ट्रंम्पलाइ अभियोग लागेपछि फेसबुक प्रचार मार्फत आफ्ना समर्थकको साथ माग्दै 

trump-impreachment

अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतीय चुनावका सम्भावित रिपब्लिकन प्रत्यासी डोनाल्ड ट्रम्पलाई फेसबुकले केही हप्ताअघि पुन: उनको खाता पुनर्स्थापित गरिदिएको थियो । यसअघि भएको राष्ट्रपतीय चुनावमा आफ्नो पराजय भएपछि उक्त नतिजा मान्न आनाकानी गर्दै धाँधली भएको आरोप लगाएका थिए ।

चुनावमा धाँधली भएको आरोप लागेपछि उनका समर्थकहरू क्यापिटल हिल अगाडि गएर आन्दोलन र नाराबाजी गरेका थिए । त्यसपछि ट्रम्पले यो चुनाव उल्टाउने आशयले आफ्ना समर्थकहरूलाई उनको पराजय भएको घोषणा गर्न रोक्नको लागि हिंसा भड्काउने खालका उत्तेजक प्रतिक्रियाहरू व्यक्त गरेका थिए ।

त्यसपछि ट्रम्पका समर्थकहरूले क्यापिटल हिलमा दङ्गा भड्काएका थिए । लगत्तै ट्विटर र फेसबुकले आफ्ना सञ्जालमा हिंसा भड्काउने अभिव्यक्ति दिएका कारण त्यस्तो व्यक्तिलाई स्थान दिन नसकिने भन्दै उनलाई प्रतिबन्ध लगाएका थिए । 

तर अर्को वर्षको नोभेम्बरमा सम्भवत: ट्रम्प नै उम्मेदवार हुने जस्तो अवस्था देखिएपछि रिपब्लिकन पार्टिले उनको प्रतिबन्ध रोक्नको लागि फेसबुक लगायतलाई दबाब दिएका थिए । फलस्वरूप यो वर्षको फेब्रुअरीमा प्रतिबन्ध फुकुवा भएको छ । 

हुन त उनले अब आफू फेसबुक जस्ता सामाजिक सञ्जालमा नफर्किने पनि बताएका थिए । त्यसको प्रतिकारमा उनले आफ्नै सामाजिक सञ्जाल ट्रूथ सोसल खोलेका थिए जुन खासै चल्दै चलेन । र आजकाल उनी पहिले जस्तै गरी फेसबुकमा सक्रिय मात्रै भएका छैनन् , यसै मार्फत् आफ्नो राजनीतिक उद्देश्यको लागि पैसा पनि उठाउँदै छन् ।

ट्रम्पदेखि डराएका डेमोक्र्याटहरूले उनलाई फेरि पनि राष्ट्रपति बन्न नदिन उहिल्यै देखि सकेको प्रयास गरेका थिए । महाअभियोग लगाउनको लागि दुईपटक प्रयास पनि गरे जुन सफल भएन । अहिले ट्रम्पलाई गम्भीर प्रकृतिका मुद्दाहरू लागेको छ र तीमध्ये धेरै जसो व्यापारिक अभिलेखहरूलाई जालसाजी गरिएको बारे छ ।

यी प्राय: मुद्दाहरूमा उनलाई प्रत्येकमा दुई वर्षको जेल सजाय हुनसक्छ । उनले आफै अदालतसामु आत्मसमर्पण गरेका छन् । अमेरिकी इतिहासमै पहिलोपटक कुनै राष्ट्रपतिले पहिले महाअभियोग र अहिले गम्भीर अभियोगको सामना गर्नुपरेको हो । 

ट्रम्पलाई राष्ट्रपति बनाउनुपर्ने अभियान गरेका तीन समूहले फेसबुकमा विज्ञापन चलाउन थालेका छन् । उनीहरूले ट्रम्प निर्दोष रहेको भन्दै यो अभियोगको चर्को आलोचना गर्ने र उनलाई सहयोग गर्नको लागी पैसा समर्थकहरूसँग पैसा उठाउने गरेका छन् । 

“उग्र वामपन्थी, जो यो देशका परिश्रमी मानिसहरूको शत्रु हुन् , ले घिनलाग्दो राजनीतिक कुकृत्य (witch hunt) का लागी मलाई अभियोग लगाएका छन् ,” एउटा फेसबुक विज्ञापनमा भनिएको छ । अघि लेखिएको छ, “यि अन्धकारपूर्ण दिनहरूमा कहिल्यै नसकिने यस्ता कुकृत्यहरूको अन्त्यको लागी कृपया $४७ वा त्योभन्दा बढी रकम ११:५९ पिएमसम्ममा सहयोग गर्नुहोला । हामी तपाईंलाई “म राष्ट्रपति ट्रम्पको साथमा छु” लेखिएको टिसर्ट तपाईँलाई सित्तैमा पठाउनेछौँ ।”

