पछिल्लो ५० वर्षमा संसारलाई सबैभन्दा ठूलो योगदान पुर्याएको भनेको सिलिकन भ्याल्ली हो भन्दा फरक नपर्ला । सिलिकन भ्याल्लीमा पनि एउटा यस्तो चर्चित अनौपचारिक समूह छ जसलाई “पेपल माफिया” को नामले चिनिन्छ ।
पेपल (PayPal) माफिया भनेको सिलिकन भ्याल्लीका उद्यमीहरूको त्यो समूह हो जो ९० को दशकमा पेपलमा लगभग सबैले कार्यकारी भूमिका निर्वाह गरेका थिए । सन् २००७ मा फर्चुन पत्रिकाले एउटा आर्टिकल लेखेपछि “पेपल माफिया” भन्ने शब्दले व्यापकता पाएको थियो ।
यो समूहमा त्यस्ता मानिसहरू छन् जो सधैँ जोखिम मोल्न, संस्थापनको विरोध गर्न, नवीन सोचलाई साकार पार्न र प्रविधि जगतमा अभूतपूर्व उत्पादन ल्याउनको लागी प्रख्यात छ । यो समूहले प्रविधि जगतमा धेरै ठूलो योगदान पुर्याएको छ ।
साथै यिनीहरू प्राय: सबै या त स्ट्यानफोर्ड युनिभर्सिटि वा युनिभर्सिटि अफ इलिनोइ अर्ब्याना च्याम्पेनमा पढेका थिए ।
पेपलमा सँगै काम गरेतापनि यो समूह पछि छुट्टिएर आ-आफ्नै छुट्टै स्टार्टप खोल्न तिर लागे र प्राय: सबैको कम्पनी अरबौँ डलरको हुन पुग्यो ।
आज हामी तपाईँलाई पेपल माफियाको बारेमा सङक्षिप्त जानकारी दिदैछौँ । यो समूहमा को-को थिए ? यिनीहरूले समयक्रममा के-के गरे ? अहिले यिनीहरू के-के गर्दैछन् ? जस्ता प्रश्नका उत्तरहरू तपाईँले थाहा पाउनु हुनेछ ।
पेपल माफियामा को-को छन् ?
पिटर थियलका अनुसार पेपल माफियाका सदस्यहरू मोटामोटी २२० जना थिए । ती मध्ये आज सबैभन्दा प्रख्यात नामहरू एलन मस्क, पिटर थियल, म्याक्स लेवचिन, स्टिभ चेन, चाड हर्ली र जावेद करिम हुन् ।
यिनीहरू सबैको कम्पनीले बजार मूल्य १ अर्ब डलरभन्दा बढी पाएका छन् । “माफिया” शब्दले भने सिलिकन भ्याल्लीमा यिनीहरूको शक्तिलाई जनाउँछ । यिनीहरूले के गर्न सक्थे ? कति शक्तिशाली कम्पनीहरू खोलेका थिए ? इत्यादी ।
तिनीहरूले आपसी सहकार्य र लगानीबाट सिलिकन भ्याल्लीकै सबैभन्दा शक्तिशाली, प्रभावशाली र धनी कम्पनीहरू खोल्न सफल भएका थिए ।
पेपल माफियाका सदस्यहरूले के-के गरे र अहिले के गरिरहेका छन् ?
पेपलका संस्थापक पिटर थियललाई नै पेपल माफियाका “डन” ठानिन्छ । उनले सन् १९९९ मै पेपल लञ्च गरेका थिए र इबे (eBay) ले यसलाई प्राप्ति गरेपछि यिनी फाउण्डर्स फण्ड नामक भेन्चर क्यापिटल फर्म खोल्नतिर लागे जसले SpaceX र Airbnb जस्ता कम्पनी लञ्च गर्न सहयोग पुर्यायो ।
साथै थियलले सुरूवाती चरणमा फेसबुक, लिङ्क्डइन, येल्प जस्ता प्रख्यात कम्पनीहरूमा समेत लगानी गरेका थिए ।
पेपलमा चिफ टेक्नोलोजि अफिसरको रूपमा काम गरेका म्याक्स लेवचिन चाहिँ “डन” को सल्लाहकार मानिन्छन् । उनी येल्पको सन् २००४ देखि २०१५ सम्म अध्यक्ष रहे । उनी अहिले पेमेन्ट प्ल्याटफर्म “एफर्म” का सिईओ रहेका छन् ।
केन होवेरीले सन् १९९८ देखि २००२ सम्म चिफ फिनान्सियल अफिसरको रूपमा काम गरे । पछि थियलसँगै फाउण्डर्स फण्ड खोलेका उनलाई डोनाल्ड ट्रम्पले स्विडेनको राजदूतको रूपमा नियुक्त गरेका थिए ।
सबैभन्दा चर्चित नाम एलन मस्क नै हो जसले ट्विटरलाई X नाम राख्ने बताएपछि नै फेरी पनि “पेपल माफिया” चर्चामा आएको हो । उनले उहिल्यै X.com नामक पेमेन्ट कम्पनी खोलेका थिए र थियलको कनफाइनिटी कम्पनीसँग मर्ज भएपछि पेपलको सिईओको रूपमा छोटो समय काम पनि गरे ।
