ल्यापटप र मोबाइल जस्ता ग्याजेट सफा गर्ने सही तरिका!

perfect way to clean gadgets

अहिलेको यस टेक्नोलोजिमा आधारित संसारमा ल्यापटप तथा मोबाइल जस्ता डिभाइसहरु हरेक मानिसका दैनिक जीवनमा अभिन्न अङ्ग बन्न पुगेका छन् । आधुनिक प्रबिधिले मानिसकाे जीवनचर्या नै बदलिदिएकाे छ भने प्राबिधिक ज्ञानकाे अभावले प्रयाेगकर्ताहरु सामान्य कुरामा पनि अलमलिएकाे देखिन्छ । मोबाइल र ल्यापटपजस्ता डिभाइसहरु मानवीय जीवनमा अझ बढी महत्त्वपूर्ण बनेका छन्।

यस्ता डिभाइसहरु घर भित्र मात्र सिमित हुँदैनन् र यी डिभाइसहरु बाहिर पनि उस्तै प्रयोग हुने गर्दछन्। यस्तो हुँदा यी डिभाइसहरुमा  धुलो र फोहोर जम्ने गर्दछ। बाहिर नै नलगे पनि नदेखिने धुलोका कण–हरु ल्यापटप या मोबाइलको स्क्रिन र अन्य भागमा जम्मा भएकाे हुन्छ । जसले गर्दा यी सामानहरुमा खरावी आउन गई प्रयाेग गर्नेक्रममा  समस्या आउन सक्छ । त्यसकालागि समय समयमा  यी डिभाइसहरु सफा गरिरहनु पर्ने हुन्छ। समय समयमा यी डिभाइसहरु सफा गरिएन भने धुलोले नसोचेको असर पनि पुर्याउन सक्छ। उदाहरणको लागि ल्यापटप या कम्प्युटरको किबोर्डको च्यापमा धुलो या ससाना केही फोहोरले किहरुलाई सार्हो बनाउने या नथिचिने पनि बनाउन सक्छन्।

यो बाहेक मोबाइल र ल्यापटपको स्क्रिनमा र अन्य पोर्टहरुमा पनि धुलो छिर्ने गर्दछ। धुलो सफा गर्ने क्रममा जसरी पनि सफा गर्ने त हो भन्ने मनसायको साथ सफा गरिन्छ तर यसका पनि केही तरिका छन्। यस आर्टिकलमा ल्यापटप र मोबाइल जस्ता डिभाइसमा फोहोर सफा गर्ने सही तरिकाको बारेमा जानकारी दिइएको छ।

मोबाइल र ल्यापटप स्क्रिन सफा गर्ने सही तरिका

फोहोर टाँसिएको स्क्रिनले भिडियो हेर्न, गेम खेल्न या अन्य केही काम गर्नबाट ध्यान भड्काइरहेको हुन्छ। अर्को कुरा भनेको यस्ता दाग सफा गर्ने क्रममा घरायसी क्लिनरहरु हाल्नु पनि अस्वाभाविक ठानिन्छ। ल्यापटप एकदमै सेन्सिटिभ वस्तु हुने हुँदा यसलाई जस्तो सुकै क्लिनरले सफा गर्दा झन् असर पार्ने खतरा रहन्छ।

त्यसैले सही तरिक बाट ल्यापटप या मोबाइलजस्ता डिभाइसहरु सफा गर्नुपर्छ। ल्यापटपको स्क्रिन सफा गर्न यसो गर्नुहोस्।

१) एउटा माइक्रोफाइबर कपडा र कम्प्युटर सफा गर्ने क्लिनर तयार पार्नुहोस्। स्क्रिन सफा गर्ने लिक्विड मार्केटमा पाउन सकिन्छ। 

२) माइक्रोफाइबर कपडामा क्लिनिङ लिक्विड थोरै मात्रामा स्प्रे गर्नुहोस् या हाल्नुहोस्। ठिक्क मात्रामा कपडाको एउटा पाटो हल्का चिसो हुने गरी क्लिनिङ लिक्विड प्रयोग गर्नुहोस्। 

३) ल्यापटप अफ गरी स्क्रिनको बिच भागबाट सुरु हुँदै अन्य भागमा सफा गर्दै जानुहोस्।

स्क्रिन सफा गर्दा के नगर्ने?