११:५९ को मितिले चाहिं समग्र रकम सङ्कलनको पहिलो-चतुर्थांशको अन्तिम समयलाई बताउँछ । ट्रम्पको फेसबुक पेजबाट चलाइएको विज्ञापनका अनुसार तिनलाई ट्रम्प सेभ अमेरिका जोइन्ट फन्डरेजिङ कमिटिले शुल्क तिर्छ । ट्रम्पको पूर्व नेतृत्व पिएसि जस्तो राजनीतिक कार्य समितिले ट्रम्प अभियान र “अमेरिका बचाउ” जस्ता अभियानहरूलाई रकम सङ्कलन गर्ने गरेको थियो । 

शुक्रबारको रकम सङ्कलन मात्रै बहुसङ्ख्यक रूपले ६५ वर्षको उमेरभन्दा माथिका महिला र पुरूषहरू भएको फेसबुक अ्याड अर्काइभले देखाएको छ । विज्ञापन फ्लोरिडा, टेक्सास, क्यालिफोर्निया र पेन्सिलभेनियाजस्ता धेरै जनसङ्ख्या भएका र राजनीतिक महत्व भएका राज्यहरूमा पनि देखाइएको थियो । 

यो अभियोगले एक हिसाबले ट्रम्पलाई फाइदा पुर्याएको छ किनकी यसको चर्चाको कारण उनका समर्थकहरूले मज्जाले पैसा उठाउन पाएका छन् जुन कानुनी लडाईँ र आगामी राष्ट्रपतीय निर्वाचनको लागि खर्च गर्न सकिन्छ । यो घटनाले फेसबुक ट्रम्पलाई कति महत्वपूर्ण रैछ र यो दुई वर्षको प्रतिबन्धमा ट्रम्पलाई कस्ता खालका घाटाहरू भएका रैछन् भन्ने पनि देखाउँछ ।

हुन त फेसबुकले ट्रम्पलाई यसअघि पनि प्रतिबन्ध नलगाएको समयमा रकम सङ्कलन गर्ने माध्यमहरूको प्रयोग गर्न दिएको थियो, तर यो अभियोगले उनका करोडौँ समर्थकहरूलाई थोरै-थोरै डलर भए पनि सहयोग गर्नको लागि एउटा पृथक झ्यालको काम गरेको छ । 

“हुन त यो प्ल्याटफर्मले राजनीतिक सामाग्रीलाई बुष्ट गर्ने कामबाट आफूलाई टाढा लग्ने कोसिस गर्दैछ तर पनि ट्रम्पको लागी यो पैसा बटुल्ने र आफ्ना समर्थकहरूलाई सन्देश दिने प्रभावशाली माध्यम भएको छ । अभियोगको समयमा पनि ट्रम्पको लागी यो अभियान समर्थकलाई आफूमा ध्यानाकर्षण गराउन उत्कृष्ट माध्यम हुनेछ ।” डिजिटल विज्ञापनमा कलम चलाउने कार्ल थार्पले सिएनबिसीलाई भनेका छन् । 

स्मरणीय छ, फेसबुकमा ट्रम्पको झण्डै साँढे तीन करोड फलोवरहरू छन् । ट्रम्पको यो फेसबुके अभियानले अहिलेसम्म कति पैसा सङ्कलन गर्यो भन्ने चाहिं ट्रम्प अभियानका प्रवक्ताले पनि बताएनन् । 

यस्तो विज्ञापनलाई तीव्रता दिइएको चाहिंअभियोग लागिसकेपछि हो । यसअघि ट्रम्पका समर्थकहरूलाई ईमेलमार्फत् रकम सङ्कलनको लागि आह्वान गरिन्थ्यो । हुन त ईमेलमार्फत् रकम सङ्कलन गर्ने काम रिपब्लिकन र डेमोक्र्याट दुबैले गर्ने गर्थे । 

ट्रम्पलाई लगाइएको अभियोगलाई उनले “राजनीतिक हत्या” को संज्ञा दिएपछि त्यो पोष्टलाई फेसबुकमा ३७५००० जनाले विभिन्न हिसाबले प्रतिक्रिया दिएका छन् र २५ हजारले शेयर गरेका छन् । यो अभियोगभन्दा अगाडि नै पनि ट्रम्पको फेसबुक फिर्तीलाई ठूलै चासोका साथ हेरिएको थियो । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.