अमेरिकाका चर्चित फिल्ममेकर अ्यान्डि वारहोलले कुनै बेला भनेका थिए कि भविष्यमा हरेक मानिस १५ मिनेटको लागी विश्व-विख्यात हुन्छ । अहिले झट्ट हेर्दा त्यो भनाई मिलेको जस्तो लाग्छ । तर वि लिभ इन पब्लिक नामक डक्युमेन्ट्रिका अनुसार त्यो भनाई सही हैन ।
सही के हो भन्दा भविष्यमा हरेक मानिस हरेक दिन कम्तीमा १५ मिनेट विश्व-विख्यात बन्न चाहन्छ ।
हो, यही नै सही हो जस्तो लाग्छ, अहिलेको प्रविधि युगमा डुबेका मानिसहरूलाई हेर्दा । र आजको सामाजिक सञ्जालको युगमा जे भइरहेको छ, खासगरी मानिसहरूको मानसपटल र आनीबानीहरुमा, त्यो कुरा आजभन्दा ३० वर्ष अगाडी नै त्यतिबेलाका “इन्टरनेट हिरो” जोश ह्यारिशले भविष्यवाणी गरिसकेका थिए ।
यो डक्युमेन्ट्रि उनै ह्यारिशको प्रविधि जगतमा भएको आरोह-अवरोहको कथा हो । उनले इन्टरनेट युगमा पुर्याएको योगदान, भविष्यमा मानिसहरू कस्तो हुन्छन् भनेर गरेको पूर्वानुमान, त्यसमाथि गरेको प्रयोग, सम्पत्ति गुमाएपछिको उनको जिन्दगी लगायतमा यो फिल्म केन्द्रित छ ।
तर सन् २००९ मा बनेको तर धेरै पहिलेका हजारौँ भिडियो क्लिपहरूबाट मिलाएर बनेको यो फिल्मले देखाउन खोजेको कुरा चाहीँ आज संसारभर मानिसहरू जसरी सामाजिक सञ्जालको लतमा लागेर त्यहाँ जे-जे गरिरहेका छन्, ती सब ह्यारिशले आजभन्दा ३० वर्ष अगाडि नै देखेका र चेतावनी दिएका थिए भन्ने नै हो ।
तपाईँ आफै पनि सामाजिक सञ्जालको लतमा फस्नुभएको हुन सक्छ वा नफसे पनि यसको अवलोकन गरिरहनु भएको होला । यसो हेर्नुस् त मानिसहरूले के-के गरिरहेका छन् त्यहाँ !
चर्चाको लागी, अरूको ध्यान आफूतिर तान्नको लागी मानिसहरू जे पनि गरिरहेका छन् । पहिले कल्पना पनि नगरिएका र समाजमा आपत्तिजनक लाग्ने कुराहरू समेत मानिसले सामाजिक सञ्जालमा निर्धक्क राख्न थालिसकेका छन् किनकी त्यसले उनीहरूलाई चर्चामा ल्याइदिन्छ ।
अहिलेको पुस्तालाई त्यस्तो समय पनि थियो जतिबेला मानिसहरू आफ्ना फोटोहरू एल्बममा राख्थे र आफूले चिनेका मानिसहरूलाई मात्रै देखाउँथे भनेर बुझाउन पनि गाह्रो भैसकेको छ । यस्तो कुरा आजका १४,१५ वर्षका केटाकेटीलाई भन्यो भने ती हाँस्छन् होला ।
मानिसले अरूलाई देखाउन, अरूको ध्यान आफूतिर तान्न, अरूलाई डाहा पार्न, चर्चा कमाउन आफ्ना जे पनि जसलाई पनि देखाउन थालेको धेरै भैसक्यो ।
विवाहको त सामान्य भैहाल्यो, अब सुहागरातको पनि देखाउने बेला आउन लागिसक्यो । (कतिपयले फेसबुकमै यौनसम्पर्क गरेको लाइभ भिडियो देखाएका पनि छन् ।) हनिमुन, गर्भवती हुँदा पेट देखाउने, केटाकेटीका अनेक हर्कतहरू त आजकाल निकै सामान्य भैसके ।
खाएको त सामान्य भयो, अब दिसापिसाब गरेको पनि हाल्न बेर छैन (कतिले हालि पनि सके ) । लुगा फेरेका भिडियोहरू त कति आउँछन् कति ।
अरूलाई मूख छाडेका पोष्ट र भिडियोहरूको त कुरै गर्नु परेन । हुँदा हुँदा प्रतिष्ठित पदमा पुगेकाहरू समेत अन्तर्वार्ताहरूमा मूख छाड्न थालेका छन् । अन्तर्वार्ताहरूमा आफ्ना यौन जीवनका कुराहरू ढुक्कले भन्ने मानिसहरूको सङ्ख्या बढ्दै गएको छ ।
