आफ्नो मोबाइलको ब्याट्री क्षमता बढाउन यसो गर्नुस् 

save phone battery

क्यामरा, रयाम, स्टोरेज, युएसबी जस्ता स्मार्टफोनका विभिन्न कुराहरूले समयक्रममा विकासका विभिन्न चरणहरू पार गरिसकेका छन् र नयाँनयाँ प्रविधिले तिनको स्तरोन्नति भएको छ । तर पनि स्मार्टफोनमा त्यस्ता कुराहरू छन् जसको उल्लिखित कम्पोनेन्टहरूको जति प्राविधिक विकास भएको छैन वा भए पनि त्यति धेरै सन्ताेषजनक छैन ।

त्यस्ता थोरै कम्पोनेन्टहरू मध्य ब्याट्री र यसको क्षमताबारे हो । दशकौँदेखि ब्याट्री चाहे अनुसार ब्याट्री पावर नदिने वा नटिक्ने समस्याहरू विद्यमान छन् । हुन त पछिल्ला स्मार्टफोनहरूले पहिलेको भन्दा धेरै चाँडै चार्ज हुने, लामो समयसम्म टिक्ने, ब्याट्री फूल (full) चार्ज भएपछि आफै त्योभन्दा बढी चार्ज नलिने जस्ता सुविधाहरू थपेको बताउने गर्छन् ।

तर पनि नयाँनयाँ एप्सहरू र नयाँ प्रविधि र अन्य कारणहरूले गर्दा ब्याट्री खासै नटिक्ने समस्या जुनसुकै स्मार्टफोनको दशकौँदेखिको समस्या हो चाहे तपाईँ एन्ड्रोइड चलाउनुस् वा आईफोन । हामी यस लेखमा तपाईँलाई तपाईँको मोबाइलको ब्याट्रीको क्षमता बढाउन जुनसुकै मोबाइलको लागि काम लाग्ने उपायहरूको चर्चा गर्दैछौँ ।

ब्याट्री चार्जको लेबल २०% देखि ८०% सम्म राखिराख्नुस्

मोबाइल चार्ज गर्दा सबैभन्दा मूख्य रूपमा ध्यान दिनुपर्ने कुरा के हो भन्दा ओभरचार्ज र अन्डरचार्ज (overcharge and undercharge) कहिल्यै नगर्नुस् । जिरोमा पुर्याउनु भनेको अन्डरचार्ज हो भने १००% चार्ज भैसकेपछि पनि चार्ज गरिराख्नु चाहिँ ओभरचार्ज हो । 

प्राविधिक विज्ञहरूको सुझाव के छ भने मोबाइल चलाउँदा-चलाउँदे ब्याट्री पूरै सुकाएर ०% मा नि नपुर्याउनुस् , चार्ज गरेर १००% सम्म नि नपुर्याउनुस् । सबैभन्दा राम्रो भनेको २०% भन्दा तल आउनै नदिने र मोटामोटी ८०% जति चार्ज भएपछि चार्ज गर्न बन्द गर्ने । त्यस्तो गर्दा ब्याट्री अझै लामो समय टिक्छ । यो उपाय ल्यापटपलाई पनि काम लाग्छ ।

छिटो चार्ज नगर्नुस्

सकेसम्म चार्ज छिटो नगर्नुस् किनकी त्यसले ब्याट्रीमा दबाब पैदा गर्छ । चार्ज जति ढीलो भयो त्यति राम्रो हो । यदि निकै घन्टा लगाएर चार्ज गर्न तपाईँलाई समय छ भने त्यस्तै गर्नुस् । यद्यपि अहिलेको व्यस्त जिन्दगीमा त्यस्तो गर्न साह्रै गाह्रो हुन्छ ।

तर समय हुनेले फाष्ट चार्ज गर्नुभन्दा कम्प्युटरको युएसबीबाट वा स्मार्ट प्लगहरूमार्फत् ढीलो चार्ज गर्नु धेरै राम्रो हो । 

साह्रै तातो वा चिसोमा मोबाइल नराख्नुस्

तपाईँ हामी मध्य कतिपयले घाममा मोबाइल राख्ने गर्छौँ होला अनि कतिपयले जाडोमा चिसो भुईँमा । गाडीमा यात्रा गर्नेहरूले त झन् त्यहीँ मोबाइल छाड्ने वा तातोमै राख्ने गर्छौँ । त्यस्तो गर्नु ब्याट्रीको लागी राम्रो हैन । त्यसले ब्याट्री लाइफलाई निकै छिटो घटाउँछ ।

चार्ज गरिरहेको बेला त्यत्तिकै छाड्नुहाेस्

हामी मध्ये धेरैजसो मोबाइल चार्ज गरिरहँदा नै गेम खेल्ने वा भिडियो हेर्ने वा अन्य गतिविधि गरिरहेका हुन्छौँ जसले ब्याट्री लाइफ धेरै चाँडै घटाइदिन्छ किनकित्यस्तो कार्यले ब्याट्रीमा तीव्र दबाब पैदा गर्छ । आजकाल त्यत्ति धेरै व्यावहारिक नभए पनि फोन अफ गरेर चार्ज गर्नु सबैभन्दा राम्रो हो ।  

गेम खेल्ने वा भिडियो हेर्ने जस्ता कामले कार्यभार तीव्र रूपमा बढाउँछ भने वेब ब्राउजिङजस्ता कामले त्यति साह्रो बढाउँदैन । तर पनि चार्ज गर्दा फोन प्रयोग नगरेकै राम्रो । 

