ल्यापटप किन ओभरहिट हुन्छ र यसलाई कसरी कुल डाउन गर्न सकिन्छ?

HEATED ALPTOP SOLUTION

मोबाइल र कम्प्युटर जस्तै ल्यापटपमा पनि देखिने एउटा समान समस्या भनेको ओभरहिटिङ अर्थात् डिभाइस अत्यधिक तात्नु हो। मोबाइल, ल्यापटप र कम्प्युटर तीनै डिभाइसहरुको लागि ओभरहिटिङ एउटा समान समस्याको रुपमा देखा परे तापनि यहाँ ल्यापटपमा हुने ओभरहिटिङमा फोकस गरिएको छ।

ल्यापटप ओभरहिट हुँदा यसलाई चलाउन बन्द गरिएन भने यसमा लामो समयको लागि ड्यामेज उत्पन्न हुन सक्छ। फेरी मानिसहरु ल्यापटपमा निर्भर हुने हुँदा ल्यापटप ओभरहिट भएर यसमा केहि समस्या देखा पर्यो भने यो कसैको लागि पनि राम्रो कुरा हुने छैन। 

ओभरहिटिङको समस्या सुन्दा खेरी त्यस्तो ठुलो समस्या नलाग्ला तर यसलाई एउटा साधारण समस्या भनेर हेलचेक्र्याईँ गरियो भने यसले ल्यापटपमा स्थाई ड्यामेज पनि पार्न सक्छ। खराब परिस्थिति सोच्ने हो भने ल्यापटपमा आगो लाग्न पनि सक्छ। त्यसैले ल्यापटप जहिले पनि यसको इष्टतम (optimal) पर्फमेन्समा काम गर्दै छ र ओभर हिट भएको छैन भनेर सुनिश्चित हुनुपर्छ। 

यस आर्टिकलमा ल्यापटप किन ओभरहिट हुन्छ र यसलाई कसरी कुल डाउन गर्न सकिन्छ या कुल डाउन गर्न सकिन्छ भन्ने विषयको बारेमा केहि जानकारी दिन खोजिएको छ।

ल्यापटप किन ओभरहिट हुन्छ?

ल्यापटप ओभरहिट हुने कारण एउटामा मात्र सिमित छैन र यो धेरै कारणहरुले हुन सक्छ। ल्यापटप ओभरहिट हुने केहि कारणहरु निम्नलिखित छन्।

उच्च प्रोसेसिङ पावर चाहिने कार्यहरु चलाउँदा

डेस्कटप कम्प्युटर या पिसि (PC) को तुलनामा ल्यापटपको साइज निकै कम्प्याक्ट (compact) हुने हुँदा यहाँ हरेक कम्पोनेन्ट या पार्टहरुको लागि थोरै स्पेस (ठाउँ) मात्र ओगटेका हुन्छन्। जब तपाईँहरु भिडियो गेम खेल्ने, टिभि कार्यक्रमहरु स्ट्रिम गर्ने, भिडियो एडिटिङ गर्ने जस्ता हाइ प्रोसेसिङ पावर चाहिने कार्य गर्नुहुन्छ भने तपाईँहरुको ल्यापटपको तापक्रम धेरै बढ्ने गर्छ।

यस्तो बेलामा तपाईँहरुको ल्यापटपमा उपस्थित भएको इन्टर्नल फ्यानहरुले ल्यापटपलाई चिस्याउन खोज्दा पनि ल्यापटप ओभरहिट भएर यसमा केहि न केहि खराबी आउन सक्छ। 

ल्यापटपको एयर भेन्ट (air vent) छोपिँदा

प्रत्येक ल्यापटपमा हावा निकास हुने ठाउँ अर्थात् एयर भेन्ट (air vent) हुने गर्छ। कुनै ल्यापटपमा साइडमा, कुनैमा  तल तिर तथा कुनैमा पछाडि गरी कम्पनी अनुसार ल्यापटपको अलग-अलग स्थानमा एयर भेन्ट भेट्न सकिन्छ। कारणवश ल्यापटपको एयर भेन्ट छोपियो या छेकियो भने ल्यापटप भित्रको तातो हावा बाहिर निस्किन नपाएर ल्यापटप निकै चाँडो तात्ने गर्छ। 

