Web2 vs  Web3: मुख्य भिन्नताहरू के छन् ?

web2-web3

वेब टु (Web 2) के हो भनेर बुझ्न चाहनुहुन्छ भने त्यसको सजिलो उत्तर हो, आज हामीले इन्टरनेटमा जेजति चलाइरहेका छौँ, त्यो सबै हो । वेब थ्री (Web 3) भनेको चाहिँ वेब टु भन्दा धेरै फरक अर्को स्तरको वेब हो जसले वेब टु लाई विस्थापन गर्ने ठानिएको छ ।

वेब थ्री को बारेमा हामीले यसै साता विस्तृत रुपमा लेखेका थियौँ । यो लेखमा चाहिँ हामी मूलत: वेब टु र वेब थ्रीको बारेका मुख्य भिन्नताहरूको बारेमा हामी चर्चा गर्नेछौँ ।

वेब टु के हो ?

सामान्यतया: आजकाल “वेब” भनेर बुझिने वर्ल्ड वाइड वेब (WWW) को वर्तमान संस्करण नै वेब टु हो । यो स्थिर वेबसाइटहरू, सर्च ईन्जिन, सोसल मिडिया प्ल्याटफर्महरू र अनलाईन शपिङ साइटहरूमा केन्द्रित छ । 

अन्तरक्रिया गर्न नमिल्ने, पढ्न मात्रै मिल्ने वेब वान पछि आएको दोस्रो पुस्ताको रूपमा वेब टु आएको थियो । वेब टु ले पहिलोपटक प्रयोगकर्तामाझ अन्तरक्रिया र परिवर्तनशील कुराहरू ल्याएको थियो जसमा सबै कुराहरूलाई क्लिक गर्न मिल्छ ।

अर्थात् प्रयोगकर्ताहरूले सामाग्री सिर्जना गर्न र शेयर गर्न मिल्ने, एकापसमा अन्तरक्रिया गर्न मिल्ने लगायतका कामहरू गर्न वेब टु मार्फत् सफल भएको थियो, पहिलोपटक ।

वेब टुु का फाइदाहरू

वेब वान को भन्दा अत्यधिक अन्तरक्रिया, सहभागिता र सम्पर्क गर्न मिल्ने नै मूलत: वेब टु का फाइदाहरू हुन् । यसका मुख्य फाइदाहरू निम्नानुसार छन्:

  • वेब टु मा त्यस्ता वेबसाइटहरु र अ्यापहरु हुन्छन् जहाँ थुप्रै कुराहरूमा क्लिक गर्न मिल्छ । जस्तै लाइक, कमेन्ट, बटन, फोटो, लिङ्क, फर्म इत्यादी । त्यसमा तपाईँले थुप्रै कामहरू गर्न र सुविधाहरू उपभोग गर्न सक्नुहुन्छ । 
  • यसले अनलाइन फोरम, लाइभ च्याट, कमेन्ट सेक्शन, लाइक, रियाक्शन लगायतका सम्पर्क सुविधाहरू अगाडी ल्याएको छ ।
  • वेब टु मा प्रयोगकर्ताले विभिन्न सामग्रीहरू हेर्न मात्रै हैन, आफैले सिर्जना गर्न र शेयर गर्न पनि सक्छन् । 
  • सोसल मिडिया लगायतका प्ल्याटफर्महरूमा प्रयोगकर्ताहरूले जानकारीहरू शेयर गर्न साह्रै सजिलो हुन्छ ।
  • वेब टु का प्राय: सबै सेवाहरू प्रयोग गर्न साह्रै सजिलो छ । जस्तै अ्याप चलाउन, सामाग्री शेयर गर्न, विभिन्न सेवाहरू प्रयोग गर्न इत्यादी । 

वेब टु का बेफाइदाहरू

हामी सबैलाई थाहा छ कि अहिलेको यो वेब टु ले हाम्रो जीवनमा कायापलट नै ल्याइदिएको छ भनेर तर पनि यसका केही महत्वपूर्ण बेफाइदाहरू छन् खासगरी सुरक्षाको मामिलामा । 

तल बुँदागत रूपमा यिनीहरुलाई हेरौँ ।

  • सुरक्षा: डेटा भण्डारण गर्नको लागी वेब टु केन्द्रिकृत सर्भर र प्रणालीहरूमा निर्भर हुने भएकाले प्रयोगकर्ताको अत्यधिक मागले सर्भर ओभरलोड हुन्छ । त्यस्तेे, ह्याकरले एउटै प्रणालीमा पहुँच पाएपछि टन्ने डेटा पाउने भएकाले यसले सुरक्षा समस्या पनि निम्त्याउँछ । साथै सरकार र कम्पनीहरूले प्रयोगकर्ताको निगरानी गर्न पनि सहज हुन्छ । 
  • डेटाको स्वामित्व: निकै कम विशाल कम्पनीहरूले संसारभरका अरबौँ कम्पनीहरूको डेटामा पहुँच पाएकाले त्यसको फाइदा तिनीहरूले उठाइरहेका छन् । तपाईँले विभिन्न माध्यमहरू मार्फत् तपाईँका अनलाईन गतिविधिहरू सम्बन्धित कम्पनीहरूलाई दिइरहनुभएको हुन्छ सित्तैमा तिनको सेवा लिए बापत ।
  • सेन्सरशिप: केन्द्रिकृत भएकाले वेब टु मा सरकार वा कम्पनीहरूले आफ्नो फाइदाको लागी खास वेबसाइट वा अ्यापहरूमाथि सेन्सर लगाउँछन् जुन अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरित हुन्छ । 

वेब थ्री के हो ?

