टेनेट (फिल्म समीक्षा) 

क्रिस्टोफर नोलान हलिउडका घागडान निर्देशक हुन् । खासगरी रिड्ली स्कटका सायन्स फिक्शन फिल्महरू र 2001: A Space OdesseyStar Wars फिल्महरूबाट प्रभावित नोलान ती फिल्महरू बारम्बार दोहोर्याएर हेर्ने गर्थे र पछि आफै पनि उस्तै विधामा फिल्महरू बनाएर संसारभरि ख्यातिप्राप्त भए । 

उनी खासगरी सायन्स फिक्शनमा पनि कथा भन्ने जटिल तरिकाको कारण चर्चित छन् । सुरूका फिल्महरू जस्तै मेमेन्टो देखि लिएर इन्सेप्शन, इन्टरस्टेलर इत्यादिका कथाहरू देखाउने तरिका जटिल थिए जसकारण तिनले फिल्म जगतमा व्यापक चर्चा बटुलेका थिए । यद्यपि उनी सर्वाधिक चर्चित भने द डार्क नाइटका कारण भएका थिए । 

हामी चाहिँ यो आर्टिकलमा नोलानले सन् २०२० मा बनाएको चर्चित फिल्म टेनेटको बारेमा चर्चा गर्नेछौँ । खासगरी यो फिल्ममा नोलानले कस्ता प्राविधिक धारणाहरू (technogical concepts) को प्रयोग गरेका छन् भन्नेबारेमा केन्द्रित हुनेछौँ । 

टेनेटको ट्रेलर

सुरूमै एउटा कुरा भनिहालौँ कि यो फिल्मको कथा भन्ने जटिल तरिकाले तपाईंलाई इन्सेप्शनको याद दिलाउनेछ । इन्सेप्शनमा सपना र वास्तविकता पहिल्याउन दर्शकलाई गाह्रो भएकाले यसको समीक्षामा दर्शक र समीक्षकहरू ध्रुवीकृत भएका थिए । यसमा पनि भूत र वर्तमानका दृश्यहरू खुट्याउन गाह्रो भएकैले दर्शक र समीक्षकहरू ध्रुवीकृत भएका छन् । 

थाहा पाइहाल्नु भयो होला कि यो फिल्ममा टाइम ट्राभलको धारणाको प्रयोग गरिएको छ । यसमा टर्न्स्टाइल (Turnstile) नामक डिभाइस हुन्छ जसभित्र पसेपछि वस्तु र मानिस विगतमा फर्किन सक्छ तर ऊ वरीपरिका सबै कुराहरू चाहि वर्तमानमै चलायमान भैरहेका हुन्छन् । 

कुरा के भन्दा जब मानिस टर्न्स्टाइलभित्र छिर्छ तब उसको एन्ट्रोपि (entropy) उल्टिन्छ ताकि ऊ विगतमा फर्किन सकोस् । यहाँनेर एन्ट्रोपि भन्नाले कुनै पनि प्रणालीभित्रको अस्तव्यस्तता (disorder) वा विश्रृङ्खलता (randomness) को मापन भनेर बुझ्नुपर्छ । 

समय बित्दै जाँदा एन्ट्रोपि पनि बढ्दै जान्छ । अर्थात् समयक्रममा एन्ट्रोपि बढ्दै जाँदा एन्ट्रोपि थप अव्यवस्थित र भद्रगोल हुन्छ । अब टर्न्स्टाइलभित्र प्रवेश गरेपछि यो एन्ट्रोपि नै उल्टिदाँ मानिसका क्रियाकलापहरू कस्ता हुन्छन् र कसरी त्यसलाई मानिसले प्रयोग गर्ला भन्ने कुरा तपाईं आफै कल्पना गर्नुस् । यो धारणा नै आफैमा जटिल भएकाले देखाउने तरिका पनि जटिल छ । 

यसका कम्पोजर तथा सङ्गीतकार लुडविग गोरान्सनले पनि फिल्मको धारणासँग मिल्दोजुल्दो नै सङ्गीत दिएका छन् । उनले “टेम्पो-प्यालिन्ड्रोम” भनिने प्रविधि प्रयोग गरेका छन् जसमा एउटै समयमा आगत र विगत (forward and backward) दुबैमा सङ्गीत बज्छ जसले दर्शकमा उस्तै खालको प्रभाव पार्न पनि सफल भएको छ । 

