कुन प्रयोजनको लागि कस्तो किबोर्ड ?

Keyboard TYPES

किबोर्डको बारेमा त हामी सबै अवगत नै छौँ। हामी मुख्यतया कम्प्युटर र ल्यापटपमा समावेश गरिएको किबोर्ड नै प्रयोग गरिरहेका हुन्छौँ। यसो हुँदा हाम्रो कामलाई सहज बनाउन मार्केटमा अरु किबोर्ड पनि उपलब्ध छन् भन्ने कुरामा हामी अनविज्ञ रहने गर्दछौँ।  

हाल बजारमा अलग-अलग प्रयोजनका लागि अलगै थरिका किबोर्डहरु उपलब्ध रहेका छन्। आफ्नो प्रयोजनको लागि उपयुक्त किबोर्ड छनोट गर्न सकियो भने त्यसले हाम्रो कामलाई त्यति नै सरल बनाउँछ। 

यस आर्टिकलमा ती किबोर्डहरु कस्ता छन् र कस्तो प्रयोजनको लागि काममा आउँछन् भन्ने विषयमा केही जानकारी राखिएको छ। आउनुहोस् हेरौँ।

वायरलेस किबोर्ड (Wireless Keyboard)

यसको नाम अनुसार वायरलेस किबोर्ड भनेको कुनै वायर अर्थात् तार बिनाको किबोर्ड हो। वायरलेस किबोर्डले डिभाइसमा कनेक्ट हुन इन्फ्रारेड, रेडियो फ्रिक्वेन्सि या ब्लुटुथको प्रयोग गर्छ। यसै गरी वायरलेस किबोर्ड एउटा युएसबि रिसिभरसँग पनि उपलब्ध हुन्छ जुनलाई डङ्गल (Dongle) भनिन्छ।

कम्प्युटर र ल्यापटप युजरहरुले स्क्रिनकै सामुन्ने भई काम गर्नुपर्ने हुन्छ। धेरै बेरसम्म स्क्रिनको अगाडि बसेर काम गर्दा केहि अप्ठ्यारो महसुस हुन सक्छ र केहि दुरी कायम राख्नुपर्ने पनि हुन्छ। यसले गर्दा वायरलेस किबोर्डलाई एउटा राम्रो रिप्लेसमेन्ट बनाउँछ।

यो बाहेक वायरको झन्झट नहुने हुँदा यसलाई सजिलै बोकेर हिँड्न पनि सकिन्छ। वायरलेस किबोर्ड सजिलै उपलब्ध पनि हुन्छ र त्यति महँगो पनि पर्दैन। समग्रमा यसको मुख्य सुविधा भनेको टाढाबाट डिभाइसमा काम गर्न वा डिभाइस कन्ट्रोल गर्न सम्भव गराउनु हो। 

गेमिङ किबोर्ड (Gaming Keyboard)

गेमिङ किबोर्ड मुख्यतया गेमरहरुको लागि तयार पारिएको हो। कम्प्युटरमा लामो समयसम्म गेम खेल्ने युजरहरुको लागि यो किबोर्ड उपयुक्त हुन्छ। गेमिङको लागि निर्मित यो किबोर्डले अरु किबोर्डको तुलनामा गेम कन्ट्रोललाई सरल बनाउँछ।

यसको छिटो रेस्पोन्स टाइमले गेमिङ अनुभवलाई त्यति नै राम्रो बनाउँछ। यस किबोर्डका किहरुको क्वालिटि पनि बलियो हुने हुँदा छिटो समयमा कुनै किले काम गर्न छोड्छ भनेर डराउनु पनि पर्दैन। मल्टिप्लेयर गेमिङको लागि कुनै गेमिङ किबोर्डमा W,A,S,D किहरु हाइलाइट गरिएको पनि भेट्नुहुनेछ।

