अहिलेको ईन्टरनेटको जमानामा सामाजिक सञ्जाल आम मानिसको सामाजिक जीवनको लगभग अभिन्न हिस्सा भैसकेको छ । सामान्यतया हातमा स्मार्टफोन बोक्ने जो कसैले पनि कुनै न कुनै सामाजिक सञ्जाल चलाउँछ भनेर हामी सहजै अनुमान गर्न सक्छौँ ।
हामी सबैलाई थाहा भएकै कुरा हो कि आजकाल धेरैले बच्चा जन्मिनासाथ उसको नाममा फेसबुक वा टिकटक जस्ता सञ्जालका अकाउण्टहरु बनाउने गर्छन् । मोबाइलमा घण्टि बज्दा उठाउन मात्र आउने मानिसहरूको नाममा समेत तिनका परिवारका मानिसहरूले सामाजिक सञ्जालका अकाउण्टहरु बनाइदिने गर्छन् ।
सामाजिक सञ्जालमा देखाउनकै लागी भनेर धेरैले आजकाल लाखौँ खर्चेर फोटो र भिडियो सेशन गर्ने गर्छन् । देखाउनकै लागी भनेर लुगा किन्ने, महङ्गो रेष्टुेन्टमा घुम्न जाने, देशविदेश घुम्न जाने, भोज गर्ने लगायतका काम गर्छन् ।
भन्न खोजेको कुरो के भन्दा हाम्रा सामाजिक जीवनको महत्वपूर्ण हिस्सा अहिले सामाजिक सञ्जालले पनि ओगटेको छ र मेचीदेखि महाकालीसम्मका बच्चादेखि बुढासम्म अनि गरिबदेखि धनीसम्मले यहाँ दैनिक केही घण्टा बिताउने गर्छन् ।
त्यसोभए नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ता कति छन् त ? यकिनका साथ भन्न सकिदैन तर केही विश्वस्त स्रोतहरूको अध्ययन गरेर हामीले यहाँ सोबारे जानकारी दिने प्रयास गरेका छौँ । खासगरी चर्चित सञ्जालको बारेमा हामी तपाईँलाई सुसूचित गर्दैछौँ ।
नेपालको जनसङ्ख्याको कति प्रतिशतले सामाजिक सञ्जाल चलाउलान्?
पछिल्लो जनगणनाको वास्तविक आँकडा आउन अझै केही समय बाँकी नै छ तर गत वर्षको आँकडालाई नै आधार मानेर पनि हामी वास्तबिकता नजिकको अनुमान लगाउन सक्छौँ ।
सन् २०२२ मा नेपालको झण्डै तीन करोड थियो । अहिले थोरै घटेको विवरण आएको छ । त्यसमध्ये २०% भन्दा बढी मानिसहरू सहरी क्षेत्रमा र बाँकी गाउँमा बस्छन् । सहर र गाउँ जताततै सामाजिक सञ्जाल चलाइने भएकाले यो तथ्यमा टेकेर तिनको अनुमान लगाउनु उचित हुँदैन । त्यसमाथि जनसङ्ख्याको ३०% भन्दा बढी मानिसहरू विदेशमा छन् होला ।
मेरो विचारमा सामाजिक सञ्जालको प्रयोगकर्ताको आँकडा निकाल्ने सबैभन्दा राम्रो उपाय भनेको उमेरसमूह अनुसार र तिनमा साक्षरताको अवस्था हेरेर निकाल्ने नै हो । मलाई के लाग्छ भने अहिले १३/१४ वर्षभन्दा माथिका प्राय: सबै साक्षर मानिसहरूले कुनै न कुनै सामाजिक सञ्जाल चलाउँछन् ।
सन् २०२२ को जनसङ्ख्या अनुसार झण्डै ७५% मानिसहरू १३ वर्षभन्दा माथिका छन् । तीमध्ये ५० कटेका प्राय: महिलाहरू र ७० कटेका प्राय: मानिसहरू साक्षर छैनन् भनेर मान्ने हो भने बाँकी प्राय: सबैले सामाजिक सञ्जाल चलाएका छन् कुनै न कुनै समय । र बेलाबेला चलाउँछन् ।
निकै ग्रामीण भेगमा पनि कुनै न कुनै बेला सामाजिक सञ्जाल चलाउँछन् किनकी प्राय: सबैतिर स्मार्टफोन पुगेको छ र टेलिकमको सीम कार्ड पनि । त्यसैले मलाई के लाग्छ भने नेपालमा मोटामोटी आधाभन्दा बढी जनसङ्ख्याले सामाजिक सञ्जाल चलाउँछन् ।
मेरो यो अनुमानसँग प्राय: मानिसहरू सहमत हुन्छन् होला जस्तो मलाई लाग्छ तर हामी यहाँ एक विश्वस्त स्रोत डेटारीपोर्टलडटकमबाट केही तथ्याङ्कहरू लिएर तपाईँ समक्ष प्रस्तुत गर्दैछौँ ।
कति नेपालीले कुन-कुन सामाजिक सञ्जाल प्रयोग गर्छन् ?
