तपाईंको घरमा मोबाइल कम्पनीले टावर राख्न खोज्यो भने तपाईंको मनमा यसका घातक असरहरूबारे अनेकखाले तर्कनाहरू आउँछन् होला । जस्तै यसले त्यस्तो रेडिएशन फाल्छ जसले मानिसलाई क्यान्सर जस्ता जोखिमपूर्ण रोगहरू लाग्ने जस्ता कुराहरू सुन्नमा आउँन् । यसले मान्छेको दिमाग, कोषिका, आँखा लगायतलाई घातक असर गर्छ भन्ने गरिन्छ ।
यस्तै कारणले गर्दा धेरैले आफ्नो परिवारको स्वास्थ्यलाई ख्याल राखेर मोबाइल कम्पनीले प्रस्ताव गरेको आकर्षक पैसालाई समेत लत्याएर टावर राख्न दिँदैनन् । राख्नेको परिवारसँग घर वरिपरिका मानिसहरूसँग राम्रो सम्बन्ध नभएको घटना समेत छ त्यसले तिनका परिवारलाई क्यान्सर लगाइदेला भनेर ।
आज हामी तपाईँलाई मोबाइल टावरले फाल्ने रेडिएशन, त्यसको असर, भ्रम र यथार्थबारे केही चर्चा गर्दैछौँ ।
के मोबाइल टावरले घातक रेडिएशन फाल्छ ?
मोबाइल टावरले घातक रेडिएशन फाल्छ भन्ने भ्रम जताततै पाइन्छ । तपाईं आफै यसो सोच्नुस् त । यदि यसले त्यस्तो घातक रेडिएशन फाल्ने भए र सजीव कोषहरूलाई त्यस्तो हानी गर्ने भए यति धेरै ब्याक्टेरिया, भाइरस, अल्गी, फन्जाइ, टावर नजिकका बोटबिरूवा तथा घाँसपात इत्यादि सबै मर्ने थिए । शहर बजारमा झिङ्गा, लामखुट्टे, भुसुनाहरू त गायब भैसकेका हुने थिए ।
मोबाइल टावरको विकास र विस्तार भएको पछिल्लो बीस वर्षमा त करोडौँ परिवार त क्यान्सर पीडित हुने थिए । टावर वरिपरि घर भएकाको परिवार त यतिन्जेल झ्यामझ्याम मरिसक्ने थिए । टावर वरिपरि उड्ने र बस्ने थुप्रै स-साना चराचुरुङ्गीहरू धेरैजसो मरिसक्ने थिए र बाँकी अन्तै बसाईँ सरिसक्ने थिए ।
टावर वरिपरि अन्न, सागसब्जी, फलफूल केही पनि उम्रने थिएनन् । यो बीस वर्षको दौरानमा टावर वरिपरि बस्ने संसारभरका करोडौँ परिवारले यतिन्जेल यसको घातक असरहरूबारे थाहा पाइसक्ने थियो ।
तर के माथि भनिए जस्तो भएको छ त ? उत्तर सजिलो छ – त्यस्तो दृश्य हामीले अहिलेसम्म देखेका छैनौँ । त्यसको सिधा अर्थ लगाउन मिल्छ कि मोबाइल टावरले त्यस्तो घातक रेडिएशन फाल्दैन ।
विश्व स्वास्थ्य सङ्गठनको ईएमएफ (ईलेक्ट्रो म्याग्नेटिक फ्रिक्वेन्सी) प्रोजेक्टले विगत बीस वर्षसम्म मोबाइल टावरबाट निस्कने रेडिएशनले मानव स्वास्थ्यमा कस्तो असर गर्छ भन्नेबारे गम्भीर अध्ययन गरेको थियो र ईएमएफ उत्सर्जन (EMF emission) र त्यसले पार्ने असरबारे कुनै सहसम्बन्ध (correlation) नभएको निष्कर्ष निकालेको थियो ।
विश्व स्वास्थ्य सङ्गठन मात्र हैन, अन्य थुप्रै सङ्घसंस्थाहरूले पनि दशकौँसम्म विभिन्न स्वतन्त्र वा साङ्गठनिक अध्ययनहरू गरेका थिए र रेडिएशन र मानव स्वास्थ्यमा पर्ने असरबीच कुनै खालको सकारात्मक सहसम्बन्ध (positive correlation) नभएको निष्कर्ष निकालेको थियो ।
मोबाइल टावरले फाल्ने रेडिएशन कत्तिको घातक हुन्छ त ?
