गर्मीमा फोनलाई सुरक्षित राख्ने ९ तरिकाहरु

PROTECH YOUR PHONE IN SUMMER

गर्मी महिना मोबाइल फोनहरुको लागि सबैभन्दा नराम्रो सिजन हो भन्न सकिन्छ। गर्मी महिनामा मोबाइल फोनलाई सुरक्षित राख्नु नै एउटा चुनौतिपूर्ण कुरा बन्न जान्छ। गर्मी महिनामा मोबाइल फोनहरु ओभरहिट हुनु अर्थात् अत्यधिक तातिनु सामान्य कुरा हो।

फोनहरु ओभरहिट हुनाले फोन राम्ररी काम नगर्ने त एउटा सामान्य समस्या हो। तर यो बाहेक फोनको ब्याट्रि फुल्ने, भित्री पार्टहरु सर्ट भएर फोनमा आगो लाग्ने या फोन पड्किने जस्ता जोखिमपूर्ण कुराहरु बढ्ने हुनाले गर्मी महिनामा फोनलाई सुरक्षित राख्नु नै एउटा चुनौति बन्दछ। यस्ता केसहरु गर्मी महिनामा सबैभन्दा धेरै सुनिने गरिन्छ।

अहिलेका मोबाइल फोनहरुले फोन ओभरहिट भएपछि वार्निङ मेसेज डिस्प्ले गर्ने भएतापनि ओभरहिट हुन नदिनु नै सबैभन्दा राम्रो कुरा हुन्छ। यस आर्टिकलमा गर्मी महिनामा मोबाइल फोनहरु सुरक्षित राख्न केहि तरिकाहरुको बारेमा जानकारी दिइएको छ। 

गर्मीमा मोबाइल फोन सुरक्षित राख्ने तरिकाहरु

फोनलाई डाइरेक्ट घाममा नछोड्नुहोस् 

गर्मी महिनामा सिधै घामको कन्ट्याक्टमा नभए पनि फोनहरु बिस्तारै तातिने गर्छन् भने सिधै घामले नै भेट्ने ठाउँमा राखियो भने यसको नतिजा पक्कै राम्रो हुँदैन। यस कारणले गर्मी महिनामा सकेसम्म मोबाइल फोनलाई सिधै घामको कन्ट्याक्टमा नछोड्नुहोस्।

गर्मी महिनामा स्विमिङ गर्न जाने मानिसहरु पनि धेरै हुन्छन्। यस्तो बेलामा फोनलाई डाइरेक्ट घामले भेट्ने ठाउँमा राख्नु राम्रो हुँदैन। यस बाहेक घाममा तातिएको कारमा पनि फोनहरु छोड्नु त्यति राम्रो कुरा हैन। यदि फोन कतै छोड्नुनै छ भने कसैको निगरानीमा एउटा घामले नभेट्ने ठाउँमा छोड्न सक्नुहुन्छ।

फोनलाई डाइरेक्ट घाममा नचलाउनुहोस्

सकेसम्म घाममा फोन नचलाउनु नै सबैभन्दा राम्रो हुन्छ। धेरै मानिसहरुको बाटोमा हिँड्दा पनि फोन चलाउने बानी हुन्छ। घामको डाइरेक्ट कन्ट्याक्टमा फोन चाँडै तात्ने गर्छ। अझै यसमाथि पनि फोन चलाउनु हुन्छ भने फोन तात्ने स्पीड अझै बढ्छ। 

यसो गर्दा फोन ओभरहिट हुने समस्या उत्पन्न हुन्छ। यसले पछि गएर फोनमा नजाँनिदो समस्या पनि पर्न सक्छ। त्यसैले डाइरेक्ट घामको कन्ट्याक्टमा फोनलाई जति कम चलाउन सक्नुभयो त्यति नै राम्रो हुन्छ। हिँड्दा केहि अत्यावश्यक काम पर्यो र फोन चलाउनु पर्यो भने फोन नचलाई हुँदैन। तर अनावश्यक कामकाजको लागि सिधै घाममा फोनको प्रयोग जति कम गर्न सक्नुभयो उति राम्रो हुन्छ।

फोनको ब्राइटनेस लेभल र अन्य सेटिङ्ग मिलाउनुहोस्

फोनको डिस्प्लेले ब्याट्रिलाई भार दिइरहेको हुन्छ। त्यसैले फोनलाई गर्मीमा सकेसम्म कम ब्राइटनेसमा सेट गर्नुहोस्। अटोमेटिक सेट गर्दा यसले मोबाइलको फोकस केन्द्रित गर्ने हुनाले ब्राइटनेलाई म्यानुवल सेट गर्नुहोस्। धेरै कम ब्राइटनेसमा हेर्न कठिन हुने हुँदा आफुले देख्न सक्ने गरीको ब्राइटनेस लेभल सेट गर्नुहोस्।

