताउँथे तर घर जानासाथ कम्प्युटर चलाउन थाल्थे । स्कुलमा बिताउनुपर्ने समय र दिनुपर्ने ध्यान कम्प्युटरमा दिएका पेइले त्यसको फल चाहिं पछि पाए ।
हरेक दिन एउटै टिसर्ट लाउँथे
केही वर्ष अगाडिसम्म पनि पेइ हरेक दिन एउटै टिसर्ट लगाउँथे । सुन्दै घिनलाग्दो लागे पनि, प्राय: विद्वानहरूले जस्तै, एउटै लुगा धेरै किनेर राख्ने र फेरी-फेरी लगाउने गर्थे । उनको ठ्याक्क त्यस्तै टिसर्ट नौवटा थियो र हरेक दिन फेरेर लगाउँथे । फेसबुक संस्थापक जकरबर्गको पनि यस्तै खालको बानी छ ।
जहाँबाट पनि काम गर्न सक्थे
प्राय कम्पनीका सिईओ र संस्थापकहरूलाई काम गर्नको लागी विशेष ठाउँ र वातावरणको आवश्यकता पर्छ र सोही अनुसार तयार पनि पार्छन् । तर नथिङका संस्थापक पेइ जहाँसुकै बाट पनि काम गर्न सक्छन् जस्तो देखिन्छ । उनले सामाजिक सञ्जालमा एउटा पोस्टमा फास्ट फूड रेस्टुरेन्ट मेकडोनाल्डबाट काम गरिरहेको फोटो शेयर गरेका थिए ।
खतरा ट्यागलाइन राख्न सिपालु
पेइ मार्केटिङका हस्ती मानिन्छन् तर खतरा-खतरा ट्यागलाइन राख्नमा पनि उनी उत्तिकै माहिर छन् भन्नेमा चाहिंधेरै कमलाई थाहा छ । वानप्लसको ट्यागलाइन “Never Settle” उनैले राखेका थिए । निकै चर्चित “Flagship Killer” नामक ट्यागलाइन पनि उनैले प्रयोग गर्न सुरू गरेका थिए ।
स्मार्टफोनदेखि झ्याउ लाग्यो अनि कम्पनी खोले !
धेरै मानिसहरू जिन्दगीमा केही गरौँ वा कुनै लक्ष्य हाँसिल गरौँ भनेर कम्पनी खोल्छन् तर पेइको मामिलामा त्यस्तो हैन । उनका अनुसार आजकालका स्मार्टफोन निर्माता कम्पनीहरुलाई अलि रूचिप्रद फोन बनाउने कुनै रहर नै छैन जसकारण स्मार्टफोनहरू झ्याउलाग्दा हुन थाले ।
उनले के पनि देखे भन्दा उपभोक्ताहरूलाई पनि नयाँनयाँ स्मार्टफोन बारेका रूचिहरू बारे चासो नै लाग्न छाड्यो र कम्पनीहरूले पनि नयाँ फीचरहरू लञ्च गर्न ढिला गर्न थाले । उनलाई यी सब कुरा चित्त बुझेन र यो समस्यालाई सम्बोधन गर्नको लागि आफ्नै कम्पनी खोले ।
आफ्ना भएभरका सामान एउटा सुटकेसमा अटाउँछ !
निकै सफल र धनी भएर पनि उनको जीवन भने सादा छ । उनीसँग भएका सामानहरू जम्मा एउटा सुटकेसमा अटाउँछ भन्ने थाहा पाउँदा तपाईंलाई पत्याउन गाह्रो पर्ला । उनको आफ्नै घरजग्गा केही पनि छैन । उनी भाडाको घरमा बस्छन् र जुनसुकै बेला पनि पोको पन्तुरो बाँधेर अर्को ठाउँ सर्न सक्छन् ।
स्टीभ जब्सका प्रशंसक
स्टीभ जब्सले जस्तै कार्ल पेइले पनि कसैसँग मिलेर निकै सफल टेक कम्पनी खोलेका थिए र सफलता चुमिरहेको बेला छाडेर अर्कै कम्पनी खोलेका थिए । हुन त पेइ एन्ड्रोइड चलाउने फोन कम्पनीका सहसंस्थापक थिए तर पनि जब्सप्रति उनको सम्मान उच्च थियो । एउटा रोचक कुरा के छ भने जब्सको बारेमा बनाइएको फिल्म हेर्न र प्रविधि क्षेत्रका नायकप्रति श्रद्धा व्यक्त गर्न उनी नाङ्गै खुट्टा हलमा पुगेका थिए ।