धेरै गेमिङ किबोर्डहरुमा बिल्ट-इन जोइस्टिक (Built-in joystick) हुने हुँदा गेम क्यार्याक्टरहरुको हलचललाई अझ छिटो र सरलताका साथ कन्ट्रोल गर्न सक्नुहुनेछ। यस्तै अँध्यारोमा गेमप्लेको अनुभव लिने युजरहरुको लागि यसमा ब्याकलिटको पनि सुविधा राखिएको हुन्छ।

मेक्यानिकल किबोर्ड (Mechanical Keyboard)

यहाँ भएको अर्को किबोर्ड हो मेक्यानिकल किबोर्ड। मेक्यानिकल किबोर्डले अन्य किबोर्डको जस्तो रबरको प्रयोग नगरी स्प्रिङ्गको प्रयोग गर्छ जसले कुनै कि थिचिसकेपछि हात हटाउने बित्तिकै त्यस किलाई यथावत स्थानमा पुर्याउँछ। यसको साथै यस किबोर्डका किहरु बलियो हुने हुँदा धेरै समय टिक्छन्।

हरेक कि को तल एउटा कि स्विच रहेको हुन्छ र हरेक कि स्विच को सिग्नल मार्फत के थिचियो भन्ने कुरा कम्प्युटरले थाहा पाउँछ। कि स्विच थिचिनु पर्ने कारणले टाइपराइटरमा टाइप गर्दा निक्लिने जस्तै आवाज यसमा पनि उत्पन्न हुन्छ। 

यसको छिटो रेस्पोन्स टाइम र यसले प्रदान गर्ने टाइपिङ अनुभूतीको कारण यसलाई गेमरहरु र टाइपरहरुले धेरै रुचाउँछन्।      

फ्लेक्जिबल किबोर्ड (Flexible Keyboard)

अन्य किबोर्ड भन्दा बेग्लै यस किबोर्डलाई मोड्न वा फोल्ड गर्न सकिन्छ। रबर, सिलिकन र प्लास्टिकले यो किबोर्ड निर्माण गरिएको हुन्छ। सिलिकनले निर्माण भएको यस किबोर्ड धुलो र पानीबाट त्यति असर हुँदैन। 

फ्लेक्जिबल किबोर्डहरु ब्लुटुथ किबोर्ड हुन् र एउटा कनेक्टरको साथ आएका हुन्छन्। फ्लेक्जिबल किबोर्डलाई प्रयोग गर्न टेबल जस्तो एउटा सार्हो ठाउँ चाहिन्छ। मेक्यानिकल किबोर्ड जस्तो या वायरलेस किबोर्ड जस्तो यसलाई काखमाथि राखेर प्रयोग गर्न अप्ठ्यारो हुन्छ।

यसको पोर्टेबिलिटि (portability) अर्धात् यसलाई एक ठाउँबाट अर्को ठाउँमा सरल तरिकामा बोकेर लग्न सकिने सहजताले यसलाई अन्य किबोर्ड भन्दा आकर्षक बनाउँछ। त्यसैले धेरै हिँडिरहनुपर्ने काम पर्छ भने फ्लेक्जिबल किबोर्ड उपयुक्त हुन्छ। यसलाई रोल गरेर ब्यागको एउटा कुनामा राख्न सकिन्छ।

मल्टिमिडिया किबोर्ड (Multimedia Keyboard)

मल्टिमिडियालाई ध्यानमा राख्दै यो किबोर्ड बनाइएको हो। अरु किबोर्ड भन्दा यसमा केही सुविधाहरु थपिएका हुन्छन्। मल्टिमिडिया प्लेयरहरुमा प्रदान गरिएको सुविधाहरु यस किबोर्डले पनि प्रदान गर्दछ जस अन्तर्गत प्ले (Play), पज (Pause), स्टप (Stop), रिवाइन्ड (Rewind), म्युट (Mute), भोल्युम (Volume) आदि पर्दछन्।

