इटालीमा च्याट जिपिटीमाथि प्रतिबन्ध !

Italy block chat gpt

इटालीको नियामक निकाय ग्यारेन्टर फर प्रोटेक्शन अफ पर्सनल डेटा (जिपिडिपि) ले आफ्नो देशमा च्याटजिपिटिमाथि अस्थायी प्रतिबन्ध लगाइदिएको छ । जिपिडिपिका अनुसार मार्च २० तारिखमा च्याटजिपिटिले आफ्नो शुल्क लाग्ने सेवाको ग्राहकहरूको शुल्क सम्बन्धी जानकारी र कुराकानीको खुलासा गरिदिएपछि उसले यो प्रतिबन्ध लगाउन परेको हो ।

यो नियम तुरून्तै कार्यान्वयन भैसकेको छ र उक्त निकायले ओपनएआइले संवादमूलक एआइ सफ्टवेयर च्याटजिपिटिलाई तालिम दिनको लागी इटालीका इन्टरनेट प्रयोगकर्ताहरुको डेटा गैरकानुनी तवरले सङ्ग्रह गरिरहेको र त्यो प्रयोग गर्न स्कुले बालबालिकालाई पनि सजिलै दिइएको कुरामा अनुसन्धान गर्दैछ ।

च्याटजिपिटि निर्माण गरेको कम्पनी ओपनएआइले आफ्ना प्रयोगकर्ताहरूसँग माफी माग्दै कम्पनीले उनीहरूको गोपनीयताको सम्मान गर्ने र डेटा सुरक्षाको लागी प्रतिबध्द भएको जनाएको छ । साथै उसले यो कुरामा चुकेकोमा माफी पनि मागेको छ ।

यो नियम लागु भएको २० दिन भित्र ओपनएआइले जिपिडिपिको चिन्ताहरूको सम्बोधन गर्नुपर्नेछ अन्यथा २ करोड युरो वा उक्त कम्पनीको कुल आम्दानीको ४ प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।

साथै च्याटजिपिटिले टेक्स्ट प्रम्प्ट (text prompt) बाट प्राप्त हुने जवाफले तथ्यलाई तोडमरोड गर्ने वा बङ्ग्याउने र डेटालाई गलत तरिकाले प्रोसेस गर्दै अन्तत: गलत सूचना दिने र प्रयोगकर्तालाई भड्काउने जस्ता काम पनि गर्ने भन्दै जिपिडिपिले चिन्ता व्यक्त गरेको छ ।

जिपिडिपिका अनुसार यतिखेर च्याटजिपिटिसँग प्रयोगकर्ताको सूचना र डेटा भण्डार गर्दै आफ्नो एआइ मोडललाई तालिम दिनको लागी कुनै पनि कानुनी आधारहरू छैनन् जबकी यसले तिनीहरूबाट नक्कल गर्दै वास्तविक जस्तो लाग्ने कुराकानीहरू सिर्जना गर्न सक्छ । 

साथै बालबालिकाहरूले यसको सम्भावित हानिबारे सचेत हुने मौका नै नपाउने गरी उमेर हद नै नतोकी जसलाई पनि यो सफ्टवेयर चलाउन दिनु पनि गलत भएको जिपिडिपि बताउँछ ।

मस्क लगायतद्वारा एआइलाई रोक्न आह्वान

गत हप्ता मात्रै टस्लाका मालिक एलन मस्क, ३०,००० राजनीतिक नेताहरू, एआइ विज्ञहरूको समूह र एआइ उद्योगका कार्यकारीहरूले एक खुलापत्र जारी गर्दै समाजलाई सम्भावित जोखिमबाट बचाउनको लागिओपनएआइको जिपिटि फोरभन्दा बढी विकसित एआइ विकास गर्न छ महिना जति स्थगित नै गर्नुपर्ने बताएका छन् ।

उनीहरूका अनुसार यस्तो एआइले समाजमा कस्तो हानी पार्छ भनेर अझै राम्ररी थाहा नहुन्जेल यसको विकास रोक्नु नै सुझबुझपूर्ण निर्णय हुनेछ । यनेस्कोले उक्त खुलापत्रलाई समर्थन गर्दै प्रेस जारी गर्दै भनेको छ कि सबै सरकारहरूले युनेस्कोले सिफारिश गरेको नैतकवान एआइ निर्माण तिर ध्यान दिनुपर्छ ।

ओपनएआइले आफ्नो एआइ मोडललाई कसरी तालिम दिन्छ भनेर खुलाएको छैन । एक स्वीडिश एआइ अनुसन्धाता तथा सह-प्राध्यापक जोहाना बर्कलण्ड भन्छिन् , “वास्तविक समस्या भनेको पारदर्शीताको कमी हो । यदि तपाईं एआइको अनुसन्धान गर्नुहुन्छ भने तपाईँ त्यो कसरी गर्नुहुन्छ भनेर पारदर्शी हुनुपर्छ ।”

गत वर्षको डिसेम्बरमा लञ्च भएको च्याटजिपिटि यो वर्षको ज्यानुवरीमै मासिक १० करोड प्रयोगकर्ता पुगेको अनुमान छ । यो इतिहाँसकै सबैभन्दा छिटो धेरैभन्दा धेरै प्रयोगकर्ता बटुलेको उपभोक्ता एप भएको बताइएको छ ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.