ब्लुटूथ, वाइफाइ र मोबाइल डेटा नचाहिएको बेला अफ गर्नुहाेस्

चाहिएको बेलामा त यिनीहरू अन गर्न परिहाल्यो तर हामी यी  कुराहरू नचाहिएको बेलामा पनि अन गरेरै सुतिरहेका हुन्छौँ । जस्तै सुतिरहेका बेला, घुम्दा, गफ गर्दा वा अन्य काम गर्दा । यिनीहरूले ब्याट्री अति धेरै खान्छन् ।

यिनीहरू मध्ये मोबाइल डेटाले सबैभन्दा धेरै खान्छ भने वाइफाइ र ब्लूटूथले अलि कम । त्यसैले डेटाभन्दा वाइफाइ नै प्रयोग गर्दा ब्याट्रीको लागि राम्रो हो । 

फाइभ जी बन्द गर्नुस्

हुन त अहिले नै यो नेपालीहरूको लागी काम लाग्ने उपाय त हैन तैपनि यो पछि काम लाग्न सक्छ । र प्रयोगकर्ताहरूले के पनि गर्न सक्छन् भन्दा यदि कुनै कामको लागि मिल्छ भने थ्री जी, नत्र फोर जी चलाउने । सकेसम्म फाइभ जी नचलाउने ।

मोबाइल डेटाले ब्याट्री टन्नै खान्छ भन्ने त माथि नै भनिसकियो । यसमा पनि फाइभ जीले सबैभन्दा धेरै खान्छ । फोर जीले अलि कम र थ्री जीले झन् कम खान्छ । हुन त प्रविधिको अधिकतम प्रयोग गर्न परि नै हाल्छ तैपनि ब्याट्रीको क्षमता बढाउन मन छ भने यो एउटा महत्वपूर्ण उपाय हुन सक्छ । 

स्क्रीन ब्राइटनेश घटाउनुस्

यो उपाय प्राय: स्मार्टफोन प्रयोगकर्तालाई थाहा नै छ । स्क्रीन जति धेरै ब्राइट भयो त्यति नै ब्याट्री चाँडै सक्किन्छ । हुन त आजकालका स्मार्टफोनहरूमा अटो ब्राइटनेशको सुविधा छ तर त्यो ब्याट्री लाइफको लागि राम्रो हुँदैन किनकी त्यसमा लाइट सेन्सरको प्रयोग गरिने भएकाले झन् धेरै ब्याट्री चाँडै सक्किने समस्या आउँछ ।

सबैभन्दा राम्रो त आफै म्यान्वल्ली (manually) कमभन्दा कम ब्राइटनेशको लेबलमा लाने र चाहिएको बेलामा मात्र त्यसलाई बढाउने ।

स्क्रीन टाइम-आउट घटाउनुहाेस्

मोबाइल चलाएर चलाउन बन्द गरेको निश्चित समयपछि आफै स्क्रीन अफ हुने गरी मिलाउन मिल्छ जसलाई स्क्रीन टाइम-आउट भनिन्छ । यस्तो टाइम चाहिँ सकेसम्म कम राखेको राम्रो किनकी अलि बढी राख्दा यसले स्क्रीन अन भैरहन्छ र ब्याट्री सकिइरहेको हुन्छ । 

थुप्रै स्मार्टफोनहरूले २ मिनेटसम्म डीफल्ट स्क्रीन टाइम-आउट राखेका हुन्छन् । हामीचाहिँ तपाईँलाई त्यो समय घटाएर २० देखि ३० सेकेण्डसम्म राख्ने सल्लाह दिन्छौँ । 

ब्याकग्राउण्ड एप्सहरू बन्द गर्नुस्

तपाईँले मोबाइल चलाउन बन्द गरेपनि थुप्रै एपहरू चलिरहेका हुन सक्छन् जुन बन्द गर्नु ब्याट्रीको लागि राम्रो हुन्छ । तपाईँ सेटिङमा गएर त्यस्ता एपहरू बन्द गर्न सक्नुहुन्छ । त्यस्तै परे ब्याट्री अचाक्ली धेरै खाइरहेका एपहरू डिलिट गर्ने, डिसेबल गर्ने वा तिनको वेब भर्जनहरू चलाउने गर्न सकिन्छ ।

त्यस्तै एप आवश्यक जस्तो लागेको खण्डमा तिनको लाइट भर्जन पनि निस्किएको हुन सक्छ जुन राम्रो विकल्प हुन सक्छ । अनि त्यस्ता एपहरूले पाउने पर्मिसन वा एक्सेस (permission or access) हरू पनि सकेसम्म कम गर्ने गर्नु राम्रो हो । 

जस्तै फेसबुक एपले साह्रै धेरै ब्याट्री खान्छ । यसको भिडियो अटोप्ले बन्द गर्ने, पर्मिसनहरू कम गर्ने, एपको सट्टा ब्राउजर वा लाइट एप चलाउने गर्न सकिन्छ । 

अन्य उपायहरू

मोबाइलमा अन्य थुप्रै उपायहरू अवलम्बन गर्न सकिन्छ जसले ब्याट्रीको क्षमता बढाउने र ब्याट्री लाइफ पनि बढाउने गर्छ ।

जस्तै मोबाइलको लोकेशन अफ गर्ने, चाहिएको बेलामा मात्र अन गर्ने । एपहरूलाई सकेसम्म लोकेशनको पर्मिशन नदिने, दिए पनि चाहिएको बेलामा मात्र दिने अनि पछि अफ गरिहाल्ने ।

ब्याट्री सेभिङ मोडमा राख्ने । एयरप्लेन वा फ्लाइट मोड अन गर्ने । ब्याकग्राउण्ड रीफ्रेश अफ गर्ने । एयरड्रप अफ गर्ने । डार्क थीम प्रयोग गर्ने । एक्टिभ लिसनिङ (Active Listening) अफ  आदि गर्ने ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.