फोन चलाउने लत कसरी कम गर्ने ? यस्तो छ मनोबैज्ञानिक रहस्य! 

phone addiction

मानव इतिहासमा अनेक खालका लत र महामारी फैलिएका थिए । विभिन्न खालका धुम्रपान, मद्यपान, ड्रग्स इत्यादिको लतदेखि लिएर अनेक खालका धार्मिक र राजनीतिक लतले हजारौँ वर्षदेखि मानव समाजलाई आक्रान्त तुल्याउँदै आएको छ । 

एक्काइसौँ शताब्दिमा अधिकांश मानिसहरूलाई आक्रान्त पारेको एउटा नयाँ लत हो- – फोन र इन्टरनेटको लत । थुप्रै अध्ययनले प्रमाणित गरेका छन् कि फोनको अधिप्रयोगले ढिलासुस्ती, आत्महत्या, निद्रा खलबलिने, खानामा अरुचि, टाउको दुखाइ, न्युन उत्पादकता, अस्थिर सम्बन्ध, खराब शारीरिक तथा मानसिक स्वास्थ्य जस्ता समस्या निम्त्याउँछ ।

त्यसो भए यो इन्टरनेटको जमानामा फोनको लत कसरी कम गर्ने त ? हुन त यसका टन्नै फाइदाहरू पनि छन् जसकारण करोडौँको जीवनमा कायापलट नै आएको छ । तर पनि यसबाट हुने नकारात्मक समस्याहरूबाट उम्किदै कसरी फोनको प्रयोगलाई लतमा परिणत नगर्ने त भन्नेबारे हामी यो लेखमा चर्चा गर्नेछौँ ।

साथै फोनको लत किन बस्छ ? यसको लत लाग्दा हाम्रो शरीर, मन र दिमागमा कस्ता प्रतिक्रियाहरू उत्पन्न हुन्छन् ? फोनको लत सम्बन्धी मनोवैज्ञानिक पक्षको पनि हामी यहाँ चर्चा गर्नेछौँ ।

फोनको लतको बारेमा

सामान्यतया मनोवैज्ञानिकहरूले “समस्यात्मक फोन प्रयोग” पनि भन्ने यो फोनको लतमा इन्टरनेट र सामाजिक सञ्जालको लत पनि मूख्यत: पर्ने गर्छ । फोनको प्रयोग भनेको खरायोको दुलो जस्तै हो जहाँ एकचोटी छिरेपछि फेरि निस्कने कुनै बाटो नै हुँदैन । यसको लत लागेपछि झनझन नसा बढ्दै जान्छ ।

ड्रग्सजस्तै हो यो फोनको लत जहाँ तपाईँ लागेपछि वा त्यसका विभिन्न गतिविधिहरूमा सहभागी भएपछि अधिकांशलाई त्यो छोड्न झण्डै असम्भव जस्तै हुन्छ । 

त्यो भनेको फोनले तपाईंमाथि गरेको दुरूपयोग जस्तै हो जसमा तपाईंले नियन्त्रण गर्न सक्नुहुन्न, तपाईँको मुड परिवर्तन हुन्छ, प्रयोग गर्ने अधिक चाहना हुन्छ, फोन प्रयोग गर्न नपाउँदा आक्रोश र चिडचिडापन प्रकट हुन्छ र फोनले तपाईंको जीवनमा नकारात्मक असर गर्छ । 

आखिर लत भनेकै नियन्त्रण गुम्ने, परनिर्भर सम्बन्ध बढ्ने, समय र दृढताको आवश्यकता बढ्ने, दैनिक जिन्दगीमाथि गम्भीर हस्तक्षेप हुने इत्यादि पर्छन् । फोनको अधिक प्रयोग, त्यो अर्थमा, लत वा कुलत नै हो । थुप्रै मामिलामा यो लतको उपचारको लागि मनोवैज्ञानिकको परामर्श नै चाहिने समेत हुन्छ । 