कतिपय मानिसहरु स्क्रिन सफा गर्न गलत तरिका अपनाइरहनु भएको हुन्छ। गलत तरिकाले झन् स्क्रिनलाई ड्यामेज गर्ने खतरा हुने गर्छ। त्यसैले स्क्रिन सफा गर्दा निम्नलिखित कुराहरु नगर्नु होला।

१) लिक्विड क्लिनरलाई डाइरेक्ट ल्यापटप स्क्रिनमा प्रयोग नगर्नुहोस्। लिक्विडलाई पहिला माइक्रोफाइबरमा हालेरमात्र स्क्रिन सफा गर्नुहोस्। ल्यापटपको स्क्रिनको छेउको बेजलबाट यो भित्र प्रवेश गरेर यसले इन्टर्नल पार्टहरुमा असर पुर्याउन सक्ने खतरा रहन्छ।

२)  कुनै प्रकारको अल्कोहोल (alcohol) पनि स्क्रिनको कन्ट्याक्टमा

 नल्याउनुहोस्। एलसिडि स्क्रिन छैन भने थोरै मात्रामा अल्कोहोल प्रयोग पनि गर्न सक्नुहुन्छ तर सुरक्षित हुनलाई अल्कोहोलको प्रयोग नगरेको नै बेस ठानिन्छ। यस्ता लिक्विड अन्तर्गत ग्लास क्लिनर, ह्यान्ड सेनिटाइजर आदि पर्दछन्।

३) यस बाहेक स्क्रिनमा साबुन पानीको पनि प्रयोग नगर्नुहोस्।

ल्यापटप र मोबाइलको पोर्ट सफा गर्ने सही तरिका

मोबाइलमा त त्यति धेरै पार्टहरु हुँदैनन्। तर ल्यापटप या कम्प्युटरमा पोर्टहरुको संख्या धेरै हुने गर्दछ। प्राय अरु पार्टहरु सफा गरिरहे पनि पोर्टहरु पनि सफा गर्नुपर्छ भन्ने कुरा हाम्रो मनसायमा नै हुँदैन। 

पोर्टहरु खुला हुने हुँदा यसमा कपाल र धुलोहरु जस्ता फोहोरहरु समय यता धेरै अड्किन सक्छन्। यस्तो हुँदा समय समयमा पोर्टहरु पनि सफा गरिरहनुपर्ने हुन्छ। पोर्टहरु सफा गर्न एयर क्यानको प्रयग गर्नु उचित ठहरिन्छ। एयर क्यानलाई पोर्ट भन्दा केही टाढा राखेर हावा दिनुपर्छ।   

पोर्टहरुको मुखमा एयर क्यान टँस्याएर हावा दियो भने यसको बेफाइदा भनेको धुलो या फोहोरलाई अझै भित्र पुर्याउने खतरा रहन्छ। यसले गर्दा पोर्ट भन्दा केही टाढा राखी एयर क्यानबाट हावा दिनुपर्छ। धेरै मात्रामा पनि हावा दिनु हुँदैन। एउटा पोर्टलाई दुई देखि तीन पटकको थिचाइ प्रशस्त हुन्छ। 

हावा दिएर मात्रै पोर्ट सफा हुँदैन। हावाले जम्मा भएको धुलोलाई फिँजाउने काम मात्र गर्छ यो पुरै सफा गर्न ब्रस या कपडा प्रयोग गर्नुपर्छ। कपडा भन्दा पनि ब्रसले सफा गर्नु राम्रो मानिन्छ किनभने ब्रसले अलिक भित्रसम्म पुगेर धुलो सफा गर्न सक्छ जुन कपडाबाट अलिक गार्हो हुन्छ। अर्को उपाय भनेको कटन बडको प्रयोग गरेर पनि पोर्टहरु सफा गर्न सकिन्छ ।

पोर्टहरु सफा गर्दा के नगर्ने ?

