त्यस्तो समय पनि थियो जति बेला फोटो खिच्नु भनेको ज्यादै दुर्लभ काम थियो । महङ्गा क्यामरा हुनुपर्ने, भएर मात्रै नपुग्ने, त्यो एडिट गर्नको लागl महङ्गा कम्प्युटर चाहिने । त्यति मात्रै हैन, त्यो एडिट गर्ने सीप पनि हुनुपर्ने । तर त्यो समयको अन्त्य भएको दशकौँ बितिसकेको छ ।
अहिले जो कसैले पनि स्मार्टफोनमै कम्प्युटरले जस्तै गरी र कुनै व्यावसायिक फोटोग्राफरले जसरी नै फोटो एडिट गर्न सक्छ । त्यस्तf एपहरूको व्यापक प्रतिस्पर्धा छ जसकारण मानिसहरूले उत्कृष्ट एपहरू छान्नुपर्ने हुन्छ । छान्नु पनि कहिलेकाहीँ समस्या भइदिन्छ किनकी उत्कृष्ट छान्दा त्यसलाई पैसा तिर्नुपर्ने हुन्छ ।
यदl यस्तो समस्या तपाईंले खेपिरहनुभएको छ भने हामी तपाईंहरूलाई यो लेखमा एन्ड्रोइडमा उपलब्ध त्यस्ता निशुल्क एपहरूको बारेमा जानकारी दिदैछौँ जुन अन्य सशुल्क एपहरू जत्तिकै वा ती भन्दा राम्रा फिचरयुक्त हुन्छन् ।
एपिक (EPIK)
अहिलेसम्म ५ करोडभन्दा धेरैले डाउनलोड गरेको यो एपलाई कम्पनीले state-of-the-art फोटो एडिटिङ टूल दाबी गरेको छ जसमार्फत् तपाईंले औँलाले छोएको भरमा जस्तोसुकै फोटो पनि एडिट गर्ने, आधुनिक र उत्कृष्ट फोटोहरू सिर्जना गर्न सक्नुहुन्छ ।
यसले तपाईंका फोटोहरूको फिचर र ब्याकग्राउण्ड एडजष्ट गर्नको लागी युनिक फिल्टरहरू उपलब्ध गराएको छ । यसलाई जोकसैले पनि प्रयोग गर्न सकुन् भनेर स्ट्रिमलाइनयुक्त इन्टरफेसका साथ डिजाइन गरिएको छ ।
साथै यसमा थुप्रै त्यस्ता टेम्प्लेटहरू डिजाइन गरिएका छन् जुन प्रयोग गर्दा कुनै व्यावसायिक फोटोग्राफरले जसरी फोटो एडिट गरेको भान पर्छ ।
यसका Curves, HSL, Sharpen, Grain जस्ता ईफेक्ट्स प्रयोग गरेर तपाईंले आफ्ना फोटोहरू थप पोलिश गर्न सक्नुहुन्छ । यसमा थुप्रै कलर र स्टाइलहरूमा फिल्टरहरू उपलब्ध छन् । साथै टेक्स्ट र फ्रेम बोर्डरहरू पनि तपाईले प्रयोग गर्न सक्नुहुन्छ ।
अ्याफ्टरफोकस (AfterFocus)
अहिलेसम्म एक करोडभन्दा बढिले डाउनलोड गरिसकेको यो एप त्यस्तो फोटो एडिटिङ टूल हो जसले तपाईंका फोटोहरूमा डिएसएलआरको जस्तो ईफेक्ट सिर्जना गरिदिन्छ । हुन त आजकाल स्मार्टफोनका प्राय: क्यामराहरू राम्रै हुन्छन् तर पनि फुलफ्लेज्ड (full-fledged) क्यामराको जस्तो गहिराई र तिख्खरपना कमैमा हुन्छ ।
अ्याफ्टरफोकसले तपाईंका फोटोहरूमा स्मार्ट फोकस र ब्याकग्राउण्ड डिटेक्शन थपेर थप कलात्मक बनाइदिन्छ । तपाईं आफ्नो औँलाको प्रयोगले फोटोको ब्याकग्राउण्ड र बोर्डरहरूमा आउटलाइनहरू पनि बनाउन सक्नुहुन्छ । र यो एपले प्रत्येक लेयर खुट्याउन सक्छ ।
एउटा कुरा चाहिँ तपाईंले हेक्का राख्नुपर्छ । यसले फोटोलाई पूरै डिएसएलआरले नै खिचेको र एडिट गरेको जस्तो चाहिँ बनाउँदैन, त्यस्तो ईफेक्ट एक हदसम्म मात्रै दिने हो । र यसमा बेसिक फोटोग्राफिमा हुनुपर्ने कुरा जस्तै hue, contrast, or color इत्यादि चाहिँ छैनन् ।