रेडिएशन (विकिरण) भनेको हावा वा कुनै ठोस माध्यममार्फत् उर्जालाई तरङ्गको रूपमा प्रसारण गर्नु हो । विकिरण दुई प्रकारका हुन्छन् । आयोनिकरण (ionizing) हुने र नहुने ।
एक्स रे, गामा रे जस्ता उच्च उर्जा भएका विकिरणहरू आयोनिकरण हुने विकिरण हुन् जसले डिएनए र मानव स्वास्थ्यमा घातक असर पुर्याउन सक्छ । तर मोबाइल, रेडियो, तिनका टावर इत्यादिबाट उत्सर्जन हुने कम उर्जा भएका विकिरणहरू चाहिं आयोनिकरण नहुने विकिरण हुन् जसले स्वास्थ्यमा घातक असर पार्छ भन्ने वैज्ञानिक प्रमाण आजसम्म पाइएको छैन ।
मोबाइल र टावरबाट उत्सर्जन हुने विकिरणमा निकै कम मात्र उर्जा हुने र त्यसले केही मात्रामा थर्मल ताप मात्र उत्पन्न हुनाले यो धेरै सुरक्षित हुन्छ । मोबाइल डिभाइसहरू कम शक्ति भएका रेडियो फ्रिक्वेन्सी ट्रान्समिटरहरू हुन् जुन ४५० देखि २७०० मेगाहर्जसम्मको फ्रिक्वेन्सीसम्म मात्रै सञ्चालन हुन्छन् । र त्यसको उच्चतम शक्ति (peak power) भनेको जम्माजम्मी ०.१ देखि २ वाटसम्म मात्र हुन्छ ।
त्यसमाथि मोबाइल अन भएको बेलामा मात्र टावरले विकिरण फाल्ने हो । मोबाइलले प्राप्त गर्ने पावर परिवर्तनशील हुने गरी सन्तुलनमा राखिएको हुन्छ । यसले जति कम सिग्नल टावरबाट प्राप्त गर्यो, त्यति नै बढी यसले पावर प्रसारण गर्छ र त्यसको ठिक उल्टो (vice versa) पनि हुन्छ । अर्थात् जति बढी सिग्नल मोबाइलले पायो, त्यति कम यसले विकिरण फाल्छ ।
त्यसको अर्थ के हो भने, यदि विकिरण कम फाल्ने उद्देश्यले टावरको पावर कम गरियो भने मोबाइल डिभाइसले कम पावर पाउँछ तर झन् धेरै विकिरण फालिदिन्छ । अर्थात् टावरले कम फाल्ने र मोबाइलले चाहिं उल्टै बढी विकिरण फाल्ने हुन्छ । टावरको विकिरणबाट बच्न खोज्दा उल्टै बढी विकिरणको सिकार भइने खतरा हुन्छ ।
अनि अर्को कुरा के याद राख्नुस् भन्दा टावर एउटाले फाल्दा भन्दा हामी वरिपरि भएका थुप्रै मोबाइलहरूले फाल्ने टावरको भन्दा दशौँ गुणा ज्यादा विकिरण झनै धेरै खतरापूर्ण भइदिन्छ । उदारहणको लागि सयवटा मोबाइल जोडिएको टावरको पावर घटाउँदा प्रत्येक मोबाइलले दशौँ गुणा ज्यादा विकिरण फाल्दा १००*१०=१००० गुणा बढी विकिरणको सिकार भइने खतरा हुन्छ ।
त्यसकारण बरू एउटा बलियो टावर राख्नु ज्यादा सुरक्षित हुन्छ, टावरको सिग्नल टिप्न संघर्ष गर्ने मोबाइलहरूको बीचमा बस्नुभन्दा । अनि अर्को महत्वपूर्ण कुरा भनेको टावरबाट विकिरण र सिग्नल फाल्ने भनेको एन्टेनाले हो जुन सामान्यतया धेरै उचाइमा रहेको हुन्छ । त्यसकारण पनि यसको सिधा असर मानिसमा पर्दैन ।
अन्तमा
यदितपाईँलाई लोभलाग्दो पैसाको प्रस्ताव आएमा ढुक्कले आफ्नो घरमाथिको छतमा टावर राख्न दिँदा हुन्छ । बीसौँ वर्षको अन्तरालमा थुप्रै देशमा थुप्रै अध्ययनले टावरले मानव स्वास्थ्यमा खासै असर नपार्ने कुराको पुष्टि गरेका छन् । भ्रममा परेर छतको सही आर्थिक सदुपयोग गर्न नचुक्नुस् ।