फेसबुकको माउ कम्पनी मेटाले सोसल मिडियाको दुनियाँमा ट्विटरलाई टक्कर दिने मनसायले नयाँ अ्याप “थ्रेड्स” ल्याएका छन् । कम्पनीका मालिक मार्क जकरबर्गका अनुसार थ्रेड्सले केबल सात घण्टामा नै १ करोड प्रयोगकर्ता पाइसकेको बताएको छ ।
यति चाँडै थ्रेड्सले पाएको यो सफलता स्वभाविक पनि हो किनकी इन्स्टाग्राम जस्तो लोकप्रिय अ्यापको अकाउण्टबाटै यो सजिलै लग इन गर्न सकिन्छ र त्योसँग सिङ्क पनि हुन्छ । त्यसमाथि मेटा जस्तो कम्पनीको उत्पादन हो यो जसकारण प्रचार गर्न धेरै नै सजिलो पनि भयो ।
यसअघि जकरबर्गले टिकटकसँग प्रतिस्पर्धा गर्नको लागी त्यस्तै खालको अ्याप “रिल्स” ल्याएका थिए जुन फेसबुकमा पनि उपलब्ध छ र त्यसको पनि प्रयोगकर्ता ह्वात्तै बढेको थियो र अहिले सर्वाधिक चलाइने अ्याप मध्येमै पर्छ ।
छाँट हेर्दा थ्रेड्स पनि ट्विटरको ठुलै प्रतिस्पर्धी बन्ला जस्तो देखिएको छ किनकी पहिलो कुरा त यसका टन्नै प्रयोगकर्ता हुने पक्का छ र दोस्रो कुरा यो लगभग ट्विटर नै जस्तो पनि छ । मस्क आफैले पनि थ्रेड्सलाई ट्विटरबाट चोरिएको आरोप लगाएका छन् ।
यो पनि पढ्नुहोस्: नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ता कति छन् ?
मस्क र जकरबर्गबीचको यो “पछिल्लो” प्रतिस्पर्धा पनि हो । वा भनौँ देखिएरै आएको स्वस्थ प्रतिस्पर्धा ।
एलन मस्कले मार्क जकरबर्गलाई केहि समय अघि सिङ्गल-सिङ्गल रेस्लिङ खेल्नको लागी चुनौती देिएका थिए र लगत्तै जवाफ स्वरूप जकरबर्गले समय र ठाउँ तोक्नको लागी मस्कलाई भनेका थिए ।
मस्कले ट्विटरका कतिपय फिचरहरू प्रयोग गर्नको लागी पैसा तिर्नुपर्ने व्यवस्था गरिरहेका बेला उता जकरबर्गले भने सित्तैमा ट्विटर जस्तै अ्याप ल्याएका छन् र मानिसहरूलाई आफ्ना विचार राख्नको लागी झन्झन् सजिलो पार्नुपर्ने बताएका छन् ।
जकरबर्गले मस्कको सन्कि निर्णयको भरपुर फाइदा उठाउलान् जस्तो छ किनकि उनले थ्रेड्सलाई धेरैभन्दा धेरै प्रयोगकर्तामाझ पुर्याउनको लागी अ्याक्टिभिटिपबमा जोडिने र थ्रेड्सको अकाउण्ट नै नभएकाले पनि यसमा अन्तरक्रिया गर्न मिल्ने पार्दैछन् ।
यो पनि पढ्नुहोस्: नथिंग फोन कम्पनीका संस्थापकबारे रोचक तथ्य !
जकरबर्गले इन्स्टाग्राममा लेखेका छन्, “संवादको लागी खुला र मैत्रीपूर्ण सार्वजनिक स्थान थ्रेड्समा जोडिनुस्। हाम्रो दृष्टिकोण भनेको इन्स्टाग्रामका सर्वोत्कृष्ट पक्षहरूलाई लिने र टेक्स्ट, विचार र तपाईँको दिमागमा भएका कुरको छलफलको लागी नयाँ अनुभव सिर्जना गर्ने हो । मलाई लाग्छ संसारलाई यस्तो खालको मैत्रीपूर्ण समुदाय चाहिन्छ र म पहिलो दिनदेखि नै थ्रेड्सको अंश हुनुभएका सबैजना प्रति कृतज्ञ छु ।”
त्यसपछि जकरबर्गले थ्रेड्सको आफ्नो आधिकारिक अकाउण्टबाट लेखेका थिए, “पहिलो ४ घण्टामा ५० लाख साइन-अप कट्यो ।”
यो पनि पढ्नुहोस्: कुन कम्पनी हो च्याट जिपिटि निकाल्ने ?
उता ट्विटरमा अर्को रोचक घटना घटेको छ । जकरबर्गले योभन्दा अघि ट्विटरमा सन् २०१२ को जनवरीमा मात्रै पोष्ट गरेका थिए । तर अहिले आएर सन् २०२३ को जुलाई ६ मा एउटा रमाइलो तर गम्भीर पोष्ट गरेका छन् ।
त्यो पोष्टमा उनले स्पाइडर म्यान अ्यानिमेको “डबल आइडेन्टिटि” एपिसोडको एउटा इमेज अपलोड गरेका छन् । त्यसमा दुईटा स्पाइडरम्यान हुन्छ जसमा एकले अर्कालाई नक्कली भएको आरोप लाउँदै औँला तेर्स्याएका छन् । सामाजिक सञ्जालमा यो निकै चर्चित मिम बनेको छ ।
जकरबर्गको यो “सेन्स अफ ह्युमर” लाई उनका फलोवरहरूले तीन घण्टामै ५५ लाख पटक हेरिएको छ । यो खासमा मस्कलाई जिस्क्याएको रूपमा पनि लिन सकिन्छ र शायद उनले त्यसै गरेका हुनसक्छन् ।
उता संसारकै सर्वाधिक धनी व्यक्ति एलन मस्कले भने खासै प्रतिक्रिया दिएका छैनन् । तर एक प्रयोगकर्ताले थ्रेड्स ट्विटरको कपि भएको र यसमा खासै मेहनत नै नपरेको पोष्ट गर्दा मस्कले हाँसेको ईमोजी मार्फत् प्रतिक्रिया दिएका थिए ।
त्यस्तै ट्विटरले आफ्नो एक वकिलमार्फत् मेटाका मालिक जकरबर्गलाई एउटा चिठि पठाएर मुद्दा हाल्ने धम्कि दिएको छ । ट्विटरका अनुसार उसका त्यस्ता पूर्व कर्मचारीहरू भर्ती गरेर थ्रेड्स बनाइएको छ जसलाई ट्विटरका ब्यापारिक गोप्यताहरू र गोपनीय जानकारीहरू थाहा छ ।
मस्क र जकरबर्गको यो लडाईँ कतातिर जाला भन्ने कुरा आगामी दिनहरूमा थप रोचक हुनेछ ।