ल्यापटपलाई सिरानी, सोफा, खाट, ब्लाङ्केट या आफ्नो काख माथि राख्नाले ल्यापटपको एयर भेन्ट छोपिने सम्भावना बढ्छ जस कारणले ल्यापटप भित्रको तातो हावा बाहिर पास हुन पाउँदैन र ल्यापटप ओभरहिट हुने सम्भावना हुन्छ।

ल्यापटपको इन्टर्नल फ्यान जाम हुनु

हाम्रो वरिपरि नदेखिने रुपमा धुलो र फोहोरका असंख्य कणहरु रहेका हुन्छन्। जति नै तपाईँहरुले कोठा राम्रो बनाउनु भयो भने पनि यस्ता कणहरु कहिल्यै नास हुँदैनन्। ल्यापटपलाई तपाईँहरुले केहि दिन सम्म सफा नगरी छोड्नुभयो भने ल्यापटपमा निकै धुलो जम्मा भएको हुन्छ।

यस्तो हुँदा हामी बाहिर भागमा त धुलो सफा गर्छौँ तर ल्यापटपको इन्टर्नल भागमा पनि धुलो जम्मा भएर बसेकाे हुन्छ। ल्यापटपको पोर्टहरुबाट यस्ता धुलोका कणहरु छिरेर इन्टर्नल कम्पोनेन्ट माथि जम्मा भएर बसेको हुनसक्छ। यसरी धुलो र फोहोर ल्यापटपको फ्यानमा जम्मा भएर बसेको छ भने यसले फ्यानको हावा बाहिर राम्ररी पास नहुने हुन सक्छ भने खराब अवस्थामा फ्यानलाई अड्काएको पनि हुन सक्छ। धुलो बाहेक कपालका टुक्रा पनि भित्र छिरेको हुन सक्छ।

इन्टर्नल हार्डवेयरको समस्या

समय अनुसार कुनै सामान पनि यथावत स्थितिमा रहन नसक्ने हुँदा समय अनुसारको ल्यापटपको निरन्तर प्रयोगमा यसको हार्डवेयर पार्टहरुको एफिसियन्सि (efficiency) घट्दै जान्छ। ब्याट्रि र सबै इन्टर्नल पार्टहरु खराब हुँदै गएका हुन्छन्। 

यस्तो हुँदा ब्याट्रिले पनि अगाडिको तुलनामा कम धान्ने गर्छ र अन्य पार्टहरुपनि पर्फमेन्समा ढिलो हुँदै जान्छन्। जसकारण अगाडि सामान्य रुपमा चल्ने प्रोग्रामहरु चलाउँदा पनि अब ल्यापटपलाई सोहि प्रोग्राम चलाउन लोड परिरहेको हुन्छ। यसले गर्दा कम्पोनेन्टहरु त्यति छिटो तात्ने गर्छन् र ल्यापटप ओभरहिट हुन्छ।

ल्यापटप ओभरहिट भएको कसरी थाहा पाउने?

ल्यापटपको ओभरहिट भएको कुरा थाहा पाउने प्राथमिक कुरा भनेको त ल्यापटपको तापक्रम नै हो। अगाडि पनि लेखिए अनुसार ल्यापटप ओभरहिट हुँदा ल्यापटपको तापक्रम अत्यधिक बढ्ने गर्छ। 

ल्यापटपको सुरक्षित कार्य दायराको लागि ५० डिग्रि देखि ९५ डिग्रि फरेन्हाइट (50F – 95F) अर्थात् १० डिग्रि देखि ३५ डिग्रि सेल्सियसको (10C – 35C) तापक्रमलाई मानिन्छ र यो भन्दा बढी तापक्रम भएको खण्डमा ल्यापटप ओभरहिट भएको मानिन्छ।

तापक्रम धेरै बढ्नु भनेको ओभरहिट भएको थाहा पाउन सबै भन्दा सरल तरिका भएतापनि ओभरहिटिङले अरु असरहरु पनि देख्न सकिन्छ। त्यसैले निम्नलिखित समस्याहरुले पनि ल्यापटप ओभरहिट भएको संकेत दिन्छन्ः

  • ल्यापटपले साामन्य कार्यहरु सक्न पनि धेरै समय लगाउनु,
  • एप्लिकेसन र प्रोग्रामहरु अड्किनु,
  • माउस र किबोर्डले रेस्पोन्स नदिनु,
  • ल्यापटप एक्कासि सट डाउन हुनु या बन्द हुनु र केहि बेरसम्म नखुल्नु,
  • ल्यापटपको फ्यान ठुलो आवाजमा चल्नु,
  • ल्यापट ओभरहिट हुँदैछ भन्ने मेसेज देखिनु।      

ओभरहिट भएको ल्यापटप कसरी ठिक पार्ने?