फेसबुक
भन्नै पर्दैन कि फेसबुक संसारभरी नै सबैभन्दा रूचाइएको र प्रयोग भएको सामाजिक सञ्जाल हो । डेटारीपोर्टलका अनुसार सन् २०२२ को सुरूवाती समयसम्म पनि एक करोड तेइस लाख नेपाली फेसबुक प्रयोगकर्ताहरू छन् । अहिले यो सङ्ख्या निसन्देह बढेको होला ।
तेह्र वर्षभन्दा बढी उमेर समूहले चलाउन मिल्ने वा सक्ने यो प्ल्याटफर्ममार्फत् नेपालमा मात्र जम्मा जनसङ्ख्याको ४०% भन्दा बढी माझ फेसबुकको विज्ञापन जाने गर्छ । सामान्यतया यो स्रोतले नेपालको जनसङ्ख्या को ५०% भन्दा बढीले यो सञ्जाल चलाउने गरेको कुरा लेखेको छ ।
युट्युब
नेपालमा युट्युब कतिले चलाउलान् भनेर मैले इन्टरनेटमा सर्च गर्दा यकिन तथ्याङ्क त भेटिन तर हामी सहजै अनुमान गर्न सक्छौँ कि हातमा स्मार्टफोन हुनेहरू सबैले युट्युब चलाउँछन् । त्यो किन पनि भने प्राय:जसोले चलाउने भनेको एन्ड्रोइड नै हो र गुगलबिना त्यो सम्भव छैन । यसमा स्वत: युट्युबजस्तो चलाउन साह्रै सजिलो र उपयोगी एप उपलब्ध हुन्छ ।
हामी के अनुमान गर्न सक्छौँ भन्दा फेसबुक चलाउने मानिस जति छन् त्योभन्दा बढी युट्युब चलाउने छन् किनकी यो चलाउन झन् सजिलो छ । यसमा प्राय:जसोले भिडियोहरू हेर्ने मात्र गर्छन् । बच्चाबच्चीहरूले त झन् स्कुल र परिवार वा समाजबाट जति सिक्छन् , त्योभन्दा बढी युट्युबबाट सिक्न थालेका छन् ।
तर बालबालिकाहरूले भिडियो हेर्ने मात्र हो, त्यो पनि परिवारका सदस्यहरूको अकाउण्ट वा फोनबाट । त्यसैले उनीहरूलाई आधिकारिक प्रयोगकर्ता मानिदैन । तर यिनीहरूको पनि सङ्ख्या जोड्ने हो भने युट्युब सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो भन्दा फरक पर्दैन ।
हामी अहिलेलाई यति नै भन्न सक्छौँ कि नेपालको जनसङ्ख्याको आधाभन्दा बढीले युट्युब चलाउँछन् । र फेसबुक चलाउनेहरू भन्दा कता हो कता बढी प्रयोगकर्ता युट्युबका छन् ।
टिकटक
टिकटकको बारेमा विश्वस्त स्रोत हामीलाई भेट्न अलि गाह्रो नै छ किनकी यो चीनमा निर्मित सञ्जाल हो जसले आफ्नाबारे कमै जानकारीहरू दिने गर्दछ । तर यो अनुमान गर्न गाह्रो छैन कि यो फेसबुक र युट्युबपछि को सबैभन्दा चर्चित एप हो, नेपालमा र संसारभरि नै ।
नेपालमा खासगरी पैसा कमाउनको लागी भनेर चर्चामा आएको यो एपमा प्राय: महिला वर्गको वर्चश्व छ भन्ने तपाईँलाई लागिरहेको होला । तर स्टार्टडटआइओ (start.io) नामक वेबसाइटको दाबी पत्याउने हो भने नेपालका जम्माजम्मी टिकटक प्रयोगकर्ताहरूमध्ये झण्डै ८४% पुरूष छन् भने बाँकी १६% मात्र महिला छन् ।