फिल्ममा अरेखीय हतियार (non-linear weapons) को पनि प्रयोग गरिएको छ जसलाई आणविक हतियारभन्दा पनि खतरापूर्ण भनिएको छ । जस्तै यसमा यस्तो बन्दुक छ जुन चलाएपछि यसबाट निस्कने गोली विगत समयतिर जान्छ अर्थात् त्यसको क्षति उल्टो क्रममा हुन्छ । 

उदारहणको लागि गोली भित्तामा हान्यो भने यसले पहिल्यै त्यहाँ पुर्याएको क्षति अर्थात् घाउ ठिक हुन्छ र गोली बन्दुकभित्र प्रवेश गर्छ ! यस्तो बन्दुकको प्रयोग सुरूदेखि अन्त्यसम्मै भएको छ ज्यादै अस्तव्यस्त लाग्ने अ्याक्शन सिनहरूमा । 

यो बन्दुकको प्रयोगबाट यसका दुई नायकहरूले एक खलनायकबाट संसारको विनाश हुनबाट बचाउने प्रयास गर्छन् । समय नै उल्टाउने प्रविधिको दुरूपयोग यसको एक खलनायकले गरिरहेको हुन्छ जसले आफ्नो मृत्यु भएको खण्डमा यो पूरै संसार नै सिद्धिने खालको प्रविधि आफूमा जडान गर्छ । 

यस्तो बन्दुकको अलावा यसमा यस्तो डिभाइसको पनि कल्पना गरिएको छ जसले कुनै विशेष ठाउँको नै एन्ट्रोपि उल्ट्याइदिन सक्छ जसकारण कुनै भवनलाई नै विगतमा ध्वस्त पार्ने लगायतका थुप्रै कामहरू गर्न सक्छ । यो हतियार नै फिल्मको उत्तरार्धसम्म सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ । 

यसमा एक पात्रामा त्यस्तो अधिसंवेदनशीलता हुन्छ जसले समयको बहावसँगै र यसलाई उल्टाउँदा पनि त्यसका प्रभावहरू अनुभूत गर्न सक्छिन् । अधिसंवेदनशीलता (hypersensitivity) भनेको त्यस्तो अवस्था हो जतिबेला मानिसको इन्द्रियलाई थप बलियो बनाएर अरूले अनुभूत गर्न नसक्ने कुरा उसले गर्न सक्ने पार्न मिल्छ । 

समय उल्टाउने प्रविधिको अतिरिक्त यसमा क्वान्टम फिजिक्स, एआइ, ईन्क्रिप्शन, अ्याल्गोरिदम लगायतका प्राविधिक कुराहरूको पनि व्यापक प्रयोग गरिएको छ । साथै यदी यस्ता प्रविधिअरू गलत मानिसको हातमा गएमा मानवजातिलाई कस्ता खालका खतराहरू आइपर्न सक्छन् भन्ने पनि यसले देखाउँछ । 

यो फिल्मको एउटा मूख्य कुरा भनेको त्यस्तो अ्याल्गोरिदम हो जसले यो पूरै ब्रह्माण्डकै एन्ट्रोपि उल्ट्याइदिन सक्छ जसकारण त्यसले संसार नै ध्वस्त पार्न सक्छ । 

यसको नायकको काम त्यो अ्याल्गोरिदम सक्रिय हुनुभन्दा अघि नै त्यसमा पहुँच पाएर संसार बचाउनु हो भने यसको खलनायकको काम चाहीँ आफू मरेसँगै संसार पनि सकियोस् भन्ने उद्देश्यसाथ अघि बढ्ने हो । फिल्म मूलत: यही सेरोफेरोमा घुमिरहेको हुन्छ । 

यो फिल्म अहिले जारी रूस-युक्रेन युध्द हुनुभन्दा अघि नै बनेको थियो तर संयोगवश युक्रेनकै एक पात्र यसको खलनायक हुन्छ । यो युध्दमा चासो राख्नेहरूको लागी पनि आधुनिक हतियारहरू कसरी प्रयोग भइरहेका छन् भन्ने जान्न यो फिल्म विशेष रूचिकर हुनसक्छ । 

यद्यपि यसमा देखाइएका अधिकांश प्रविधिको अहिले त विकास भैसकेको छैन, तर भविष्यमा यस्तो पनि हुनसक्छ भन्ने कल्पना र विचार गर्नेहरूको लागि पनि यो फिल्म काम लाग्न सक्छ । 

साथै हामी प्रविधिमा रूचि राख्ने सबैलाई यो फिल्म हेर्न सिफारिश गर्छौं । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.