द इन्भिजिबल म्यान – – मान्छेलाई अदृश्य बनाइदिने प्रविधिबारेको थ्रिलर फिल्म

The invisible Man techpankti

मान्छेको जातै यस्तो कि प्राय: ऊ आफुलाई कतै भुलाउन चाहन्छ । उसलाई आफ्नाबारेका थुप्रै कुराहरु सम्झिरहने, आफु वरिपरिका वातावरणमा रमाइरहने, सधैँ एउटै प्रकारका मानिसहरु मन परिरहने नै हुँदैन । 

त्यसैकारण ऊ आफु र आफु वरिपरिका कुराहरुबाट छुटकारा पाएर कतै हराउन चाहन्छ । सर्जकहरु त्यस्तै प्रकृतिका मानिसहरु हुन् जसलाई आफु र आफु वरिपरिका कुराहरु मन पर्दैन र अर्कै एउटा संसार बनाउँछ जहाँ ऊ रमाउन सकोस् । त्यसैले नै ऊ सर्जक बन्छ । मनोवेत्ताहरु त्यस्तै भन्छन् । 

थुप्रै मानिसहरु आफुलाई भुलाउन साथी बनाउने, गफ गर्ने, खेल्ने, भीडमा जम्मा हुने, किताब पढ्ने, टिभी हेर्ने लगायतका काम गर्छन् । कुनैबेला गफगाफ, नाचगान, पढ्ने, काम गर्ने, टिभी हेर्ने, फिल्म हेर्ने, गीतसङ्गीत हेर्ने लगायतका कामहरु आफैलाई भुल्नको लागी सबैभन्दा ज्यादा रुचाइएका माध्यमहरु थिए । 

आजकाल इन्टरनेट र सोसल मिडियाले ती सबको स्थान लिइदिएको छ, कम्तीमा पनि बहुसङ्ख्यक मानिसहरुको लागी । मानिसहरु स्मार्टफोनमा यस्तरी दत्तचित्त हुन्छन् कि तिनलाई आफु वरिपरि के भैरहेको छ पनि थाहा हुँदैन । 

स्मार्टफोनको लतमा डुब्नेहरुको कुरा अब पुरानो होला जस्तो छ । किनकी एप्पलले नयाँ भिजन प्रो सार्वजनिक गरेपछि मानिसहरु एआर, भिआर र एमआरको दुनियाँमा डुब्ने सम्भावना बढेको छ । 

भविष्यको प्रविधि जगतमा मानिसहरु कसरी समय बिताउलान् भन्नेबारेको फिल्म रेडि प्लेयर वानको बारेमा हामीले केही अघि चर्चा गरेका थियौँ । 

तर आज हामीले चर्चा गर्न लागेको फिल्म चाहीँ अपग्रेड जस्तो सायन्स फिक्शन थ्रिलर फिल्म बनाएका ली ह्वानेलको अर्को फिल्म द इन्भिजिबल म्यानको बारेमा हो जसको प्रतिनायकले आफैलाई अदृश्य बनाउने प्रविधियुक्त सुट बनाएको हुन्छ र प्रयोग पनि गर्छ । 

द इन्भिजिबल म्यानको ट्रेलर

यि सबको भूमिका बाँध्नुको कारण के हो भन्दा मानिसहरुलाई स्मार्टफोन र भिआरमा डुब्नभन्दा ज्यादा त आफैलाई अदृश्य बनाउन मन लाग्छ किनकी उसले त्यसमा टन्नै शक्तिको प्रयोग गर्न पाउँछ । 

स्मार्टफोन, सोसल मिडिया, इन्टरनेट र भिआरहरुमा त अरुले जे देखाउँछन्, त्यो मात्रै मान्छेले हेर्न पाउँछ तर यदी उसले आफैलाई अदृश्य बनाउन सक्ने लुगा लगायो भने त उसले अरुले जे लुकाउँछन्, त्यो पनि हेर्न पाउने भयो ।

यसो भनौँ, उसले धेरै थोक गर्न पाउने भयो । अरुको जिन्दगीमा उतारचढाव नै ल्याइदिन सक्ने भयो ……………………तपाईँ आफै कल्पना गर्नुस् तपाईँ अचानक अदृश्य बन्न सक्नुभयो भने तपाईँ के-के गर्नुहोला वा गर्न सक्नुहोला । 

हो, द इन्भिजिबल म्यानको प्रतिनायकले पनि आफैलाई अदृश्य पार्न सक्छ र उसले के-के गर्ला भन्नेबारे जान्न चाहीँ तपाईँले यो फिल्म हेर्नुपर्ने हुन्छ । निकै रोमाञ्चक कथा भएको यो फिल्म “सायन्स फिक्शनका पिता” मानिएका प्रख्यात लेखक एच जि वेल्सको उपन्यासमा आधारित छ । 