फोनको प्रयोग अधिक भएतापनि सबैलाई लत नै भन्न चाहिँ मिल्दैन । मूख्यत: तपाईँ फोनको प्रयोग कसरी गर्नुहुन्छ र मनोवैज्ञानिक रूपले त्यसमा कत्तिको निर्भर हुनुहुन्छ भन्ने कुराले लत हो वा हैन भन्ने कुरा थाहा हुन्छ । ती दुई कुरा तपाईंमा लागु हुन्छ भने त्यो लत नै हो । 

सिर्जनशीलता र उत्पादकता बढाउने खालको प्रयोगलाई लत भन्न मिल्दैन, त्यो फोनको उचित प्रयोग हो । यदि तपाईं फोनको लतमा डुब्नुभयो वा यसका विभिन्न गतिविधिमा अल्झिनुभयो भने तपाईँले चाहेर पनि योबाट पार पाउन सक्नुहुन्न । 

मानिसहरू फोनको लतमा डुब्नुका अनेक कारणहरू हुन्छन् । जस्तै वास्तविकताबाट भाग्न, सामाजिक चिन्ता र न्युन आत्मसम्मानका कारण हुने चिन्तासँग जुध्न, अरूको अगाडी चर्चा र सामाजिक मान्यता पाउन (लाइक र सकारात्मक रियाक्ट अनि विभिन्न खालका पुरस्कारहरू) इत्यादी । 

यो लगातारको डिजिटल पुरस्कार र सूचना र सम्बन्धित दैनिक समस्याहरूले मानिसलाई फोन र इन्टरनेटको लतमा डुबाइदिन्छ। सोसल मिडियाको लत सामान्यतया यस्तै इन्टरनेट प्रतिफल वा पुरस्कारको कारण हुने गर्छ। 

फोनको लतबारे पत्ता लागेका मनोवैज्ञानिक कुराहरू

फोनको लत लाग्नुको एउटा प्रमुख कारण भनेको यसले दिने विभिन्न अपेक्षित र अनपेक्षित पुरस्कारहरू नै हुन् । सामान्यतया जब जुनसुकै बेला हामीलाई पुरस्कार वा प्रतिफल प्राप्त हुन्छ तब हामी त्यस्तो स्वभावलाई (फोन घरीघरि हेरिरहने) थप तीव्रता दिन्छौँ । तसर्थ पुरस्कार बढाउनको लागि हामी त्यस्तो स्वभावलाई झनै बढाउने गर्छौँ । 

फोनमा यस्ता पुरस्कार भनेका मेसेज, लाइक, कमेन्ट, स्न्याप, रियाक्ट, शेयर, नोटिफिकेशन, कन्टेन्ट रिलीज, वर्तमान तनावबाट पलायन, गिफ्ट, मेमे इत्यादि हुन् । 

पूर्वानुमान गर्न सकिने पुरस्कार पाउँदा हाम्रो स्वभावले त्यसलाई समायोन गर्दछ तर पूर्वानुमान गर्न नसकिने पुरस्कारको सवालमा चाहिँ पुरस्कार आयो कि आएन भनेर सकेसम्म धेरैभन्दा धेरै पटक हामी फोन र एप खोलेर हेरिरहन्छौँ । 

यदी पुरस्कार छ भने हामी त्यो अझै पाउन थप त्यस्तो काम गरिरहन्छौँ । पुरस्कार पाइएन भने तनाव बढ्छ र त्यो तनाव घटाउन हामी त्यस्तो काम झनै बढी गर्छौँ । 

वास्तविक जिन्दगीमा यदि पुरस्कार र त्यसको सन्तुष्टि पर्याप्त छैन भने हामी फोनबाट पूर्ति गर्ने प्रयास गर्छौँ । पुरस्कारको कमी हुनु भनेको मनको लागी ठूलो धम्की जस्तो हो जसकारण अब उसको मनले त्यस्तो अनुभवलाई नामेट पारेर सकारात्मक अनुभव प्राप्त गर्न पुरस्कार खोज्न थाल्छ ।