पोर्टहरु सफा गर्दा कुनै केमिकल पनि पोर्टहरुको कन्ट्याक्टमा नल्याउनुहोस्। पोर्टहरुमा डाइरेक्ट मेटल हुने हुँदा केमिकलले यसमा केमिकलले केहीअसर पुर्याउन पनि सक्छ।

अर्को कुरा भनेको पोर्ट सफा गर्दा झुक्किएर पनि भिजेको कपडाले सफा नगर्नु होला। पानी पोर्टको मेटलको कन्ट्याक्टमा आउँदा यसले नराम्रो असर ल्याउन सक्छ भने केही गरी पाेर्ट भित्र पानी पस्यो भने यो सिधै इन्टरनल हार्डवेयरलाई पनि ड्यामेज पुर्याउन सक्छ।

ल्यापटपको किबोर्ड सफा गर्ने सही तरिका 

किबोर्डमा पनि तेल तथा धुलो अड्कि रहेका हुन्छन्। घरी फोहोर हातले त्यत्तिकै टाइप गरिन्छ भने समय यता किबोर्डको च्यापमा धुलो पनि अड्किन्छ।

ल्यापटपको किबोर्ड सफा गर्न यसो गर्नुहोस्।

१) ल्यापटपलाई अफ गर्नुहोस् र साइडबाट घोप्ट्याउनुहोस्।

२) अबको स्टेप भनेको ल्यापटपको किबोर्डमा बसेको धुलो झार्नु हो। यसको लागि पोर्टहरु सफा गर्दा प्रयोग गरिने एयर क्यान नै सबैभन्दा राम्रो उपाय मानिन्छ। सबै किहरुको च्यापमा एयर क्यानबाट हावा दिनुहोस्।

३) धुलो झार्नुभएपछि माइक्रोफाइबर कपडालाई पानीले हल्का भिजाएर सबै किहरु सफा गर्नुहोस्। यसो गर्दा ध्यानमा राख्नुहोला कि माइक्रोफाइबर धेरै चिस्याउनु हुँदैन। नत्र किहरुको च्यापबाट पानी भित्र छिर्न सक्ने सम्भावना रहन्छ। धुलो झार्नुभएपछि कटनबड या सानो ब्रसले कि वरिपरिको धुलो पुस्नुभयो भने अझै राम्रो हुनेछ।

अन्य पार्टहरु सफा गर्न

यति गर्दा अब सफा गर्न बाँकी पार्टहरु भनेको ल्यापटपको टच प्याड, चासिस (chassis) र लिडहरु बाँकी रहन्छन्। यसको लागि तपाईँहरु साधारण तरिकाबाट माइक्रोफाइबर कपडाको अलिक धेरै भाग भिजाएर सफा गर्न सक्नुहुन्छ। तर यसको अर्थ फेरी यो हैन कि कपडाबाट पानी चुहिने गरी चिसो पार्नुहोस्। यसो गर्नुभयो भने फेरि पानी भित्र छिर्न सक्ने खतरा हुन्छ।

हल्का चिसो पारेर अन्य भागहरु पनि सफा गर्नुहोस्। पानीले नजाने खालकाे दाग छ भने माइक्रोफाइबरलाई साबुन-पानीले भिजाई सफा पनि गर्न सक्नुहुन्छ। 

अन्त्यमा,

बेलाबेलामा ल्यापटप र मोबाइल जस्ता डिभाइसहरुको राम्ररी सफा गरियो भने यिनीहरु लामो समयसम्म पनि राम्ररी चल्न सक्छन्। अर्को कुरा भनेको यसले ल्यापटप र मोबाइल चलाउने एक्सपेरियन्सलाई रमाइलो बनाउँछ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.