द सोसल डिलेमा – – सोसल मिडिया पछाडिको अँध्यारो पाटोबारेको डक्युमेन्टरी

THE SOCIAL DILEMMA

आफ्नो ग्राहकलाई “प्रयोगकर्ता” भन्ने उद्योगहरू केबल दुईटा मात्रै छन् : अवैध ड्रग र सफ्टवेयर ।

— एडवार्ड टुफ्टे

यदि तपाईंले कुनै उत्पादनको लागी पैसा तिर्नुभएको छैन भने तपाईंआफै नै उत्पादन हो ।

माथिका दुई चर्चित भनाइहरू सन् २०२० को बहुप्रशंसित डक्युमेन्टरी द सोसल डिलेमामा पनि प्रयोग भएका छन् र तपाईंले सहजै अनुमान गर्नुभयो होला कि यो फिल्म सोसल मिडिया अर्थात् सामाजिक सञ्जालहरूको पछाडि हुने अँध्यारो पाटोबारेको हो जुन आम मानिसहरूलाई थाहा पनि हुँदैन र लुकाउन पनि खोजिन्छ । 

यो फिल्ममा मूलत: प्रविधि जगतमा अकल्पनीय प्रगति गरेर संसारमा कायापलट ल्याइदिएको अमेरिकाको प्रविधिको राजधानी मानिएको सिलिकन भ्याल्लीका प्रख्यात कम्पनीहरूमा कुनै बेला ठूलै जिम्मेवारीमा केही वर्ष काम गरेर अहिले अन्तै काम गरिरहेका केही प्राविधिज्ञहरूले सोसल मिडियाको अँध्यारो पाटोको बारेमा खुलासा गरेका छन् ।

हुन त सोसल मिडियाका यस्ता कुराहरू पहिले पनि बाहिर नआएका हैनन तर गूगल, फेसबुक, इन्स्टाग्राम, ट्विटर, पिइन्ट्रेष्ट जस्ता ठूला कम्पनीमा काम गरिरहेका प्राविधिज्ञहरूलाई नै एकैसाथ यसरी कुनै फिल्ममा ल्याएर यति सजिलै बुझिने गरी योसम्बन्धी बनाइएको डक्युमेन्ट्री यही नै होला । 

ती प्राविधिज्ञहरूका अनुसार सोसल मिडियामा तपाईंले जे गर्नुहुन्छ, ती सबै कुराहरू निगरानी गरिएको हुन्छ र तिनको रेकर्ड राखिन्छ । सोसल मिडियाको अ्याल्गोरिदम नै यसरी बनाइएको हुन्छ ताकी तपाई्ं धेरैभन्दा धेरै यसको लतमा फस्नुहोस् र विज्ञापन देखाएर तिनले पैसा कमाउन सकुन् ।

जर्ज अर्वेलको 1984 मा बिग ब्रदरले सबै कुराको निगरानी र नियन्त्रण गरेजस्तै सिलिकन भ्याल्लीका यी टेक कम्पनीहरूले संसारभरका गरेर २ अर्ब भन्दा बढी मानिसहरूको विचार, गतिविधि, रूचि, स्थान लगायत थुप्रै कुराहरूको प्रत्येक सेकेण्ड निगरानी गरिरहेका हुन्छन् । 

एकजनाले त यतिसम्म भने कि पहिलेपहिलेका फिल्महरू, जस्तै द टर्मिनेटर, मा जसरी एआइले मानिसलाई आफ्नो नियन्त्रण र दबदबामा राख्ने गरेको देखाउने गर्थ्यो, त्यो अहिले वास्तविकता भैसकेको छ अर्थात् अहिले संसारलाई धेरै हदसम्म एआइले चलाईरहेको छ ।

सोसल मिडियाले आफ्ना २ अर्ब प्रयोगकर्ताहरू प्रत्येकको लागी छुट्टाछुट्टै डिजिटल संसारको सिर्जना गरिरहेको हुन्छ ताकी ऊ आफ्नो पूर्वाग्रह र झुकावहरूमा पूर्णत: डुबिदिन्छ । यिनले यस्तो पृथक मोडल बनाएका हुन्छन् जसलाई तपाईँको बारेमा धेरैभन्दा धेरै सूचना हुन्छ र तपाईँका आगामी गतिविधिहरूबारे ट्याक्कै मिल्ने खालका भविष्यवाणी गरिदिन्छन् । 