अर्को कुरा भनेको प्रयोगमा नहुँदा पनि हामी वाइफाइ, ब्लुटुथ, मोबाइल डाटा जस्ता सेटिङ्गलाई खुल्लै छोड्दिरहेका हुन्छौँ। काम नभएको बेलामा यी कुराहरु सबै अफ गरेर छोड्नुहोस्। यस्ता कुराले पनि मोबाइल फोनमा अनावश्यक भार दिइरहेका हुन्छन्।

एपहरुलाई पूरा बन्द गर्नुहोस्

धेरै मानिसहरुको नराम्रो या नजाँनिदो बानी कुनै पनि एपलाई पूर्ण बन्द नगर्ने हुन्छ। अर्थात् एपको प्रयोग पछि धेरै जना ब्याक (back) बटनमा ट्याप गरेर पछाडि फर्कनुहुन्छ। यसो गर्दा एपहरु पूर्ण रुपमा बन्द हुँदैनन् र नदेखिने रुपमा चलिरहेका हुन्छन्।

कुनै एपहरुबाट यस्तो परिस्थितिमा कुनै असर देखिँदैन। तर फेसबुक, ट्विटर, इन्टाग्राम जस्ता ब्याकग्राउन्डमा रिफ्रेस भइरहने एपहरुले तपाईँहरुको फोनको ब्याट्रि त्यत्तिकै पनि खपत गरिरहेका हुन्छन्। यस बाहेक वेब ब्राउजर र हेभि गेमहरुले पनि उत्तिकै ब्याट्रि खपत गर्ने हुँदा यिनीहरुलाई पनि प्रयोग पछि पुरा बन्द गर्नु राम्रो हुन्छ।

फोनलाई रिबुट या रिस्टार्ट गर्नु पनि एउटा अपसन रहेको छ। फोनलाई एक पटक रिस्टार्ट गर्नाले फोनले सबै चलिरहेका एपहरुलाई स्वतः बन्द गर्छ र फोन आफ्नो वाञ्छनीय अवस्थमा फर्कन्छ।

फोनलाई खल्ती बाहिर निकाल्नुहोस्

गर्मी महिनाको उच्च तापक्रमको कारण बाहिर जति गर्मी बढेको हुन्छ तपाईँहरुको शरीर आफैँ पनि त्यत्तिकै तातिएको हुन्छ। मोबाइल खल्तीमा हुँदा खेरी तपाईँहरुको शरीरको तापक्रमले पनि फोनलाई त्यति राम्ररी सेलाउन दिँदैन। यस्तोमा फोनलाई धेरै बेरसम्म पनि खल्तीमा नै छोड्नु ठिक हुँदैन।

तपाईँहरुले पनि याद गर्नुभएको हुनुपर्छ। कहिलेकाहिँ खल्तीबाट बाहिर निकाल्दा पनि फोन तात्तिरहेको हुन्छ। यो तपाईँहरुको शरीरको तापक्रमको कारणले नै भएको हो। बाहिर हिँड्दा खल्तीमा फोन राख्नै पर्छ। तर ठाउँ पाउने बित्तिकै फोनलाई खल्तीबाट बाहिर निकालेर चिसिन दिनुहोस्।

घरमा त फोन खल्तीमा हुने कुरा हुँदैन। तर बाहिर हिँड्दा पनि समय समयमा फोनलाई बाहिर निकालेर चिसिन दिनुहोस्। तपाईँहरु दिनैभरी पनि पक्कै नहिँड्नुहोला। कतै गएर त पक्कै बस्नुहुन्छ। त्यति बेला या गाडिमा हुँदा परिस्थिति अनुसार मोबाइल फोनलाई बाहिर निकाल्ने गर्नुहोस्।

फोनलाई कभरबाट बाहिर निकाल्नुहोस्

फोनलाई कभर सहित प्रयोग गर्ने युजरहरुको संख्या धेरै छ। फोनको सुरक्षाको लागि धेरै युजरहरुले फोन कभर प्रयोग गर्नुहुन्छ तर कहिलेकाहिँ यसको नकारात्कम असर पनि देखिन्छ। फोन तात्नुमा फोन कभरको पनि केहि भूमिका रहेको हुन्छ।

फोन तातेपछि फोनमा भएको ताप बाहिर निक्लिन खोजिरहेको हुन्छ। तर फोन कभरले यो तापलाई बाहिर निक्लिन दिँदैन। यस्तो हुँदा फोन चिसिन पाउँदैन। त्यसमाथि फोनको कभर जति बाक्लो भयो त्यति धेरै फोन तात्ने हुन्छ। त्यसैले फोनलाई यसको कभरबाट बाहिर निकाल्नुभयो भने यसमा जम्मा भएको ताप बाहिर छरिन्छ र फोन छिटो चिसिन्छ।