कहिले काहिँ ल्यापटप चलाउँदै ओभरहिट भएर कुनै कार्यहरु नचल्ने अवस्था पनि सिर्जना हुन सक्छ। यस्तो परिस्थितिमा के गर्ने भन्ने कुराको जानकारी भएन भने झन् अतालिन सकिन्छ। त्यसैले ल्यापटप ओभरहिट भएको परिस्थितिमा के गर्ने भन्ने कुराको जानकारी थाहा पाइयो भने यो आफ्नै लागि एउटा राम्रो कुरा हुन जान्छ।

ल्यापटप ओभरहिट र कुनै कार्यहरु पनि काम गरेनन् भने निम्नलिखित कुराहरु गर्न सक्नुहुनेछः

१) ल्यापटप अफ गर्नुहोस् र जोडिएका तारहरु सबै हटाउनुहोस्। ल्यापटप सट डाउन भएन भने पावर बटनमा क्लिक गरेर अफ गर्न सक्नुहुन्छ। यसो गर्दा पनि केहि भएन भने डाइरेक्ट ब्याट्रि हटाउनुहोस्।

डाइरेक्ट अफ भयो भने पनि ल्यापटप अफ भएपछि ब्याट्रि निकालेर राख्नुहोस्। यस पछाडि ल्यापटपलाई चिसो हुन दिनुहोस्। ल्यापटप पूरा चिसो भएपछि मात्र फेरी यसलाई चलाउन खोज्नुहोस्। 

२) ल्यापटपको एयर भेन्ट र फ्यानहरु चेक गरेर धुलोको लागि चेक गर्नुहोस्। यो बाहेक केहि कुरा भेन्टमा अड्किएर बसेको हुन सक्छ। यसको लागि हेर्नुहोस्। यदि कुनै यस्ता कुरा भेट्नुभयो भने त्यसलाई केहि गरी निकाल्नुहोस्।

३) पम्पको प्रयोग गरेर या केहि अन्य तरिकाले हावाको प्रयोग गरी ल्यापटपको भेन्टहरु सफा गर्नुहोस्। भ्याक्युम छ भने यो एउटा राम्रो अपसन हुन्छ। भेन्टबाट केहि पर राखी मात्र हावालाई पम्प गर्नुहोस्। नजिकै रहँदा धुलो अझै भित्र छिर्छ भन्ने जोखिम हुन्छ। 

ल्यापटप ओभरहिट हुन नदिन के गर्ने?

ल्यापटप धेरै तात्यो अर्थात् ओभरहिट भयो भने यसले नसोचेको असर पुर्याउन सक्छ। त्यसैले ल्यापटपलाई ओभरहिट हुन नदिनु नै सबैभन्दा राम्रो उपाय हुन जान्छ। 

ल्यापटप ओभरहिट हुन नदिन तपाईँहरुले समयबाट नै केहि तरिकाहरु सुधार्नु पर्ने हुन्छ। ल्यापटप ओभरहिट हुन नदिन निम्नलिखित तरिकाहरु हेर्नुहोस्।

ल्यापटपलाई जहिले पनि समतल सतह (फ्लाट सर्फेस) मा राख्नुहोस्

laptop on a table

अगाडि नै भनिए अनुसार प्राय जसो हरेक ल्यापटपको एयर भेन्ट (अर्थात् हावा निकास हुने ठाउँ) साइडमा या तलतिर रहेको हुन्छ। तर ल्यापटपलाई खाट, सोफा, सिरानी या काख जस्ता ठाउँमा राखियो भने यसले एयर भेन्टलाई पूरा छेक्न सक्छ या केहि अंशमात्र छेकेर हावाको वहावमा अवरोध पुर्याउँछ जसको कारणले ल्यापटप भित्र भएको तातो हावा राम्ररी बाहिर निक्लिन पाउँदैन र ल्यापटप धेरै छिटो तात्ने गर्छ।

