ग्यारेजबाट प्रविधिको टाइकुन सम्मको यात्राः माइक्रोसफ्टको कथा।

microsoft story

प्रविधि जगतमा माइक्रोसफ्टलाई चिनाइरहनु पर्दैन। सबै कम्प्युटर प्रयाेगकर्ताहरु माइक्रोसफ्ट बारेमा पक्कै पनि परिचित हुनुहुन्छ। माइक्रोसफ्ट मुख्यतया प्रोसेसिङ सफ्टवेयर (माइक्रोसफ्ट अफिस), विन्डोज अपरेटिङ सिस्टम (Windows Operating System) र इन्टरनेट एक्सप्लोरर (हाल एज) वेब ब्राउजरको लागि परिचित छ।

प्रविधि जगतमा माइक्रोसफ्ट एउटा ठूलो नाम हो जसले यसको थालनी भएदेखि अहिलेसम्म मार्केट मोनोपोलाइज गर्न सकेको छ। यति मात्र नभई विश्वका सबै भन्दा धनी व्यक्तिहरुको लिस्टमा माइक्रोसफ्टका फाउन्डर बिल गेट्स कैयौँ वर्षसम्म पहिलो स्थानमा रहन सफल हुनुभएको थियो।

यस तथ्याङ्कबाट पनि माइक्रोसफ्टले विश्व सफ्टवेयर मार्केटमा गरेको मोनोपोलाइजेसनको बारेमा दर्शाउँछ। अहिले हामी माइक्रोसफ्टलाई सबैभन्दा सफल सफ्वेयर कम्पनीको रुपमा हेर्छौँ तर माइक्रोसफ्टले एक रातमा नै सफलता पाएको हैन।  

अहिले माइक्रोसफ्टलाई हेर्दा एउटा सफ्टवेयर जायन्टको रुपमा हेरिन्छ तर माइक्रोसफ्ट कसरी सफ्टवेयर जायन्ट बन्यो भन्ने जानकारी थोरैलाई मात्र थाहा होला।

यस आर्टिकलमा माइक्रोसफ्टको थालनी कसरी भयो र कसरी यो विश्वको सबैभन्दा बढी चर्चित सफ्टवेयर कम्पनीको रुपमा स्थापित बन्न सफल भयो भन्ने कुराको जानकारी दिइएको छ।  

माइक्रोसफ्टको सुरुवात

अहिलेको सफ्टवेयर जायन्ट माइक्रोसफ्टको सुरुवात सन् १९७५ मा एउटा ग्यारेजबाट सुरुवात भएको थियो। दुई जनाकोलागि मात्र स्पेस भएको एउटा सानो अल्बुकर्क ग्यारेजबाट बिल गेट्स र पल एलनले सन् १९७५ मा  सुरुवात भएको थियो।

बिल गेट्स र पल एलनको सोच अगाडि देखिनै कम्प्युटर प्रोग्रामिङ स्किलको प्रयोग गरेर केहि बिजनेस गर्ने सोच थियो। माइक्रोसफ्ट सुरुवात भएको ३ वर्ष अगावै बिल गेट्स, पल एलन र पल गिल्बर्ट्सले ट्राफ-ओ-डाटा (Traf-o-Data) नामक कम्पनी पार्टनर्सिपमा रन गरेका थिए।

ट्राफ-ओ-डाटाको उद्देश्य भनेको बाटोका ट्राफिक काउन्टरहरु बाट डाटा पढेर ट्राफिक इन्जिनियरहरुको लागि रिपोर्ट बनाउने थियो। यसरी माइक्रोसफ्टको अगाडि ट्राफिक प्रोसेसिङ सर्भिसको लागि प्राइभेट कन्ट्राक्टरको रुपमा उनीहरुले कार्य गरे र ट्राफिक डाटा ट्राक गर्ने र एनलाइज गर्ने कम्प्युटरहरु पनि बिक्री  गरे।

तर यो बिजनेस त्यति धेरै बढ्न नपाई स्टेट अफ वासिङ्टनले सहरहरुमा फ्रि ट्राफिक प्रोसेसिङ सर्भिस अफर गर्ने भयो जसले ट्राफ-ओ-डाटा बन्द भयो। यस कम्पनीले थोरै सफलता पाएतापनि यसबाट लिइएको एक्सपेरियन्सले केही वर्षमा सुचारू हुने माइक्रोसफ्टको लागि धेरै ठूलो कारक बनेको थियो।