पछि उनी टेस्ला, स्पेशएक्स, स्टारलिङ्क जस्ता महत्वाकांक्षी कम्पनीको स्थापनातर्फ लागे । हालसालै चर्चित च्याटजिपिटि बनाएको कम्पनी ओपनएआइमा समेत उनले लगानी गरेका थिए । केही महिना अगाडी ट्विटर किनेका उनी हाल संसारकै सबैभन्दा धनी व्यक्ति हुन् ।
पेपलमा उपाध्यक्षको रूपमा काम गरेका ल्युक नोसेक पछि सन् २००५ मा थियलसँगै फाउण्डर्स फण्डमा जोडिए र सन् २०१७ मा छोडे । त्यसपछि उनी गिगाफण्ड नामक लगानी फर्म खोलेर मस्कको स्पेशएक्सको लागी लगानी जुटाउन पुगे । उनी अहिले स्पेशएक्सको बोर्ड सदस्य पनि छन् ।
पेपलको कर्पोरेट डेभलपमेन्टको डिरेक्टर रहेका रोलेफ बोथा अहिले सेकोआ क्यापिटल नामक भेन्चर क्यापिटल फर्म खोलेर बसेका छन् । उनी प्रविधि जगतमा सबैभन्दा ठूला लगानीकर्ता मध्येमा पनि गनिन्छन् । उनको फर्मले एप्पल, गूगल, युट्युब र इन्स्टाग्राम जस्ता चर्चित प्रोजेक्टमा लगानी गरेको थियो ।
पेपलको बोर्ड अफ डिरेक्टरको रूपमा काम गरेका रेड हफम्यानले लिङ्क्डइन खोले । उनी पनि प्रविधि जगतमा धेरै लगानी गर्ने मध्येमा पर्छन् । फेसबुक, फ्लिकर, केयरडटकम लगायतमा सुरूवाती चरणमा उनले पनि लगानी गरेका थिए । सन् २०१७ मा उनी माइक्रोसफ्टको बोर्डमा आबध्द भएका थिए ।
पेपलका चिफ अपरेटिङ अफिसर रहेका डेभिड स्याक्सले जेनिडटकम र जेनिफिट्सको स्थापना गरे । उनले Airbnb, Postmates, Slack लगायतमा लगानी गरे । साथै उनले क्राफ्ट भेन्चर्स नामक लगानी फर्म पनि खोलेका थिए ।
जावेद करिम, चाड हर्ली र स्टिभ चेन पेपलमा सँगै काम गरेका थिए । यिन तीनजना मिलेर पछि युट्युबको स्थापना गरे । अहिले उनीहरू फाइनान्स देखि सङ्गीत सम्मका विभिन्न प्रोजेक्टहरूमा लगानी गरिरहेका छन् ।
पेपलमा थियलको सहयोगीका रूपमा काम गरेका एन्ड्र्यु मेक्कर्म्याकले पछि सन् २००८ मा थियल क्यापिटलमा ५ वर्ष काम गरे । थियलसँगै मिलेर भ्यालर भेन्चर्स खोले जसले युरोप र क्यानडामा समेत लगानी गर्छ ।
पेपलमा कार्यकारी उपाध्यक्षको रूपमा काम गरेका किथ र्याबोइले पछि लिङ्क्डइनमा पनि उपाध्यक्षको रूपमा काम गरे । साथै उनले स्क्वायरमा सुरूवाती चरणमा पनि लगानी गरेका थिए । त्यहाँ उनले चिफ अपरेटिङ अफिसरको रूपमा काम गरेका थिए ।
पेपलमै सँगै काम गरेका रस्सेल साइमन्स र जेरेमी स्टपेलम्यानले पछि येल्पमा लगानी गरे । साइमनले येल्प पछि छोडे भने स्टपेलम्यान सिईओको रूपमा काम गरे ।
पेपलमा कर्पोरेट अ्याण्ड इन्टरन्याशनल डेभलपमेन्टको रूपमा काम गरेका ज्याक सेल्बी थियलसँग मिलेर क्ल्यारियम क्यापिटल म्यानेजमेन्ट खोले । अहिले उनी थियल क्यापिटलका म्यानेजिङ डाइरेक्टर छन् ।
पेपलमा मार्केटिङ डाइरेक्टरका रूपमा काम गरेका डेभ मेक्ल्युर ले पछि 500 Startups खोले ।
पेपलमा इन्जिनियरिङ म्यानेजरको रूपमा काम गरेका यिशान वङले सन् २०११ देखि २०१४ सम्म रेडिटको सिईओको रूपमा काम गरे ।
साथै जेसन पर्टनोय, प्रेमल शाह, डेभिड गजबेक, जो लन्सडेल, एरिक ज्याकसन लगायतका पेपलमा काम गरेका व्यक्तिहरू अहिले विभिन्न टेक वा गैरटेक कम्पनीहरूमा आबध्द छन् ।