त्यसैले ल्यापटपलाई तपाईँहरुले टेबल, डेस्क लगायत एउटा समतल सतहमा राख्नुभयो भने ल्यापटप तातिनबाट जोजाउन सक्नुहुन्छ। यदि तपाईँहरुको ल्यापटपमा एयर भेन्ट तल अवस्थित छ भने यसलाई कुनै किताबको सहायतामा उचाल्न सक्नुहुन्छ। ल्यापटप राख्नकै निमित्त भएको ल्यापटप स्ट्यान्ड प्रयोग गर्नुभयो भने त झन् राम्रो कुरा हुन्छ।    

ल्यापटपको एयर भेन्ट (air vent) सफा गर्नुहोस्

air vent

अगाडि पनि लेखिए अनुसार ल्यापटपका एयर भेन्ट तथा अन्य पोर्टहरुबाट धुलो छिरेर इन्टर्नल पार्टहरुसम्म पुग्न सक्छ। ल्यापटप केहि बेरसम्म पनि सफा गर्नुभएको छैन भने ल्यापटपको भेन्ट र पोर्ट वरिपरि धुलो जम्मा भएर बसेको हुनसक्छ। यहि धुलो पछि फ्यानमा जम्मा भएर यसले फ्यानमा पनि असर पुग्न सक्छ।

यस कारणले तपाईँहरुले बेलाबेलामा भेन्टमा जम्मा भएको धुलो सफा गर्नुभयो भने यो पछिसम्मको लागि एउटा राम्रो कुरा हुन्छ। धुलो सफा गर्न तपाईँहरुले भेन्टमा हल्का गरी फुक्न सक्नुहुन्छ तर यसको नकारात्मक असरमा धुलो भित्र छिर्न सक्ने सम्भावना हुन्छ। यस कारणले भ्याक्युमको प्रयोग गरेर भेन्टको धुलो तान्नु सुरक्षित तरिका मानिन्छ।

धेरै सिपियु पावर खपत गर्ने एप्लिकेसनहरु बन्द गर्नुहोस्

हरेक युजरहरुले आफ्नो कम्प्युटरमा धेरै प्रकारको एप्लिकेसनहरु चलाउनुहुन्छ। यसमा धेरै एप्लिकेसनहरु यस्ता पनि हुन्छन् जुनले धेरै सिपियु पावर खपत गरिरहेका हुन्छन्। अर्थात् धेरै प्रोग्रामहरु यस्ता हुन्छन् जुनले प्रोसेसरमा धेरै लोड दिइरहेका हुन्छन्।

अर्को कुरा भनेको तपाईँहरुले जति धेरै सिपियुलाई लोड दिनुभयो र जति धेरै सिपियुलाई काम गराउनु भयो त्यति नै धेरै हिट उत्पादन हुने गर्छ। तपाईँहरुले धेरै एप्लिकेसनहरु एकै साथ चलाउनु भएर, उच्च प्रोसेसिङ पावर चाहिने एपहरु धेरै बेर सम्म रन गर्नुभएर सिपियुमा लोड पर्न जान सक्छ। यस बाहेक तपाईँहरुको डिस्क स्पेस पूर्ण भरिनु पनि एउटा नकारात्मक कारण बन्न जान्छ।

यसैगरी तपाईँहरुले वेब ब्राउजरमा पनि जति धेरै ट्याबहरु खोल्नुभयो त्यति नै धेरै लोड ल्यापटपलाई परिरहेको हुन्छ। त्यसैले वेब ब्राउजरहरु चलाउँदा काम गरिरहनुभएको ट्याबहरु बाहेक सबै ट्याबहरु बन्द गर्नुहोस्।

पुरानो ल्यापटपहरुमा यो कुरामा झन् बढी होस पुर्याउनुपर्छ। आफ्नो कम्प्युटरमा धेरै प्रोग्रामहरु चलाउँदै हुनुहुन्छ भने किबोर्डमा CTRL+SHIFT+Esc कि एकैसाथ थिचेर टास्क म्यानेजर खोल्नुहोस् र यहाँ कुनै एप्लिकेसन धेरै सिपियु रिसोर्स खपत गरेको छ कि भनेर हेर्नुहोस्। यदि कनै एप्लिकेसनले धेरै रिसोर्स खपत गरेको छ भने त्यस एप्लिकेसनमा सेलेक्ट गरेर या त्यस एप्लिकेसनमा राइट-क्लिक गरेर End Task मा क्लिक गर्नुहोस्।

task manager

ल्यापटपलाई डाइरेक्ट घाममा र न्यानो कोठामा नचलाउनुहोस्

यो कुरा खासै भन्नु पर्दैन तर नसम्झाउँदा पनि लापर्वाही गरिन सक्छ। घाममा डाइरेक्ट ल्यापटप चलाउनु भयो भने ल्यापटप त्यति नै धेरै छिटो तात्ने गर्छ। यो प्राय हरेक ग्याजेटको लागि लागु हुने कुरा हो।