फोनलाई राम्रो स्थानमा चार्ज गर्नुहोस्

गर्मी याममा फोनलाई चार्ज गर्ने समयमा पनि ध्यान पुर्याउनु पर्छ। जाडो यामको समय भन्दा गर्मी याममा तपाईँहरुको मोबाइल फोन चार्ज हुँदा पनि निकै तात्ने गर्छ। फोनलाई चार्ज गर्दा तपाईँहरुले फोन कहाँ राख्नुहुन्छ भन्ने आधारमा पनि फोन कत्तिको तातिन्छ भन्ने कुराको निर्धारण हुन्छ।

फोन चार्ज गर्ने बेलामा टेबल या डेस्क जस्तो कुनै फ्लाट सर्फेसमा राख्नाले फोनको ताप त्यति नै राम्रारी छरिन्छ र फोन त्यति धेरै तात्दैन। अर्को तिर तपाईँहरुले फोनलाई खाट माथि या सिरानीको मुनि राख्नुभयो भने फोनको तापले त्यति धेरै निकास पाउँदैन र फोन झन् धेरै तात्छ। खाट माथि पनि फोन राख्दा त्यति डर हुँदैन जति सिरानी मुनि राख्दा या ब्लाङ्केट मुनि राख्दा हुन्छ। 

फोन राख्नलाई टेबल या डेस्क नै हुनुपर्छ भन्ने छैन। तपाईँहरुले जस्तो फ्लाट सर्फेसमा पनि फोन राख्न सक्नुहुन्छ। तर फोनलाई डाइरेक्ट घाम आउने ठाउँमा चार्ज भने बिर्सिएर पनि नगर्नुहोला। यस्तो ठाउँमा फोनमा सिधै आगो लाग्ने खतरा पनि धेरै हुन्छ।

फोन धेरै तातियो भने यसलाई फ्रिज भित्र नराख्नुहोस्

फोन धेरै तातियो भने यसलाई फ्रिज भित्र राख्दा छिटो सेलाउँछ भन्ने अवधारणा धेरैको मनमा होला। तर यो तपाईँहरुले गर्न नहुने काम मध्येमा पर्छ। 

फ्रिज बाहिर र फ्रिज भित्रको तापक्रमा यति धेरै भिन्नता हुन्छ कि त्यो परिवर्तनलाई तपाईहरुको फोनले नधान्न सक्छ र नजानिँदो समस्या आइलाग्न सक्छ। अर्को कुरा भनेको फ्रिज फोनको तातो तापक्रम र फ्रिजको अत्यधिक चिसो तापक्रमको कारणले फोनको भित्रि भागमा पानीको थोपा या मोइस्चर (moisture) उत्पन्न हुन सक्छ जस कारणले फोन सर्ट सर्किट (short circuit) हुन सक्छ।

फ्रिज भित्र राख्नु भन्दा तपाईँहरुले फोनलाई सिमेन्टको कन्ट्याक्टमा या अन्य यस्तै चिसो ठाउँ खोजेर राख्नुभयो भने त्यो सबैभन्दा राम्रो कुरा हुन्छ। नत्र तपाईहरुले फ्यानको हावामा पनि यसलाई चिस्याउन सक्नुहुन्छ।

फोन फ्यान (Phone Fan) या फोन कुलर (Phone Cooler) प्रयोग गर्नुहोस्

phone cooler

फोनलाई चिस्याउने सबभन्दा छिटो र सरल माध्यम खोज्नुहुन्छ भने आफ्नो फोनको लागि फोन फ्यान या फोन कुलर खरीद गर्नुहोस्। जसरी ल्यापटपको लागि कुलर भेटिन्छ त्यसरी नै फोनको लागि पनि डेडिकेटेड फ्यान या कुलर मार्केटमा भेट्न सकिन्छ।

हुन त यस्ता फ्यानहरु मुख्यतया गेमरहरुलाई फोकस गरेर गेम खेल्दा मोबाइल तात्न नदिन निर्माण गरिएतापनि तपाईँहरुले यो गर्मी याममा मोबाइलको तापक्रम कन्ट्रोल गर्न पनि प्रयोग गर्न सक्नुहुनेछ। यस लिस्टमा भएका सबै तरिकाहरु मध्ये यो तरिका फोन चिसो पार्न सबैभन्दा छिटो तरिका हो। तर अन्य तरिकाहरु भन्दा तपाईँहरुले यसको लागि आफ्नो तर्फबाट केहि पैसा खर्च गर्नुपर्ने हुन्छ।  

 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.