विन्डोजमा तपाईँको कम्प्युटरको र्यामको स्पीड कसरी चेक गर्ने ?

RAM in windows

आजकाल सामान्य डिजिटल साक्षरता भएका प्रयोगकर्ताहरुलाई पनि र्यामको मोटामोटी महत्व र कार्यको बारेमा थाहा हन्छ । सर्वविदित छ कि र्यामले कम्प्युटरको समग्र कार्यक्षमता र स्पीडको निर्धारण गर्छ । 

हामी यो लेखमा कम्प्युटरको र्यामको स्पीड सजिलै कसरी चेक गर्ने ? यसको महत्व के छ ? यो कसरी बढाउन सकिन्छ ? जस्ता कुराहरुबारे चर्चा गर्दैछौँ ।

र्यामको स्पीड किन महत्वपूर्ण छ ?

र्यामको स्पीडले प्रत्यक्ष रुपमा तपाईँको कम्प्युटरले कति छिटो डेटामा पहुँच पाउने र प्रोसेस गर्ने भन्ने कुरा निर्धारण गर्छ । र्यामको स्पीड छिटो भयो भने र्याम र प्रोसेसर बीच छिटै डेटा ट्रान्सफर हुन्छ । 

कम्प्युटरमा हुने समग्र कामहरू जस्तै सफ्टवेयर चलाउने, गेम खेल्ने, अ्याप लञ्च गर्ने, फाइल लोड गर्ने इत्यादि को लागी पर्याप्त र्याम स्पीड चाहिन्छ । यद्यपी तपाइँको कम्प्युटरको समग्र कार्य क्षमता र्याम टाइमिङ, र्याम टाइप र र्याम साइजको सामञ्जस्यमा पनि भर पर्छ । 

ध्यानमा राख्नुपर्ने कुरा के हो भने यी सबै कुराहरु जति धेरै भयो, त्यति नै तपाईँको कम्प्युटरको कार्यक्षमता राम्रो र छिटो हुन्छ । 

यद्यपी र्यामको स्पीड दोब्बर, तेब्बर पार्दैमा त्यसकै अनुपातमा कम्प्युटरको कार्य क्षमता पनि बढ्ने भन्ने चाहिँ हुँदैन, राम्रो र चुस्त चाहिँ हुन्छ । 

र्यामको स्पीड कसरी चेक गर्ने ?

विन्डोजमा र्यामको स्पीड चेक गर्ने तरिका ज्यादै सजिलो छ । त्यसको लागी तपाईँ आफ्नो किबोर्डमा रहेका तीनवटा किहरु Ctrl, Shift, Esc एकैचोटि थिच्नुहोस् ।

 त्यसपछि टास्क म्यानेजर देखा पर्छ जसमा तपाइँले Performance छानेर बायाँपट्टिको Memory छान्नुस् । त्यसपछि यसले विभिन्न सूचनाहरू देखाउँछ । 
Task Manager Performance Memory

जस्तै माथिको इमेजमा देखिएको 4.0GB DDR3 ले तपाइँको र्यामको साइज बताउँछ भने 3.9 GB ले चाहिँ अहिले कति र्याम खपत भइरहेको छ भन्ने बताउँछ । 

साथै तल पट्टिको Speed: 1600 MHz ले र्यामको स्पीड अनि Slots used: 1 of 1 ले तपाईँको कम्प्युटरमा रहेका कतिवटा र्याम मध्ये कतिवटाको प्रयोग भएको छ भन्ने देखाउँछ । 

यो इमेज केही पुरानो ल्यापटपको भएकोले तपाईँ अहिलेको विन्डोज १० वा ११ चलाइरहनुभएको छ भने पक्कै पनि यी सबै कुराहरु तपाईँकोमा धेरै देखाइरहेको हुनुपर्छ । 

र्यामको स्पीड कसरी बढाउने ?

तपाईँलाई पक्कै पनि आफ्नो कम्प्युटरको कार्यक्षमता र स्पीड बढाउने मन छ होला । समय बित्दै जाँदा जुनसुकै कम्प्युटरको पनि कार्यक्षमतामा ह्रास आउँछ किनकी समयानुसार नयाँनयाँ सफ्टवेयर, गेम, फाइलहरु पनि परिवर्तन हुँदै जान्छन् । 

त्यत्तिको लागी तपाईँले पुरै कम्प्युटर नै फेर्नुपर्ने वा नयाँ किन्नुपर्ने भन्ने छैन । विभिन्न उपायहरु छन् जसमार्फत् तपाईँले सजिलै र सस्तोमा यो समस्याको समाधान गर्न सक्नुहुन्छ । त्यसको लागी तपाईँले तलका कुनै उपायहरु अपनाउन सक्नुहुन्छ ।

तपाईँले आफ्नो र्याम नै परिवर्तन गर्ने वा थप्ने गर्न सक्नुहुन्छ । आफ्नो जुन ब्राण्डको कम्प्युटर हो, त्यही अनुसारको र्याम कति र कसरी अपग्रेड गर्ने भन्ने कम्पनीले तोकेको हुन्छ । तपाईँ त्यसको वेबसाइटमा गएर बुझेर थप्न वा फेर्न सक्नुहुन्छ । 

साथै र्यामको अत्यधिक खपत गर्ने बानी कम गर्नुस् । ब्याकग्राउण्डमा विभिन्न कामहरु भैरहेका हुन सक्छन् जसलाई तपाईँले टास्कम्यानेजरमा गएर बन्द गर्न सक्नुहुन्छ । 

बेलाबेला म्यालवेयर र भाइरसबाट बच्न स्क्यान गर्ने, मेमोरी खाली गराउन नचाहिने कुराहरु डिलिट गर्ने, ओएस इन्स्टल गरेको ड्राइभमा अन्य कुराहरु सकेसम्म नराख्ने लगायतका कामहरु गर्न सक्नुहुन्छ । 

कतिपय मदरबोर्डले eXtreme Memory Profile (XMP) वा Direct Overclock Profile (DOCP) पनि सपोर्ट गर्छन् । BIOS मा यसको स्पीड मिलाउँदा त्यतिमै काम गर्ने गरी सेटिङ मिलाउन पनि मिल्छ । 

आफ्नो सफ्टवेयर र ड्राइभरहरुलाई अपडेट गरिरहने बानी पनि बसाल्नुस् । यसले पनि तपाईँको र्यामको स्पीड बढाउने गर्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.