आफ्नो घरभित्रको भएभरको सबै कुरा सामाजिक सञ्जालमा पोख्ने जमात पनि ठूलै छन् । बुढाबुढी ओछ्यानमा सुतेका, बाथरूममा नुहाएका, म्वाइ खाएका लगायतका कुराहरू त झनै सामान्य बनिसकेका छन् ।
टिकटकको रमिता झन् हेरि नसक्नु छ । त्यहाँ चर्चाको लागी मानिसहरूले आफ्ना थुप्रै सामाजिक सीमाहरू तोडेका छन् किन पनि भने त्यसमा पैसा कमाउन सकिन्छ अन्य सञ्जालमा भन्दा सजिलै ।
यस्ता गतिविधिको बारेमा लेख्न थाल्यो भने ठेली नै चाहिन्छ । यहाँ भन्न खोजिएको कुरा यति नै हो कि यी सब कुराहरूको भविष्यवाणी आजभन्दा ३० वर्ष अगाडी नै जोश ह्यारिशले गरिसकेका थिए ।
उनले एउटा प्रयोग गरेका थिए । एउटा घरमा मानिसहरूलाई क्याप्सुल बेडमा सुत्न दिने, त्यहाँ क्यामरा राख्ने र उसले जे पनि गर्न पाउने । त्यस्ता मानिसहरू टन्नै राखिएका हुन्छन् । सप्पैले सप्पैको गतिविधि हेर्न पाउने । र ती सबको गतिविधि खिचेका भिडियोहरू चाहीँ ह्यारिशको स्वामित्वमा हुने ।
सुरूमा मानिसहरू आफ्नो नियन्त्रणमा हुन्छन् तर विस्तारै आफूलाई अरूभन्दा बढी हेरियोस् भन्नको लागी उनीहरू अनेक खालका अचम्मका हर्कतहरू गर्न थाल्छन् । हुँदाहुँदा यस्तोसम्म अवस्थामा पुग्छन् कि क्यामरा आफूअगाडी छ भन्ने कुराकै हेक्का हुन छाड्छ र खुलमखुल्ला यौनसम्पर्क गर्न थाल्छन् ।
ह्यारिशले यो प्रयोग मानिसहरू चर्चाको लागी के मात्रै गर्दैनन् भन्ने देखाउन गरेका हुन् । यी सब प्रयोग भएको पुलिसले थाहा पाएपछि त्यो प्रोजेक्ट बन्द हुन्छ र गुप्त रूपमा उनले आफैमा अर्को प्रयोग गर्न थाल्छन् । आफ्नो घरका प्रत्येक गतिविधि खिच्ने उद्देश्यका साथ जताततै क्यामरा राखेर । ट्वाइलेटको कमोडभित्र समेत ।
उनीहरू (उनी र उनकी प्रेमिका) आफै पनि आफ्नै नियन्त्रणमा हुँदैनन् । चर्चाको लागी उनीहरू समेत जे-पनि गर्न थाल्छन् । ती भिडियोहरू पछि बेच्ने उनीहरूको योजना हुन्छ ।
जोश ह्यारिशले जर्ज अर्वेलको 1984 को जस्तो यो प्रोजेक्ट थाल्नुभन्दा अगाडी उनी इन्टरनेट हिरो थिए । इन्टरनेट भर्खर-भर्खर सुरू हुँदा उनले मालामाल पैसा मात्रै कमाएनन्, अमेरिकामा ठूलो ख्याति पनि कमाए । आफ्नो शेयर लिएर उनी यो प्रोजेक्टतिर आकर्षित हुन्छन् र सुरू गर्न थाल्छन् ।
उनको उद्देश्य चाहीँ यो प्रोजेक्टका भिडियोहरू पछि बेचेर मालामाल कमाउने हुन्छ तर इन्टरनेट कम्पनीहरू टाट पल्टिएको घटना “डटकटम बबल” पछि उनले आफूले कमाएको सबै पैसा गुमाए । गुमाएनन् मात्रै, उनका भिडियोहरू पनि बिकेनन् । उनी त्यसपछि ओरालो लागे ।
नब्बेको दशकमा इन्टरनेटको क्षेत्रमा तहल्का मच्चाएर भर्खरका युवाहरू अमेरिकाका अत्यधिक धनीमध्येमा पर्दथे, जुन क्रम आजसम्म जारी छ । त्यति बेलाको अवस्था र जोश ह्यारिश रातारात मालामाल हुँदा कस्तो परिवर्तन आउँदो रैछ र त्यसलाई उनीहरूले कसरी लिँदा रैछन् भन्ने पनि यो डक्युमेन्ट्रिले देखाउँछ ।
हुन त जोश ह्यारिशको नाम आज कसैले पनि सुनेको छैन तर नब्बेको दशकमा उनी अमेरिकाका नामी इन्टरनेट हिरो र सेलेब्रेटि थिए । र आज चाहीँ उनी भविष्यवक्ता प्रमाणित भएका छन् । यो फिल्म त्यसको प्रमाण हो ।