सन् १९७५ मा Popular Electronics नामक म्यागेजिनको जेनवरी एडिसनले Micro Instrumentation and Telemetry System (MITS) को Altair 8800 माइक्रोकम्प्युटरको बारेमा प्रकाशित गरिएको थियो। यस लेखले पल एलनलाई यस माइक्रोकम्प्युटरको लागि BASIC  इन्टर्प्रेटर प्रोग्राम बनाउन सकिन्छ भनेर प्रेरित गर्यो।

MITS को कन्ट्याक्टमा बिल गेट्स र पल एलनलाई BASIC प्रोग्रामिङ ल्याङ्ग्वेजको टेस्टिङ सफल भएपछि Altair 8800 माइक्रोकम्प्युटरको लागि BASIC इन्टर्प्रेटर प्रोग्राम बनाउन अल्बुकर्क, न्यु मेक्सिकोमा बोलाइयो। यस प्रोग्रामले काम गरेपछि MITS ले यसलाई Altair BASIC को नामले डिस्ट्रब्युट गर्ने निर्धारण गर्यो। 

बिल गेट्स र पल एलनले सन् १९७५ एप्रिल ४ मा पल एलनको नामाकरणको सहयोगमा र बिल गेट्स सिइओको रुपमा Micro-Soft नामक कम्पनी स्थापना गरे। MITS को डिल पछाडि सन् १९७६ मा Microsoft एउटा ट्रेड नामको रुपमा रेजिस्टर भयो। 

बिल गेट्स र पल एलनले माइक्रोसफ्ट सुरु गर्दा एउटा ग्यारेज र एकदमै लिमिटेड स्रोत र साधनका साथ सुरुवात गरेका थिए। आज, माइक्रोसफ्ट एउटा सफ्टवेयर जायन्टको रुपमा स्थापित भएको छ र यसको फाउन्डर बिल गेट्स संसारको धनी व्यक्तिहरु मध्येमा एक बन्न सफल हुनुभएको छ।

माइक्रोसफ्टको चढाव

माइक्रोसफ्टले आफ्नो थालनी पछि पछाडि फर्केर हेर्नुपरेको छैन। सन् १९९७ अगस्टमा कम्पनीले जापानको ASCII Magazine सँग एउटा अग्रिमेन्ट कायम गर्यो र कम्पनीको पहिलो इन्टर्नेसनल ASCII Microsoft को अफिस बन्यो। यस पछाडि माइक्रोसफ्टले आफ्नो हेडक्वार्टर बेलिभ, वासिङटन (Bellevue, Washington) मा सार्यो।

सन् १९८० मा माइक्रोसफ्टले अपरेटिङ सिस्टमको बिजनेसमा आफ्नो पाइला अघि सारेको थियो तर कम्पनीले MS-DOS को लागि मात्र सफलता पाएको थियो।

सन् १९८० नोभेम्बरमा IBM ले माइक्रोसफ्टलाई एउटा कन्ट्राक्ट प्रदान गरेको थियो जसको लागि माइक्रोसफ्टले IBM पर्सनल कमप्युटरहरुको लागि एउटा अपरेटिङ सिस्टम डिजाइन गर्नुपर्ने थियो। IBM ले आफ्नो कम्प्युटरको BIOS को लागि कपिराइट लगाएको थियो तर यो कुरा अपरेटिङ सिस्टमको लागि लागू थिएन जस कारणले अन्य कम्पनीहरुले पनि बिना कपिराइट यो अपरेटिङ सिस्टम प्रयोग सक्थे।

यस कारणले माइक्रोसफ्ट समययता अग्रणी अपरेटिङ सिस्टम भेन्डरको रुपमा परिचित हुन पुग्छ। सन् १९८३ मा माइक्रोसफ्टले माइक्रोसफ्ट माउससँग नयाँ मार्केटमा पाइला अघि बढायो र Microsoft Press नामक पब्लिसिङ डिभिजन पनि सुचारू गर्यो।

माइक्रोसफ्टको अर्को ठुलो उपलब्धी विन्डोज माइक्रोसफ्टले सन् १९८५ नोभेम्बर २० मा मात्र रिलिज गर्यो। आउँदो साल अर्थात सन् १९८६ फेब्रुवरी २६ मा माइक्रोसफ्टले आफ्नो हेडक्वार्टर बेलिभबाट रेडमण्ड, वासिङटनमा सार्यो।  

सन् १९९० मा माइक्रोसफ्टले Microsoft Office रिलिज गर्यो जुनमा माइक्रोसफ्ट वर्ड र माइक्रोसफ्ट एक्सेल जस्ता अ्याप्लिकेसन समावेश गरिएको थियो। सोहि वर्ष मे २२ मा माइक्रोसफ्टले विन्डोज ३.० रिलिज गर्यो। यसले गर्दा अफिस र विन्डोज दुवैले आ-आफ्नो क्षेत्रमा मार्केटमा हावी हुन थाले।