लापरवाहिको कारण केहि धेरै बेर घामको तल बसियो भने तपाईँरुको ल्यापटपको ओभरहिट भएर इन्टर्नल पार्टहरुमा पनि असर पुग्न सक्छ। घामको डाइरेक्ट कन्ट्याक्टमा पनि नभएतापनि तपाईँहरु घाम पर्ने कोठामा पनि ल्यापटप चलाउनुभयो भने कोठाको तापक्रमको कारणले पनि ल्यापटप ओभरहिट हुनसक्छ। यसको लागि सितल ठाउँतिर तपाईँहरुले ल्यापटप चलाउनुभयो भने पनि ल्यापटप त्यति धेरै ओभरहिट नहुन सक्छ।

भाइरसको लागि स्क्यान गर्नुहोस्

यो हैन कि ल्यापटप ओभरहिट हुनुको कारण भनेको हार्डवेयर पार्टहरुले गर्दा मात्र हुन सक्छ। कम्प्युटरमा भाइरस या मालवेयर (Malware) जस्ता हानीकारक वस्तुको कारणले पनि ल्यापटपको पर्फमेन्समा असर पुर्याइरहेको हुन सक्छ। यसको लागि बेलाबेलामा ल्यापटपमा भाइरसको लागि स्क्यान गरेर कुनै प्रकारको जोखिम छैन भन्ने कुरामा सुनिश्चित हुनुपर्दछ।

कुलिङ प्याड (Cooling Pad) को प्रयोग गर्नुहोस्

laptop cooling pad

केहि तरिकाले पनि तपाईँहरुको ल्यापटप ओभरहिट हुन छोडेन भने कुलिङ प्याडको अपसन पनि विचार गर्न सकिन्छ। ल्यापटप कुल गर्नको लागि भनेर नै निर्मित भएको कुलिङ प्याड खरीद गरी तपाईँरुले ल्यापटपको तापक्रमलाई कन्ट्रोल गर्न सक्नुहुनेछ।

तपाईँहरुको ल्यापटपको इन्टर्नल फ्यान नै जाम भएर अड्केको या बिग्रेको छ भने पनि कुलिङ प्याडको प्रयोग गरेर तपाईँहरुले ल्यापटपलाई कुल गर्न सक्नुहुनेछ। ल्यापटपलाई कुल डाउन गर्ने तरिका मध्येमा कुलिङ प्याड प्रयोग गर्ने तरिका सबैभन्दा प्रभावकारी तरिका मध्येमा एक हो। तर यसको लागि तपाईँहरुले आफ्नो तर्फबाट केहि पैसा खर्च गर्नु पर्ने हुन्छ। कुलिङ प्याडले ल्यापटप स्ट्यान्डको पनि काम गर्ने हुनाले तपाईँले यसबाट दोहोरो फाइदा पनि बटुल्न सक्नुहुन्छ।

ल्यापटपलाई चेक गराउनुहोस्

माथिका कुनै तरिकाले पनि काम गरेन भने तपाईँहरुको हार्डवेयरमा पनि केहि खराबी आएको हुन सक्छ। इलेक्ट्रोनिक पार्ट जहिले पनि यसको इष्टतम अवस्थामा काम गर्छ भन्ने हुँदैन। समय अनुसार यसको पर्फमेन्स घट्दै गएको हुन्छ र एक समयमा काम गर्न छोड्छ।

ल्यापटपको ओभरहिटिङ कसै गर्दा पनि रोकिएन भने कुनै ल्यापटप पार्ट बिग्रेको पनि हुन सक्छ भन्ने कुरामा विचार पुर्याउन सकिन्छ। यसो हुँदा ल्यापाटपलाई मर्मत केन्द्रमा लगेर चेक गराउनु बाहेक अन्य अपसन खासै छैन। यदि कुनै पार्टमा खराबी छैन भने फ्यानको क्षेत्र पनि चेक गराउन सक्नुहुन्छ। केहि समस्या देखिएन भने नयाँ ल्यापटप खरीद गर्ने अपसन सोच्नुपर्ने हुन सक्छ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.