सोसल मिडियाको लागि “सत्य” भन्ने कुराको कुनै अर्थ नै हुँदैन । यसको लागि सत्य र झुट उत्तिकै महत्वपूर्ण हुन्छ किनकी यसको मूख्य उद्देश्य भनेको प्रयोगकर्तालाई आफ्नो प्ल्याटफर्ममा धेरैभन्दा धेरै समय बिताउने लतको विकास गर्नु र तिनलाई विज्ञापन देखाएर मालामाल पैसा कमाउनु हो । 

एकजनाले एउटा डरलाग्दो दृष्टान्त दिएका छन् । जस्तै विकिपिडियामा हरेक मानिसले पाउने सूचना उही हुन्छ किनकी यो तथ्यमा आधारित हुन्छ तर सोसल मिडियामा पाइने सूचनाहरू हरेक मानिसको लागि पृथक हुन्छ, मूलत: तिनको न्युजफीड । 

अर्थात् प्रत्येक मानिसले आफ्नो न्युजफीड पृथक रूपमा पाइरहेको हुन्छ र उसको आफ्नै पूर्वाग्रहलाई पोषण प्रदान गरिरहेको हुन्छ । यदि विकिपिडिया पनि त्यस्तै भयो भने कस्तो होला ? के त्यहाँ सत्यको कुनै माने रहन्छ ? 

हो, यसरी नै सोसल मिडियाले प्रत्येक मानिसलाई तिनीहरु आफैले जे चाहन्छन् त्यही दिइरहेका हुन्छन् , तथ्य वा सत्यको तिनलाई कुनै मतलब नै हुँदैन । 

यो डक्युमेन्ट्रीले पछिल्लो दशकमा भएका थुप्रै सामाजिक र राजनीतिक घटनाक्रमहरूको कारकतत्व पनि सोसल मिडियाको अ्याल्गोरिदम नै भएको बताएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनु, म्यानमारमा रोहिङ्ग्याको आम नरसंहार, भारतमा भएका दङ्गा इत्यादि यसैको असर रहेको तिनको दाबी छ । 

अमेरीकामा सोसल मिडियाको प्रयोग ह्वात्तै बढ्न थालेको भनेको सन् २०१० पछि हो । मूलत: किशोरकिशोरीहरू यसको लतमा ड्रगको नशामा भन्दा बढी फसेका थिए । यो समयपछि नै सोसल मिडियाको प्रयोग अत्यधिक बढेसँगै डरलाग्दो हिसाबले अमेरिकामा किशोरकिशोरीहरूमा डिप्रेशन र आत्महत्या ह्वात्तै बढेको तथ्याङ्क पनि यसमा देखाइएको छ । 

यो फिल्ममा मूलत: माथि भनिएझैँ सिलिकन भ्याल्लीका ठूला कम्पनीहरुमा काम गरेका र भित्री सूचनाहरू थाहा भएका प्राविधिज्ञहरूले कसरी यी कम्पनीहरुले अरबौँ मानिसहरूलाई यिनको सफ्टवेयरको लतमा फसाएर तिनलाई ज्युँदो लासजस्तो बनाएका छन् भन्नेबारे बताएका छन् ।

यद्यपि यो फिल्मले निकै गम्भीर कुराहरूको उठान गरेको छ तर यसका थुप्रै विचारहरूमाथि प्रश्नचिह्न पनि खडा गर्न सकिन्छ। 

जस्तै कुनै कम्पनीसँग धेरै डेटा भयो भन्दैमा तिनले हाम्रो बारेमा सही भविष्यवाणी गर्न सक्छन् भन्ने हुँदैन । न त त्यसको उचित फाइदा तिनले उठाउन नै सक्छन् भन्ने ग्यारेन्टी छ । 

