क्रियटरका लागी टिकटक कि युटुब 

tiktok vs youtube

लामो समयदेखि क्रिएटरहरूको लागि लामो भिडियो अपलोड गरेर विज्ञापन मार्फत् पैसा कमाउने सबैभन्दा राम्रो र सम्भवत: एउटै मात्रै (धेरैको लागी) प्ल्याटफर्म थियो । तर सन् २०१८ देखि जब टिकटक आयो, यो फेसबुकको लागि मात्रै हैन, युट्युबको लागि पनि ठूलो प्रतिस्पर्धी बनिदियो । 

हुन त थुप्रै क्रिएटरहरूको लागि अझै पनि (खासगरी लामो भिडियो बनाउनेको लागि) युट्युब अझै पनि फलोवर बढाउने, मार्केटिङ गर्ने, कन्टेन्ट क्रिएट गर्ने लगायतका कामका लागि महत्वपूर्ण छ तर टिकटकले वातावरण चाहीँ पूरै फेरिदिएको छ र ठूला स्टारहरू समेत आजकाल टिकटकमा रम्न थालेका छन् । 

हुन त कन्टेन्ट क्रिएटर सफल हुनको लागि धेरै भन्दा धेरै प्ल्याटफर्ममा फलोवर बढेको, आफ्नो उपस्थिति बढेको राम्रो कुरा हो तर वर्षौँदेखि एउटा चर्चित विवादले संसारभरी चर्चा पाएको छ – – क्रिएटरको लागि टिकटक राम्रो कि युट्युब ? 

हो, हामी यही विवादमा हामीलाई थाहा भएका कुराहरु तपाईंको सजिलोको लागि पस्किदैछौँ । अन्त्यसम्म पढेर आफै निर्णय गर्नुहोला । 

राम्रा र नराम्रा पक्षहरू

सबैभन्दा पहिला यी दुई प्ल्याटफर्मका राम्रानराम्रा पक्षहरूको चर्चा गर्दा नै राम्रो होला ।

युट्युब

युट्युबमा क्रिएटरले बीचबीचमा आउने विज्ञापनबाट पैसा कमाउँछन् । यसले प्रति महिना २ अर्ब प्रयोगकर्ता पाउने गर्छ । साथै यसमा तपाईंले केमा राम्रो गरिरहनुभएको छ र केमा सुधार गर्नुपर्छ भन्ने कुराको मूल्याङ्कन गरिएको मेट्रिक हेर्न पाउनुहुन्छ जसले तपाईंलाई धेरै सघाउ पुर्याउँछ । 

यसको नराम्रो पक्षमा चाहिं यसमा सीमित क्रिएटर टूलहरू मात्रै छन् । यसमा भिडियो अपलोड गर्नुअघि तपाईँले अरू नै सफ्टवेयरमार्फत् धेरै नै सम्पादन गर्नुपर्ने हुन्छ । यसमा गीतसङ्गीतको कपिराइटको कुरा महत्वपूर्ण हुन्छ र सीमित मात्रै प्रयोग गर्न पाउनुहुन्छ । साथै हजारौँ प्रयोगकर्ताको माझमा पृथक रहेर अगाडी आउन गाह्रो छ । 

टिकटक

टिकटकको अल्गोरिदमको कारण यसमा क्रिएटरहरू भाइरल हुने सम्भावना अत्यधिक हुन्छ । नयाँदेखि पुरानासम्म निकै ठूलो दायराका गीतसङ्गीतको प्रयोग यसमा तपाईंले गर्न सक्नुहुन्छ । स्टिच र डुएटजस्ता फिचरहरूका कारण यसमा प्रयोगकर्ता झुम्मिने सम्भावना धेरै हुन्छ भने यसमा भिडियो बनाउन केबल मोबाइल वा ट्याबलेट भए पुग्छ ।

यसको नराम्रो पक्षको कुरा गर्नुपर्दा पैसो कमाउने बाटोहरू कम छन् । आफ्नो प्रगति कस्तो भैरहेको छ भन्ने हेर्नको लागी सीमितता छ र पूरै हेर्नको लागि त बिजनेस अकाउण्ट नै खोल्नुपर्ने हुन्छ । छोटो भिडियो मात्रै अपलोड गर्न पाइने भएकोले सुरूदेखि नै दर्शकको मन तानिरहने पार्न सक्नुपर्छ । 

