एलन मस्कले ४४ अर्ब डलर तिरेर ट्विटर आफ्नो स्वामित्वमा पारिसकेपछि विभिन्न विवादास्पद निर्णयहरू गरेका छन् । ती मध्ये एउटा निर्णय हो – – ट्विटरको खाता आफ्नै हो भनेर पुष्टि गर्नको लागि नीलो टिक मार्क (जसलाई प्राविधिक भाषामा ट्विटर ब्लू भनिन्छ) पाउन प्रति महिना ८ डलर तिर्नुपर्ने । पहिले यो रकम २० डलर हुने हल्ला समेत चलेको थियो ।
गत वर्षको अन्त्यतिर यति रकम तिर्नेहरूले त्यस बापत पाउने सुविधा पाउन थालेका विवरणहरू आएका थिए । र जसले त्यति रकम तिर्न मानेनन् , तिनको “भेरिफाइड स्टेटस” ट्विटरले अप्रिल १ देखि हटाउने खबर समेत आएको छ ।
प्रति महिना आठ डलर तिर्नेहरुले रिप्लाई, मेन्शन र सर्चहरूमा विशेष प्राथमिकता दिइनेछ जुन स्प्याम र स्क्यामसँग लड्नको लागि अत्यावश्यक रहेको ट्विटरको धारणा रहेको छ । यद्यपि कम्पनीले स्पष्ट रूपमा खुलाएको भने छैन । उसले भनेको छ, “यो फीचरले ट्विटहरूमा अरूसँग अन्तर्क्रिया गर्दा तपाईँको रिप्लाईलाई प्राथमिकता दिनेछ ।”
ट्विटरले यसअघि स्प्याम, स्क्याम र बटहरू कम देखियोस् भन्ने अभिप्रायले यस्तो नीति लिएको बताएको थियो । तर आलोचकहरूले भने यस्तो नीतिले पैसाकै भरमा खराब प्रयोगकर्ताहरूले खराब सन्देशहरू झनै बुष्ट गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
रिप्लाईलाई प्राथमिकता दिने सुविधाको अलावा पैसा तिर्ने प्रयोगकर्ताहरूले ट्विटरमा ६० मिनेट लामो, १०८० रेजोल्युशनको २ जिबिसम्मको भिडियो अपलोड गर्न समेत सक्नेछन् । तर यो फीचर भने वेब संस्करणमा मात्र उपलब्ध भएको कम्पनीले जनाएको छ ।
साथै, त्यस्तो भिडियो अपलोड भए पनि त्यो प्ले गर्दा हेर्ने दर्शकको इन्टरनेट जडानको गति र स्थिरताको आधारमा पनि रेजोल्युशन र बिटरेट भर पर्नेछ । त्यस्तै पैसा तिर्नेहरूले बूकमार्क फोल्डर, लामो थ्रेड पढ्नको लागि रीडर इन्टरफेस र चाँडै नै ट्विट अनडु (undo) गर्न मिल्ने सुविधा पनि पाउनेछन् ।
अप्रिल १५ देखि पैसा नतिर्नेहरूको न्युजफीडमा (For You पेजमा) उनीहरूले फलो नै नगरेका तर ट्विटरलाई पैसा तिरेकाहरूको पोष्ट आउनेछ भने तिरेकाहरूको हकमा त्यस्तो हुने छैन । साथै तिरेकाहरूले मात्र आफ्नो खाताबाट भोटिङ गर्न पाउने सुविधा पाउनेछन् । साथै उनीहरूको खातामा विज्ञापन पनि नतिर्नेहरूको भन्दा आधा मात्र देखिनेछ ।
अहिले नै ट्विटरमा खास भिआइपिहरूको फीडहरू मात्र अन्य सबै प्रयोगकर्ताहरूको For You फीडमा जाने भैसकेको समेत कतिपय अनलाइन पोर्टलहरूले लेखेका छन् । ती भिआइपिहरुमा मस्क आफै त परिहाले, अमेरिकी राष्ट्रपति जो बाइडेन, लेब्रोन जेम्स लगायत पर्छन् ।
मस्कले ल्याएको यस्तो नियम विवादास्पद पनि बनेको छ । चर्चित लेखक स्टेफन किङले ट्विट गर्दै लेखेका थिए, “थुक्क ! तिनीहरूले चाहिं मलाई पैसा तिर्नुपर्छ ।” ट्विटरमा उनका दशौँ लाख फलोवर छन् ।
पैसा तिरेकाहरू ट्विटरमा हाँसोको पात्र समेत बनेका छन् । जसले पैसा तिरेर ब्लू मार्क पाएका छन् , तिनीहरुको थ्रेडमा “यो *जीले पनि पैसा तिरेछ” जस्ता अपमानजनक रिप्लाईहरू आउने गर्छन् । त्यस्तो समस्यालाई सम्बोधन गर्ने गरी ट्विटरले ब्लू मार्क देख्न नमिल्ने तर त्यसको फाइदा चाहिं पाउने अल्गोरिदम राखेको समाचार समेत आएको थियो ।
नआओस् पनि किन ! अन्य सामाजिक सञ्चालहरूले आफ्ना प्रयोगकर्ताहरूलाई पैसा तिरिरहेका बेला मस्क भने ट्याक्क त्यसको उल्टो प्रयोगकर्ताहरूलाई नै पैसा तिर्न बाध्य बनाइरहेका छन् ।
टिकटकले विगत तीन वर्षमा आफ्नो प्ल्याटफर्म चलाउने डिजिटल क्रिएटरहरूलाई अरबौँ डलर तिर्दै आएको छ । पछि मेटा र स्न्यापच्याटले पनि त्यस्तै गर्न थाले । ट्विचले यसका चर्चित स्ट्रीमरहरूलाई करोडपति बनाएको छ । अल्फाबेटले त युट्युबेहरूलाई विज्ञापन मार्फत् पैसा कमाउने सुविधा दिएको दशकौँ भैसक्यो ।
यस्तो नीतिले मस्ककै कम्पनीलाई नै घाटा भएको उनी आफैले सकारेको पुष्टि हुन्छ । केही दिन अघि मात्रै आफ्ना स्टाफहरुलाई ईमेल लेख्दै आफूले ४४ अर्ब डलरमा किनेको ट्विटरको बजार मूल्य घटेर आधाभन्दा कम अर्थात् २० अर्ब डलर मात्र भएको बताएका थिए । आलोचकहरूले त झन् यसको अहिलेको मूल्य ८ अर्ब डलर जति मात्र भएको ट्विट समेत गरेका छन् ।