सन् १९९५ मा माइक्रोसफ्टले आफ्नो प्रोडक्टहरुलाई कम्प्युटर नेटवर्किङ र वर्ल्ड वाइड वेबमा समावेश गर्न पाइला अघि बढायो। नेटस्केप र अन्य केहि नयाँ कम्पनीहरु बाहेक वर्ल्ड वाइड वेबमा समायोजन हुने अगाडि नै स्थापना भईसकेका कम्पनीहरु मध्ये माइक्रोसफ्ट पनि एउटा कम्पनी हो। यस कारणले अन्य कम्पनीहरु भन्दा माइक्रोसफ्ट मार्केटमा हावी हुन सकेको थियो।     

सन् १९९५, अगस्ट २४ मा कम्पनीले विन्डोज ९५ रिलिज गर्यो जुनले निकै छिटो सफलता पायो। सन् २००१ अक्टोबर २५  मा माइक्रोसफ्टले Windows XP रिलिज गर्यो। सोही वर्ष केही पछाडि कम्पनीले Xbox रिलिज गरेर भिडियो गेम कन्सोल मार्केटमा पनि आफ्नो पाइला अगाडि बढायो।

यसै गरी कम्पनीले आफ्नो समय अवधिमा विन्डोजलाई Windows Vista, Windows 7, Windows 8, Windows 10 मा अपग्रेड गर्दै हाल Windows 11 सम्म बढाएको छ। यसैगरी कम्पनीले माइक्रोसफ्ट अफिसलाई पनि अपग्रेड गर्दै आएको छ जुनमा अन्तिम तीन भर्जनहरु Office 2016, Office 2019 र हाल Office 2021 रहेका छन्।   

यसको साथै विन्डोज १० र ११ सँग माइक्रोसफ्टले कम्प्युटरहरुको लागि Microsoft Edge वेब ब्राउजर पनि समावेश गरेको छ। यो बाहेक माइक्रोसफ्टले अन्य क्षेत्रहरुमा पनि आफ्नो पाइला अघि सारेको छ। एउटा सानो ग्यारेजबाट थालनी भएको माइक्रोसफ्टको बजार पुँजीकरण अहिले २१०५ अर्ब अमेरिकी डलर पुगेको छ।

MS Office को प्रभाव

MS Office ले आफ्नो आगमनमा एक प्रकारको क्रान्ति ल्याएको थियो। मुख्यतया यसको प्रभाव अफिसहरुमा देखिएको थियो जहाँ अफिसमा कार्यरत मानिसहरुको काम गर्ने तरिकामा यसले पूरा बदलाव ल्याएको थियो। 

अहिले MS Office बिना अफिसमा काम गर्नु सोच्न सकिन्न। तर आफ्नो रिलिजको समयमा MS Office ले सन्सनी ल्याएको थियो। MS Office मा वर्ड प्रोसेसिङ मात्र नभई प्रेजेन्टेसन स्लाइड, स्प्रेडसिट जस्ता अन्य फिचरहरु पनि समावेश गरिएकाे थियो जसकारण एउटै प्याकेज धेरै कुराको लागि प्रयोग गर्न सकिन्थ्यो।

MS Office को मुख्य प्रभाव अफिस टेक्नोलोजि र म्यामनेजमेन्ट परेको थियो। माइक्रोसफ्ट वर्डले यसको आगमनमा मेक्यानिकल टाइपराइटरको प्रयोगलाई हटाउन सफल बनेको थियो। माइक्रोसफ्ट वर्डको फाइन्ड एण्ड रिप्लेस फिचरले केही गल्ती हुँदा त्यसलाई एडिट गर्न सकिन्थ्यो। 

टाइपराइटरको कुरा गर्ने हो भने एक पटक गल्ती भयो भने त्यसलाई सँच्याउन नयाँ कागज साटेर फेरि सुरुबाट टाइप गर्न थाल्नुर्थ्यो। यसको थप फिचरहरुले माइक्रोसफ्ट वर्डलाई एउटा अफिस रिप्लेसमेन्ट नै बनायो जसबाट धेरै पानाहरु सेभ गर्न सकिन्थ्यो।     

MS Outlook को आगमनले बिजनेस कन्डक्ट गर्ने तरिकामा प्रभाव पार्यो। मेसेजहरु हातले डेलिभर गर्नुको साटो सबै प्रकारको अट्याचमेन्ट सहित आउटलुकबाट इलेक्ट्रोनिक माध्यमबाट मेसेजहरु डेलिभर गर्न सकिन्थ्यो।