फोनको लत र चिन्ता सँगसँगै अघि बढिरहेका हुन्छन् र त्यो चिन्ताले वास्तविक जीवनमा मानिसहरूसँग अन्तरक्रिया गर्ने रूचि घटाइदिन्छ । मूख्य समस्या नै यही हो किनकि वास्तविक संसारमा मानिसहरूसँगको घुलमिलले त्यस्तो लतलाई ठाउँमा ल्याउन सजिलो हुन्छ तर त्यही नै हुन पाउँदैन । 

फोनको लतले विभिन्न संज्ञानात्मक कार्यक्षमतामा पनि असर गर्छ । जस्तै ध्यान, स्मरण, निर्णयप्रक्रिया, तर्क जस्ता कुरामा कमी हुनु । फोनको लतले निद्रालाई बिगार्छ र निद्रा पुगेन भने संज्ञानात्मक कार्यक्षमतामा ह्रास आउँछ । 

यद्यपी आत्मनियन्त्रण, नकारात्मक भावनाको सहनशीलता, स्वस्थ छनौट इत्यादिले चाहिँ लतका नकारात्मक असरहरूलाई नियन्त्रण गर्न र परास्त गर्न सहयोग पुर्याउँछ । 

विभिन्न पारिवारिक समस्यामा परेका बच्चाहरूले वास्तविक संसारमा जुन अपमान, तिरस्कार इत्यादी भोगिरहेका हुन्छन् , त्योबाट भर्चुअल रुपमै सही, छुटकारा पाउनको लागि  फोनको काल्पनिक दुनियाँमा तिनीहरू रम्न पुग्छन् । यदि तपाईं भर्चुअल संसार र वास्तविक संसारलाई मजाले छुट्याउन सक्नुहुन्छ भने नकारात्मक असरहरू घटाउन सहयोग पुग्छ । 

साथै मानसिक समस्यासँग जुधिरहेका मानिसहरू फोनको लतमा फस्ने समस्या झनै धेरै हुने गर्छ । मानसिक अवस्थामा प्रगति आउँदै गर्दा त्यस्तो लत पनि कम हुँदै जान्छ । 

लास्टै झ्याउ लाग्यो भने पनि समस्यात्मक फोन प्रयोगमा तीव्रता आउन सक्छ । त्यसकारण झ्याउ वा अल्छि लाग्नु भनेको पनि समस्यात्मक फोन प्रयोग र डिप्रेसनको पुल जस्तै हो, अहिलेको प्रविधिको युगमा । 

फोनको लत कसरी प्रयोग गर्ने त ?

माथिका मनोवैज्ञानिक खोजहरूलाई ध्यानमा राखेर विभिन्न नियमहरू आफ्नो जीवनमा लागु गर्न सकिन्छ । जस्तै केही प्रभावकारी उपायहरूको चर्चा तल गरिएको छ । 

१. फोन प्रयोग गर्ने समय छुट्याउनुस् 

अनुमान गर्न नसकिने नोटिफिकेश, मेसेज, कल इत्यादिले फोन जतिखेर पनि चलाउन मन लाग्ने हुन्छ । त्यस्तो आतुरता वा लतलाई रोक्नको लागि दैनिक फोन प्रयोग गर्ने समय छुट्याउने गर्नुस् । त्यस्तो गर्दा तपाईँको दिमागलाई त्यस्ता पुरस्कारहरू कुन समय आउँछ भन्ने थाहा हुन्छ र त्यो समयमा नै यसले आफूलाई समायोजन गर्दछ । 