जस्तै उदारहणको लागि गूगल र फेसबुक आउनुभन्दा अगाडि याहु, हटमेल, माइस्पेशजस्ता मेसेजिङ सोसल मिडिया थिए र तिनीहरूसँग जति सूचना अरू कसैसँग पनि थिएन । तर तिनले त्यसको के फाइदा उठाए त ? हेर्दाहेर्दै तिनको उपादेयता नै सक्कियो । गूगल र फेसबुकले रातारात बजार पिटे । 

अहिले गूगल र फेसबुकसँग जति डेटा अरू कसैसँग पनि छैन होला तर टिकटक तिनको लागि ठूलो चुनौती बनिरहेको छ । जबकी टिकटकसँग त्यस्ता कुनै डेटाहरू नै थिएनन् । च्याटजिपिटिले गूगललाई सक्काउने भविष्यवाणी समेत प्रविधि जगतका हस्तीहरूले गरेका छन् जबकी गूगल भनेको सूचनाको सबैभन्दा ठूलो खानी हो । 

भन्न खोजेको कुरा के भन्दा, धेरै डेटा हुँदैमा त्यसले त्यसको सही उपयोग गर्छ भन्ने ग्यारेन्टी हुँदैन । डिजिटल मार्केटिङकै कुरा गरौँ न । अमेरिका र युरोपमा थुप्रै गम्भीर स्वतन्त्र अध्ययनहरूले के देखाएका छन् भने डिजिटल मार्केटिङको दाँजोमा परम्परागत विज्ञापन धेरै प्रभावकारी हुन्छन् । 

अर्को कुरा, हिजो जे भयो, भोलि पनि त्यस्तै हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । हिजोका कुराहरूको मूल्याङ्कन गरेर भोलिको भविष्यवाणी गर्न सकिदैन । 

जस्तै नोकियासँग संसारको अरू जुनसुकै फोन कम्पनीको भन्दा बढी सूचना थियो र त्यही अनुसार अनुमान गरेर ऊ अघि बढेको थियो । तर स्मार्टफोनको युग आउला भनेर उसले भेउ पाउन सकेन । यस्ता उदारहण टन्नै छन् । 

त्यस्तै अर्को प्रश्न पनि गम्भीर छ । कार्यकारणको सम्बन्धलाई यसमा गलत रूपमा देखाइएको पनि हुनसक्छ । जस्तै विभिन्न खालका सामाजिक-राजनीतिक घटना वा दुर्घटनाको एकमात्र कारकतत्व यिनै सोसल मिडियाको अ्याल्गोरिदलाई देखाइनु गलत हुनसक्छ किनकी थुप्रै शक्तिहरूले तिनमा काम गरिरहेका र प्रभाव पारिरहेका हुन्छन् । 

त्यसमाथि मानिसको मनको भेउ पाउनु ज्यादै गाह्रो वा भनौँ असम्भव काम हो । मानिसको स्वभाव र गतिविधि लगातार परिवर्तन भइरहेको हुन्छ । अनलाइनमा उसले गरेका गतिविधिको मूल्याङ्कन गरेर मानिसको मूल्याङ्कन गर्नु ठूलो गल्ती पनि हुनसक्छ किनकी उसको अनलाइन गतिविधि कति चाँडै कहिले परिवर्तन हुन्छ, ती सोसल मिडियाले थाहा नै पाउन सक्दैनन् । 

यी यावत प्रश्नहरूका बाबजुद पनि फिल्म हेर्न लायकको छ । यसले सोसल मिडियाले हामीलाई पार्नसक्ने नकारात्मक असरहरूबारे मनन गर्न लगाउँछ र सिलिकन भ्याल्लीमा सोसल मिडियाको नाममा के भैरहेको छ भन्ने थाहा दिन्छ । 

सोसल मिडियाले मानिसहरूमाथि गरिरहेको निगरानी र नियन्त्रणको बारेको अँध्यारो पाटोको बारेमा गम्भीर कुराहरूको जानकारी यो डक्युमेन्ट्रीबाट तपाईंले थाहा पाउनुहुन्छ । 

हेर्न ढिला नगर्नुस् । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.