MS Excel ले पनि लेजर म्यानुफ्याकचरर हरुमा केही प्रभाव पार्न सफल बनेको थियो भने MS Powerpoint ले ओभरहेड प्रोजेक्टरहरुमा कमी ल्याएको थियो। रिलिजको समय देखि माइक्रोसफ्ट अफिसले समाजमा निकै ठूलो प्रभाव पार्न सफल बनेको छ। माइक्रोसफ्टले गर्दा युजरहरुले एउटा डक्युमेन्ट हेर्ने, तयार पार्ने र एडिट गर्ने तरिका सबै परिवर्तन भएको छ।

अन्य कम्पनीसँगको प्रतिस्पर्धा

सन् १९८९ को फाइन्यान्स रिपोर्टमा माइक्रोसफ्टले आफ्नो प्रतिस्पर्धीहरुलाई दुईवटा भागमा विश्लेषण गरेको थियो। पहिलो भागले कम्प्युटर सफ्टवेयर डेभलपरहरु समावेश गरिएको थियो जस अन्तर्गत IBM, AT&T र Apple जस्ता नाम रहेका थिए। अर्को भागमा स्वतन्त्र सिस्टम सफ्टवेयर भेन्डरहरु रहेका थिए जस अन्तर्गत Digital Research र AT&T रहेका थिए।

त्यसपछिको समय यता माइक्रोसफ्टका अन्य फाइन्यान्स रिपोर्टहरुमा अगाडिका प्रतिस्पर्धीहरु हराउँदै गएका छन् र नयाँ प्रतिस्पर्धीहरु थपिँदै गएका छन्। अन्य प्रतिस्पर्धीहरु हराउँदै जानु र आउँदो वर्षमा पनि माइक्रोसफ्टले मार्केट मोनोपोलाइज गर्न सक्नुले माइक्रोसफ्टको नयाँ प्रविधि र नयाँ परिवर्तनसँगको आफू पनि सँगसँगै परिवर्तन हुन सकेको जनाउँछ।

तर पुराना प्रतिस्पर्धीहरुमा अहिले सम्म पनि माइक्रोसफ्टलाई प्रतिस्पर्धा दिन सकेको कम्पनी भनेको IBM र Apple हो। सन् २०१८ मा माइक्रोसफ्टले IBM लाई डाटाबेस, बिजनेस इन्टेलिजेन्स जस्ता क्षेत्रमा आफ्नो प्रतिस्पर्धीको रुपमा जनाएको थियो। 

यसैगरी थोरै क्षेत्रमा भए तापनि Apple पनि माइक्रोसफ्टको प्रतिस्पर्धीको रुपमा रहेको छ। यी दुई कम्पनीहरुले हाल कम्प्युटर अपरेटिङ सिस्टमको मार्केटलाई मोनोपोलाइज गरिरहेका छन्। केही अगाडि माइक्रोसफ्टले Apple लाई विन्डोज फोन र मिडिया प्लेयरको क्षेत्रमा पनि प्रतिस्पर्धा दिएको थियो।       

Acquisitions (प्राप्ति)

माइक्रोसफ्टको शक्ति या यसको बलियो पक्ष यसकाे आफ्नो सफ्टवेयरहरु बाहेक यसको अधिग्रहणहरु अर्थात यसले अन्य कम्पनीहरु प्राप्त गर्न सक्नु पनि हो।   

माइक्रोसफ्टको पहिलो प्राप्तिहरु अन्तर्गत Forethought पर्दछ जुन माइक्रोसफ्टले सन् १९८७, जुलाई ३० मा प्राप्त गरेको थियो। सो कम्पनी सन् १९८३ मा सथापना गरिएको थियो र यस कम्पनीले एउटा प्रेजेन्टेसन प्रोग्राम बनाएको थियो जुन माइक्रोसफ्टको अधिग्रहण पछाडि Microsoft Powerpoint को नाममा परिवर्तन भयो।

सन् १९९७, डिसेम्बर ३१ मा माइक्रोसफ्टले Hotmail.com लाई ५ करोड अमेरिकी डलरमा प्राप्त गरेको थियो र यसको तीन वर्ष पछि अर्थात् सन् २०००, जेनवरी ७ मा १ अर्ब अमेरिकी डलर भन्दा बढीमा Visio Corporation नामक कम्पनी प्राप्त गरेको थियो। यस कम्पनीले निर्माण गरेको डायग्राम अ्याप्लिकेसन सफ्टवेयर Visio लाई यसको प्राप्ति पछाडि आफ्नो प्रोडक्टको रुपमा Microsoft Visio को नामले एकिकृत गर्यो।