फिल्मको बारेमा हल्का चर्चा गरौँ । यसमा सुरुमै एकजना महिला कुनै अत्याधुनिक साह्रै महङ्गो लाग्ने घरबाट भाग्छे आफ्नो लोग्नेबाट छुटकारा पाउन । ऊ प्रति आशक्त उसको लोग्नेले उसको विछोडपछि आत्महत्या गरेको प्रमाण लिएर जेठाजु आउँछ र सम्पत्तिको उत्तराधिकारीको बारेमा कुरा गर्न थाल्छ । 

पछि जिन्दगी बाँच्दै जाने क्रममा त्यस महिलालाई आफु वरिपरि अनेकखाले अचम्मका घटनाहरु हुन थालेको आभास हुन थाल्छ । उसका ती व्यवहारहरु देखेर उसलाई धेरैले पागल ठानेर मनोचिकित्सककहाँ पनि पुर्याउँछन् । 

उसलाई के लाग्न थाल्छ भन्दा उसको श्रीमान अझै ज्युँदै छ र कुनै प्रकारले अझै पनि उसलाई सताउन, आफ्नो नियन्त्रणमा राख्न आएको छ । उसको श्रीमान उसलाई आफ्नो बाहेक अरु कसैको हुन दिन नचाहने भएकोले यस्तो गरेको उसको दलील हुन्छ । 

यद्यपी ऊ मरेको प्रमाण नै उसकै दाईले दिएको हुन्छ र अझ रोचक कुरा के भने उसको दाईलाई पनि ऊ फिटिक्कै मन पर्दैन । 

यो फिल्म रहस्यमयी थ्रिलर भएकाले यसको बारेमा अरु ज्यादा बताउनु मनासिब हुँदैन । यति मात्रै कुरा तपाईँले थाहा पाएर फिल्म हेर्दा पनि तपाईँलाई पक्कै पनि फिल्मको मजामा कुनै कमी आउँदैन किनकी फिल्मको सुरुको केही मिनेटमै यि कुराहरु थाहा हुन्छ ।

अब फिल्ममा प्रयोग गरिएको हुनसक्ने आफैलाई अदृश्य बनाउन सकिने सुटको बारेमा चर्चा गरौँ । तपाईँलाई अहिल्यै लागिसक्यो होला कि त्यस महिलाको श्रीमानले यो सुट लगाएर आएको हुन्छ । तर “जे पनि हुन सक्छ” किनकी यो रहस्यमयी थ्रिलर फिल्म हो । 

यस्तो सुट संसारमा आजसम्म कसैले बनाउन सकेको छैन । तर यस्तो सुट बनिहालेमा कस्तो प्रकारको प्रविधिको प्रयोग हुन्छ त भन्नेबारे छोटो चर्चा गर्नु यहाँ राम्रो होला । 

यस्तो सुट बनाउनको लागी पराभौतिक वस्तु, प्रकाशको चलाकीपुर्ण नियन्त्रण (manipulation of light) र अरुलाई झुक्याउने अनेकखाले प्रविधिहरुको प्रयोग गर्न सकिने अनुसन्धाताहरुको बुझाई छ । 

कतिपय वैज्ञानिक र अनुसन्धाताहरुले प्रकाशको चलाकिपूर्ण नियन्त्रणद्वारा कुनै वस्तुको कुनै भागलाई खास तरङ्ग लम्बाई (wave length) भित्र अदृश्य पार्न सकिने बताउँछन् । यद्यपी मानिसको आकारको पूरै भागलाई अदृश्य बनाउन सकिने प्रविधिको भने अहिलेसम्म विकास भैसकेको छैन । 

“असम्भव भन्ने कुरा केही पनि छैन” भनिन्छ । आजको इन्टरनेट, सोसल मिडिया, भिआर इत्यादीको दुनियाँ यसअघि कसैले पनि सोचेको थिएन तर यी सब आज यथार्थ भएका छन् । 

मानिसलाई नै अदृश्य बनाइदिने प्रविधि पनि भविष्यमा नबन्ला भन्न सकिन्न । तर त्यो बने पनि स्मार्टफोन जस्तो सजिलै पाइने गरि बनाउनेले बनाउला कि नबनाउला भन्ने कुरामा चाहीँ शंकै छ ।

तपाईँलाई रहस्यमयी थ्रिलर फिल्म हेर्न मन लागेको छ भने यो फिल्म हेर्नुस् । पक्कै राम्रो लाग्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.