उक्त वेबसाइटको अनुसार नेपालमा झण्डै बाइस लाखभन्दा बढी टिकटक प्रयोगकर्ता छन् जसमा १८-२४ उमेरसमूहका झण्डै ५०% र २५-३४ वर्षका उमेरसमूहका ४७% पर्छन् ।
इन्स्टाग्राम
सन् २०२२ को प्रारम्भसम्म पनि तेइसलाख इन्स्टाग्राम प्रयोगकर्ताहरू नेपाली रहेको विवरण डेटारीपोर्टलले दिएको छ । नेपालको जनसङ्ख्याको झण्डै ८% मानिसहरूमाझ इन्स्टाग्रामको विज्ञापन पुग्दो रैछ ।
फेसबुकजस्तै इन्स्टाग्राम पनि महिलाभन्दा केही बढी पुरूषले चलाउँदा रैछन् ।
फेसबुक मेसेन्जर
करिब एक करोड मानिसहरूले फेसबुकको चर्चित मेसेन्जर एप चलाउँदा रैछन् । यो मेटा कम्पनीले उक्त एपमा नेपालमा पुग्ने विज्ञापनको आधारमा भनिएको हो ।
नेपालमा महिलाले भन्दा पुरूषले बढी चलाउने यो एप यहाँको जम्मा जनसङ्ख्याको ३२% ले चलाउँदा रैछन् ।
लिङ्क्डइन
यो मूलत: रोजगारी खोज्नको लागी प्रयोग गरिने हुँदा यसका प्रयोगकर्ताहरू कम हुने भैहाले । नेपालको जनसङ्ख्याको ३% भन्दा केही बढी अर्थात् दश लाख जति मानिसहरूले यो प्रयोग गर्दा रैछन् ।
विज्ञापन पुगेको आँकडा हेरेर निकालिएको यो तथ्याङ्कले नेपालको अर्को तीतो कुरा पनि उजागर गर्छ । त्यो के भने यसका ७२% प्रयोगकर्ताहरू पुरूष छन् भने २७% जति महिला छन् । यसले महिलाहरू अझै पनि रोजगार गर्नेभन्दा घरमै बस्ने गरेको तथ्यको पनि उजागर गर्छ ।
ट्विटर
चर्चित सामाजिक सञ्जालहरू मध्ये ट्विटर नेपालीहरूमाझ सबैभन्दा कम रूचाइएको होला किनकि यसको विज्ञापन स्रोतका अनुसार नेपालमा यसका प्रयोगकर्ताहरू एकचालीस लाख मात्र रैछन् ।
अन्य
माथि हामीले केही चर्चित सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताको सामान्य आँकडा प्रस्तुत गर्यौँ । तर अन्य सञ्जालहरू पनि छन् जुन आम मानिसहरूमाझ चर्चित त छैन तर खास वर्गहरूमाझ भने साह्रै चर्चित र उपयोगी छन् ।
जस्तै गेम खेल्ने र अफिसहरूमा काम गर्नेहरूमाझ डिस्कोर्ड प्रचलित छ । जूम, माइक्रोशफ्ट टीम्स, स्ल्याक, जिरा, जिमेल इत्यादीलाई पनि थुप्रै अफिसहरूमा सम्पर्क र मिटिङको लागी प्रयोग गरिन्छ ।
त्यस्तै मेसेज पठाउने एपहरू जस्तै ह्वाट्सएप, भाइबर इत्यादी नेपालमा चर्चित छन् । अनि एउटा वर्गले विदेशमा चर्चित सञ्जालहरू जस्तै रेड्डिट, क्वोरा, पिइन्ट्रेटष्ट, आइएमडिबि इत्यादी प्रयोग गर्छन् ।