सन् २०११, मे १० मा माइक्रोसफ्टले Skype निर्माण गर्ने कम्पनी Skype Technologies ८ अर्ब अमेरिकी डलर भन्दा बढीमा प्राप्त गरेको थियो। 

सन् २०१६, जुन १३ मा माइक्रोसफ्टले नेटवर्किङ साइट LinkedIn लाई २६ अर्ब अमेरिकी डलर भन्दा बढीमा प्राप्त गर्ने जानकारी सुनायो। LinkedIn लाई छुट्टै ब्राण्डको रुपमा राख्ने, LinkedIn को हालका सिइओ Jeff Weiner नै यसको सिइओका रुपमा रहने र Jeff Weiner ले माइक्रोसफ्टका हालका सिइओ Satya Nadella लाई रिपोर्ट गर्नु पर्ने सर्तका साथ यो प्राप्ति सन् २०१६, डिसेम्बर ८ मा पूरा भयो।

सन् २०१८, जुन ४ मा माइक्रोसफ्टले चर्चित रिपोजटरी साइट (repository site) GitHub लाई साढे ७ अर्ब अमेरिकी डलरमा प्राप्त गर्यो। सन् २०२१, मार्च ९ मा माइक्रोसफ्टले Zenimax Media लाई साढे ७ अर्ब अमेरिकी डलरमा प्राप्त गर्यो।

सन् २०२२, जेनवरी १८ मा माजइक्रोसफ्टले Activision Blizzard नामक अमेरिकन भिडियो गेम कम्पनीलाई करिब ६९ अर्ब अमेरिकी डलरमा प्राप्त गर्न खोजेको कुरा व्यक्त गरेको थियो। यो डिल हाल दुवै कम्पनीको डिरेक्टर बोर्डबाट स्वीकृत भइसकेको छ र २०२३ मा यो डिल समर्पण हुने जानकारी रहेको छ।

यहाँ माइक्रोसफ्टले अधिग्रहण गरेको मुख्य कम्पनीहरुको जानकारी दिइएको छ तर माइक्रोसफ्टले प्राप्त गरेका कम्पनीहरु यतिमा मात्र सिमित छैनन्।

माइक्रोसफ्टको भविष्य

यस दिनानुदिन परिवर्तन हुने टेक्नोलोजिको संसारमा आजको सफल कम्पनी भोलि बाटोमा उत्रिन्छ भन्न सकिँदैन। तर माइक्रोसफ्टको लागि यसो हुन अलिक गार्हो देखिन्छ। माइक्रोसफ्ट ती पुराना कम्पनीहरु मध्ये पर्छ जुनले हालसम्म पनि प्रविधि मार्केटलाई मोनोपोलाइज गर्न सकेको छ।

माइक्रोसफ्टको सिइओ बिल गेट्स हुँदा देखि यो कम्पनी भविष्यमा लामो समयसम्म प्रतिस्पर्धा गर्न सक्ने देखिएको थियो। माइक्रोसफ्ट आजसम्म पनि मार्केट सेयरमा हावी हुन सक्नुमा यसको प्रोडक्टहरु बाहेक धेरै कुराहरु रहेका छन्। 

आफूले निर्माण गरेको प्रोडक्टहरु त छँदै छ तर यस बाहेक माइक्रोसफ्टको सफलताको मुख्य कारण भनेको यसले समय अनुसारको प्रविधिलाई बुझेर सोहि अनुसार चल्न सक्नु हो। यसै अन्तर्गत अन्य कम्पनीहरुको प्राप्ति पनि पर्दछ।

यो कुरा अझै पनि लागु छ। माइक्रोसफ्टले अहिले चर्चामा आएको च्याट जिपिटिलाई पनि सपोर्ट गरिरहेको छ जुन एआईमा आधारित छ। हाल एआईले प्रविधि जगतमा धेरै प्रशंसा बटुलिरहेको छ र आउँदो समयमा एआईलाई अन्य कम्पनीहरुले पनि अपनाउने देखिएको छ।

यस अन्तर्गत भविष्यमा माइक्रोसफ्टले पनि आफ्नै एआई सफ्टवेयरको निर्माण गर्न सक्छ या कुनै एआई सफ्टवेयर डेभलप गर्ने कम्पनीलाई अधिग्रहण पनि गर्न सक्छ। यस बाहेक भविष्यमा परिवर्तन हुने प्रविधिसँगै परिवर्तन भएर माइक्रोसफ्टले भविष्यमा पनि मार्केटमा आफ्नो सेयर कायम राख्ने देखिन्छ। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.