पैसा कमाउने तरिका

क्रिएटरको लागि पैसा सबैभन्दा महत्वपूर्ण हुन्छ किनकी यो बिना टिक्न त गाह्रो छ नै, थप लगानी चाहिने भिडियोहरू बनाउन पैसा बिना असम्भव नै छ । यी दुबैमा पैसा कमाउने तरिकामा केही फरक छन् ।

युट्युब

यसमा पहिलो कुरा त गूगल अ्याड सेन्स (Google AdSense) बाट पैसा कमाइन्छ भनेर प्राय: सबैलाई थाहा भएकै कुरा हो । हामीले भिडियो हेर्दा बीच, सुरू वा अन्त्यतिर विज्ञापन देखाइन्छ जसबाट उठेको रकमको केही हिस्सा क्रिएटरले पाउने सम्झौता गूगलसँग गरिएको हुन्छ ।

अर्को तरिका भनेको टिकटकलाई चुनौती दिने उद्देश्यले खोलिएको युट्युब शर्ट्स (YouTube Shorts) बाट हो । यसको १० करोड डलरको एउटा फन्ड छ जसमार्फत् क्रिएटरले हरेक महिना १०० देखि १० हजार डलरसम्म पैसा पाउन सक्छन् । पैसा तपाईंको शर्ट भिडियोको पर्फमेन्समा भर पर्छ ।

टिकटक 

टिकटकले ३ वर्षको अवधिमा आफ्ना टप क्रिएटरहरूलाई १ अर्ब डलर दिने प्रतिज्ञा गरेको छ । तपाईँले कति पाउनुहुन्छ भन्ने कुरा तपाईंको भिडियोले दर्शकलाई टिकटकमा कत्तिको बाँधेर राख्न सक्छ भन्ने कुरामा भर पर्छ । प्रति हजार भिउ बराबर २ देखि ४ सेन्टसम्म पाइने यो सुविधा भने अमेरिका, बेलायत, जर्मनी, इटाली, फ्रान्स र स्पेनमा बस्नेहरूको लागी मात्रै उपलब्ध छ ।

अर्को नेपालीहरू माझ प्राय: सबैलाई थाहा भएकै कुरा हो कि यसमा क्रिएटरका फलोवरहरूले गिफ्टको रूपमा पैसा दिन सक्छन् जसलाई उनीहरूले आफ्नो खातामा सार्न सक्छन् । टिकटक लाइभमा बसेर विभिन्न गतिविधि गर्दै यदी लामो समयसम्म आफ्ना समर्थकलाई टिकटकमै झुम्मिने पार्न सक्नुहुन्छ र पैसा दिने बनाउन सक्नुहुन्छ भने यो सुविधा तपाईंको लागि उपयोगी हुन्छ ।

अर्को उपाय भनेको भिडियोसँगै क्रिएटरले कुनै विज्ञापन हाल्न पाउनेछन् जसबाट उठेको रकमको आधा हिस्सा उनीहरूले पाउनेछन् । यसलाई टिकटक पल्स भनिन्छ र शीर्ष ४% भिडियोहरूले मात्रै यस्तो सुविधा पाउनेछन् ।

अल्गोरिदम

दुईटै प्ल्याटफर्ममा प्रयोग गरिएका अल्गोरिदमहरू आफ्नै हिसाबले उत्कृष्ट भएतापनि टिकटकमा चाँडै भाइरल हुने सम्भावना भएको माथि नै लेखिसकियो । यसबारे थप विस्तृतमा केही कुरा गर्दा राम्रो होला । 

युट्युब

गूगल सर्च ईन्जिनको जस्तै युट्युबको अल्गोरिदम पनि धेरै हदसम्म रहस्यमयी छ र यो लगातार परिवर्तन भैरहन्छ । हरेक मिनेट ५०० घण्टाको भिडियो अपलोड भैरहने यो प्ल्याटफर्ममा चर्चित हुनको लागि र सर्च गरे अनुसार भिउज बढाउनको लागि धेरै नै गाह्रो छ । 