यसको अर्को सीमितता भनेको एक पटकमा एउटा मात्रै फोटो लिन सक्नुहुन्छ, त्यो पनि कम रेजोलुशनको । र केही फिल्टरहरू लक हुन्छन् ।
रेमिनि (Remini)
अहिलेसम्म १० करोडभन्दा बढिले डाउनलोड गरिसकेको यो फोटो रिस्टोरेशन र ईनह्यान्समेन्ट (restoration and enhancement) एप हो । यसले मुख्यत: पुराना क्यामरा वा मोबाइलले खिचेका फोटोहरूमा थप स्पष्टता र निख्खरता ल्याउने काम गर्छ ।
यसको स्टेट-अफ-द-आर्ट एआइ प्रविधि प्रयोगले एयरब्रश र फोटोशपले जस्तै रियल-टाइम फोटो इनह्यान्समेन्टको सुविधा दिएको छ । सोसल मिडियामा आफ्ना पुराना फोटाहरू हाल्नुभन्दा अघि यो प्रयोग गर्नु ज्यादै हितकारी हुन्छ । यसले दशकौँ अगाडिका अपरिपक्व फोटोहरूलाई एचडि क्वालिटिको बनाइदिन्छ ।
साथै यसले कम रेजोलुशनका, धमिलो, कम्प्रेस्ड भएका र अन्य तरिकाले क्षतिग्रस्त भएका फोटोहरूलाई एकदमै आधुनिक जस्तो बनाइदिन्छ । यसले पुराना फोटोहरूमा डिफिनेशन थपेर भिजुअल क्वालिटि पनि राम्रो पारिदिन्छ ।
पिक्सेलल्याब (Pixellab)
यो इमेज एडिटरले तपाईँलाई आफ्ना फोटोहरूमा विभिन्न स्टाइल र प्रेजेन्टेशनहरूमा सजिलै टेक्स्ट हाल्ने सुविधा दिन्छ । तपाईंले पहिल्यै बनाइ राखिएका टेम्प्लेटहरूको प्रयोग पनि गर्न सक्नुहुन्छ वा आफैले सिर्जना पनि गर्न सक्नुहुन्छ ।
अन्य फोटो एडिटिङ एपहरूको दाँजोमा यो चाहिँ मूलत: फोटोहरूमा टेक्स्ट लगायतका केही कलात्मक कुराहरू थप्ने मामिलामा केन्द्रित छ । यसले टन्नै एडिटिङ टूलहरू र विकल्पहरू दिएर प्रयोगकर्तालाई नै थुप्रै नियन्त्रण अधिकार दिएको छ ।
पिक्सेलल्याबमा तपाईंले वृहत सङ्कलनहरूबाट थुप्रै स्टाइलिश थ्रीडी टेक्स्टहरू हाल्न सक्नुहुन्छ । साथै तपाईँले यसमा सयभन्दा बढी फन्ट स्टाइलमा, विभिन्न टेक्स्ट ईफेक्टहरूमा र कलरहरूमा आफै सिर्जना पनि गर्न सक्नुहुन्छ । साथै यसमा विभिन्न शैली र रङमा चित्र बनाउन पनि मिल्छ ।
स्न्यापसीड (Snapseed)
अहिलेसम्म १० करोडभन्दा बढिले डाउनलोड गरिसकेको स्न्यापसीड एउटा यस्तो प्रचलित एप हो जुन चलाउन ज्यादै सहज इन्टरफेस र अनेक थरी विकसित टूलहरू भएकाले डेस्कटप फोटो एडिटरहरूलाई समेत टक्कर दिने सामर्थ्य राख्छ ।
यसको विशिष्टता भनेको यो पहिल्यै राखिरहेको प्रिसेट फिल्टरहरू (preset filters) सँगै आउँछ जुन आफैले पनि पछि एडिट गर्न सकिन्छ र तपाईंले सुरूबाटै चाहेका फिल्टरहरू सिर्जना गर्न सक्नुहुन्छ।
यसले क्रपिङ, सीधा गर्ने, फ्रेमहरू र टेक्स्ट जस्ता क्लासिक टूलहरू पनि प्रदान गर्दछ। यसले मास्किङ, selective adjusting tools, र तपाईंको एडिट हिस्टोरी सेभ (save) गर्दछ । त्यसकारण तपाईंलाई तपाईंको अघिल्लो एडिटेड इमेजहरू कुनै पनि बेलामा परिमार्जन गर्न दिन्छ।