मल्टिमिडिया प्रेमी हुनुहुन्छ भने यो किबोर्ड तपाईँहरुको लागि काममा आउनेछ। मिडिया प्लेयर भित्रका कन्ट्रोलहरु माउसले मिलाउनु भन्दा डाइरेक्ट किबोर्डबाट नै कन्ट्रोल गर्न सक्नुहुनेछ। यसको साथै कुनै मल्टिमिडिया किबोर्डहरु मिडिया कन्ट्रोल किहरु बाहेक गेमिङ कन्ट्रोलको लागि पनि आउने गर्दछन्। 

मुख्यतया मल्टिमिडिया प्रेमीहरुको लागि मल्टिमिडिया किबोर्ड सबैभन्दा उपयुक्त रोजाइ ठहरिन्छ।

एर्गोनोमिक किबोर्ड (Ergonomic Keyboard)

एर्गोनोमिक किबोर्ड “एर्गोनोमि” सँग सम्बन्धित छ जसको अर्थ भनेको काम गर्ने वातावरणमा हुने कम्फर्ट या आनन्दपन हो। त्यसैले यस्ता किबोर्डहरु लगातार टाइपिङले नाडीमा पुर्याउने असरलाई कम गर्ने सोचका साथ तयार परिएका हुन्छन्।

हाम्रो हात किबोर्डमाथि जसरी राखिन्छ, त्यहि अनुसार एर्गोनोमिक किबोर्डहरुलाई केहि एङ्गलमा बिचमा विभाजन गरिएकाे हुन्छ जुन स्प्लिट किबोर्डको नामले चिनिन्छ भने हाम्रो नाडी राख्नलाई एउटा प्याड पनि यसमा समावेश गरिएको हुन्छ। 

भर्चुवल प्रोजेक्सन किबोर्ड (Virtual Projection Keyboard)

कम्प्युटर र ल्यापटपको लागि भर्चुवल किबोर्ड इन-बिल्ट नै हुन्छ अर्थात डिभाइस किन्दा नै भर्चुवल किबोर्ड डिभाइसमा समावेश भइसकेको हुन्छ। ल्यापटप वा कम्प्युटरको किबोर्डमा कुनै कि बिग्रियो भने त्यतिबेला भर्चुवल किबोर्डले निकै ठुलो सहयोग पुर्याउँछ।

ल्यापटप र कम्प्युटर युजरहरुको लागि त बिल्ट-इन भर्चुवल किबोर्ड उपलब्ध छ। तर मोबाइल फोन या ट्याबलेटहरुको लागि भर्चुवल किबोर्ड उपलब्ध हुँदैन। यसको लागि प्रोजेक्सन किबोर्ड काममा आउँछ। 

प्रोजेक्सन किबोर्ड ब्लुटुथ मार्फत कम्प्युटर, ट्याब्लेट या स्मार्टफोनमा कनेक्ट गर्न सकिन्छ। प्रोजेक्सनको लागि एउटा डिभाइस प्रदान गरिएको हुन्छ जुनले अन हुँदा लेजर मार्फत एउटा भर्चुवल किबोर्डको प्रोजेक्सन गर्छ। प्रोजेक्सन किबोर्ड चलाउनलाई टेबल या डेस्क जस्तो सार्हो स्पेसको आवश्यकता पर्छ।

किबोर्डको होलोग्राफ माथिको टाइपिङलाई बुझेर डिभाइसले रेस्पोन्स दिन्छ। यसको नराम्रो पक्ष भनेको यसमा धेरै त्रुटिहरु हुने गर्दछ। 

अन्त्यमा,

तपाईँहरुको हरेक प्रयोजनको लागि मार्केटमा अलग प्रकारका किबोर्डहरु उपलब्ध छन्। यसो हुँदा एउटै किबोर्डमा मात्र सिमित भएर काम गर्नुपर्छ भन्ने छैन। आफ्नो प्रयोजनको लागि मिल्ने किबोर्ड छान्नुहोस्।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.