सोसल मिडिया इक्जामिनरको अध्ययनानुसार ७ देखि १५ मिनेटको भिडियो सबैभन्दा हिट हुने गर्दछ तर त्यो कुरा पूर्णत: सत्य नहुन पनि सक्छ किनकी युट्युबले पछिल्लो वर्ष छोटा भिडियो अपलोड गर्न मिल्ने युट्युब शर्ट्स पनि ल्याइसकेको छ। युट्युबका प्रडक्ट म्यानेजर पीयर्स भोलुचिका अनुसार छोटा भिडियो खासै नबनाउनेको भन्दा छोटालामा दुइटै खालका भिडियोहरु बनाउनेले धेरै राम्रो गरेको बताएका छन् । 

टिकटक

टिकटकको अल्गोरिदम विशेष छ । यसमा प्रयोगकर्ताको गतिविधि, सर्च, अन्तरक्रिया, डिभाइस, अकाउण्ट सेटिङ्स इत्यादीलाई ध्यानमा राखेर हरेक प्रयोगकर्ताको लागि छुट्टै खालका भिडियोहरू देखिने खालको हुन्छ जुन For you पेजमा तपाईंले अनुभव गर्न सक्नुहुन्छ । यो तपाईंका गतिविधि परिवर्तन भए अनुसार परिवर्तन भैरहन्छ । 

पहिले टिकटकमा १५ सेकेण्डको भिडियो मात्रै अपलोड गर्न सकिन्थ्यो तर पछि बढाएर ६० सेकेण्ड पुर्यायो । फेरि बढाएर ३ मिनेट सम्म पुर्यायो । अब चाँडै नै १० मिनेट सम्म पार्ने खबरहरू आएका छन् । टिकटकका अनुसार १ मिनेटभन्दा लामा भिडियोहरुले ५ अर्ब भिउज पाएका छन् ।

यदी तपाईँलाई छोटो भिडियोमा आफ्ना कन्टेन्टहरू दिन सकिदैन भन्ने लाग्छ भने टिकटक उपर्युक्त प्ल्याटफर्म नहुन सक्छ । तर लामो भिडियो युट्युबमा राखेर त्यसको ट्रेलर जस्तो गरी छोटो भिडियो टिकटकमा अपलोड गरेर प्रचार गर्नको लागि भने टिकटक सम्भवत: सबैभन्दा राम्रो प्ल्याटफर्म हो अहिलेको लागि । 

अन्य पक्षहरू

हुन त क्रिएटरको लागी सर्वाधिक महत्वपूर्ण कुराहरूको माथि नै चर्चा गरिसकियो । तर पनि बाँकी अन्य पक्षको बारेमा चर्चा नगर्नु क्रिएटरको लागी खट्किने विषय हुन सक्छ । तर पहिले नै भनिहालौँ कि यी सबैलाई एउटै शीर्षकमा राख्नुको कारण चाहिं यी पक्षहरूमा दुबै उस्तै हिसाबले अब्बल छन् ।

जस्तै दर्शकहरू दुबैको लागी १० देखि ५० वर्षको उमेर समूहका हुन् । शेयर र पब्लिश गर्ने मामिलामा पनि दुबैले डिलीट हुन नदिने गरी प्राइभेट बनाउने सुविधा दिएका छन् । दुबैमा क्याप्शन राख्न मिल्छ । दुबैमा एनालाइटिकहरु हेर्न मिल्छ तर टिकटकमा बिजनेस अकाउण्ट बनाउँदा झन् राम्रो हुन्छ  । 

दुबैमा लाइभ स्ट्रिम गर्न मिल्छ । दुबैमा सजिलै कुनै भिडियो वा क्रिएटरको प्रोफाइल सर्च गर्न सकिन्छ । दुबैमा भिडियोको सामाग्री अनुसार विभिन्न खाले समुदायहरू बनिरहेका हुन्छन् । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.