२. फोन चलाउने बानीलाई हस्तक्षेप गर्नुस्

“नानीदेखिको बानी” भन्ने उखानले नै पुष्टि गर्छ कि बानी भन्ने कुरा कति शक्तिशाली हुन्छ भनेर । तपाईँले जस्तो बानी बसाल्नुभयो, तपाईंको दिमागले त्यसलाई आफूमा समायोजन गर्छ र त्यही अनुसार तपाईं विभिन्न कर्ममा धकेल्छ । त्यसकारण दिमागले फोनको प्रयोगलाई कमी ल्याउने तरिकाले बानी परिवर्तन गर्ने प्रयास गर्नुस् । 

जस्तै फोन प्रयोग गर्नै लाग्दा अरू नै रमाइलो काम गर्ने प्रयास गर्नुस् ताकी यो बानी नै लागोस् । जस्तो पढ्ने वा चिया पकाउने वा जुनसुकै । फोन र इन्टरनेट दिमागमा आउनासाथ आफ्नो मन र विचार परिवर्तन गर्न अरू नै केही काममा आफूलाई लगाइहाल्नुस् । 

फोनबारे आफ्ना विचार परिवर्तन गर्न लगातार आफ्नो दिमागमा सोही अनुसारका कुराहरू गरिरहनुस् । जस्तै “यस्ता जाबो फोन केही हैन । यो बिना पनि मज्जाले जिन्दगी चल्छ ।

३. आफ्ना अपेक्षाहरूको मनन गर्नुस्

छिनछिनमा फोन हेर्नु भनेको तपाईंको फोनबाट प्राप्त हुने अपेक्षा धेरै रहेछ भन्ने हो । आफैलाई सोध्नुस् कि तपाईँको अपेक्षा के हो भनेर ।

कसैले तपाईंको पोष्टमा लाइक, कमेन्ट वा रियाक्ट गर्दैछ ? कसैले तपाईंलाई कल पो गर्न लागेको छ कि ? फोनमा कुनै नयाँ परिवर्तन पो हुँदैछ कि ? तपाईंले टन्नै नोटिफिकेशनको अपेक्षा गर्नुभएको थियो तर पाउनुभएन कि ? 

यस्ता प्रश्नहरूलाई वास्तविक संसारमै व्यक्तिगत तवरमा भेटेरै मान्छेहरूसँग कुरा गर्न र हल गर्न खोज्नुभयो भने फोनको लतले छाड्ने सम्भावना धेरै हुन्छ । 

४. एप डिलीट गर्ने, फोन स्विच अफ गर्ने वा नोटिफिकेशन सीमित गर्ने

एपहरूमा नोटिफिकेशन हटाउने वा सीमित गर्ने र यो चलाउने समय छुट्याउने गर्यो भने तपाईंले फोनसँग सम्बन्धित पुरस्कारका अपेक्षाहरू कम गर्नुहुन्छ । साथै तपाईंले फोन वा एप चलाइहाल्न मन लाग्ने आधारभूत कुराहरू समेत तोड्नुहुन्छ । 

यतिले पुगेन भने फोन कतै राख्नुस् र आफ्नो काम गर्नुस् वा फोन स्विच अफ नै गर्नुस् । फोनमा हुने अधिकांश गतिविधिहरूलाई सीमित गर्नुस् र वास्तविक संसारमा ज्यादा समय बिताउने गर्नुस् । 

५. फोनका गतिविधिलाई वर्गीकरण गर्नुस् र समय छुट्टाउनुस् 

फोनका गतिविधिहरूलाई खास रूपमा (तपाईंको चाहना अनुसार) वर्गीकरण गर्नुस् र प्रत्येकलाई ५ मिनेट छुट्याउनुस् । बिहान उठेको १ घण्टापछि मात्रै र सुत्नुभन्दा १ घण्टा अघि सम्म मात्रै फोन चलाउनुस् । त्यो समयमा विभिन्न काम गर्नुस् वा अन्य कुराहरूमा मन डुलाउनुस् ताकी यो महत्वपूर्ण समयमा फोनले तपाईंलाई अवरोध सिर्जना गर्न नसकोस् । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.