वेब थ्री भनेको अहिलेको वेब टु को अपग्रेडेड भर्जन हो । यसलाई सामान्यत: विकेन्द्रिकृत वेब पनि भनिन्छ किनकी यो ब्लकचेन र पियर-टु-पियर (peer-to-peer) नेटवर्क जस्ता विकेन्द्रिकृत प्रविधिहरूमा आधारित छ । त्यसकारण यसमा केन्द्रिय सत्ता बिना नै वेब टु को जस्तै वा त्योभन्दा उत्कृष्ट सेवाहरू लिन सकिन्छ । 

वेब थ्री का फाइदाहरू

वेब थ्री को मुख्य फाइदाहरू पारदर्शीता र सुरक्षासँग जोडिएको छ । यसका फाइदाहरू बुँदागत रूपमै लेख्नु राम्रो होला । 

  • वेब थ्री मा कुनै एकल सत्तासँग प्रयोगकर्ताको डेटा नहुने भएकोले उनीहरू स्वयमले आफ्नो डेटामा नियन्त्रण गर्छन् । त्यसकारण त्यसमा पहुँच पाउनको लागी कम्पनीहरूले पैसा तिर्नुपर्ने हुनसक्छ । 
  • यसको विकेन्द्रिकरण सिध्दान्तले मध्यस्थकर्तालाई नै हटाइदिने भएकोले इन्टरनेटको प्रयोग धेरै हदसम्म सुरक्षित र पारदर्शी हुन्छ । डेटा स्टोरेजमा समेत यो सिध्दान्त ल्याइएकोले थप सुरक्षित होइन्छ । 
  • डेटा प्रयोगकर्ताहरू आफैसँग रहने भएकोले उनीहरू निकै शक्तिशाली हुन्छन् ।
  • भविष्यमा कुनै मध्यस्थकर्ता बिना नै कारोबार हुनेछ बिटकोइन जस्ता क्रिप्टोकरेन्सी वा अन्य विकेन्द्रिकृत प्ल्याटफर्ममार्फत् ।

वेब थ्री का बेफाइदाहरू

वेब थ्रीको मुख्य बेफाइदा भनेको ब्लकचेन जस्तो जटिल संरचनालाई प्रयोगकर्ताले सहजै चलाउन नसक्नु हो । थप विस्तृतमा तल बुँदागत रूपमा:

  • जटिलता: वेब थ्री प्राविधिक र प्रयोगकर्ताको आनुभविक रुपमा जटिल छ । तसर्थ विशाल जनसङ्ख्याले यसलाई सहजै प्रयोग गर्ने छाँट छैन । वेब थ्री चलाउनको लागी एक हदसम्मको प्रोग्रामिङ र आइटिको सीप चाहिन्छ । 
  • कम्प्युटेशनल स्रोत: वेब थ्रीलाई वेब थ्रीको भन्दा धेरै कम्प्युटेशनल स्रोतहरू चाहिन्छ। वेब थ्रीसँग पुराना डिभाइसहरू अनुकुल हुँदैनन् र यसले थप धेरै उर्जा खपत गर्छ । 
  • क्षमता: ब्लकचेन जस्ता विकेन्द्रिकृत प्रविधिहरूलाई विशाल डेटालाई सम्हाल्न धेरै गाह्रो हुन्छ जसले गर्दा वेब थ्री को गति ढिलो हुनसक्छ । 
  • कानुनी तथा नियमनकारी समस्याहरू: यो अत्यन्त गोपनीय हुने हुनाले कानुनी तथा नियमनकारी व्यवस्था यसमाथि लाद्न धेरै गाह्रो हुन्छ जसले यो मार्फत् थुप्रै आपराधिक कामहरू हुनसक्छ । जस्तै बिटकोइनमा । 
  • क्रिप्टोकरेन्सरी सुरक्षा चुनौती: वेब थ्रीमा स्वभावत: कारोबारको लागी क्रोप्टोकरेन्सी जस्ता डिजिटिल मुद्राको प्रयोग हुन्छ । तर यसमा पनि ह्याकरहरूले ह्याक गर्न सक्छन् । अर्को कुरा यो कारोबार पनि जटिल र अत्यन्त गोपनीय हुनाले धेरैले विश्वास पनि गर्दैनन् । 

वेब टु र वेब थ्री का मुख्य भिन्नताहरू

यतिन्जेल तपाईँले वेब टु र वेब थ्री बीच रहेका मोटामोटी भिन्नताहरू थाहा पाइसक्नुभयो होला । मुख्य भिन्नता भनेकै विकेन्द्रिकरणमा हो । तर यसबारे अझै विस्तृतमा जान्ने मन छ भने तलको तालिकाबाट थाहा पाउन सक्नुहुन्छ । 

वेब टुवेब थ्री
प्रविधिAsynchronous Javascript र XML (AJAX), रिच इन्टरनेट एप्स (RIAs), सोशल मिडिया, वेब API (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस), र सहयोगी प्रविधिहरू (ब्लगहरू, सहयोगी डक्युमेन्ट एडिटिङ टूलहरू)ब्लकचेन, क्रिप्टोकरेन्सी, स्मार्ट कन्ट्र्याक्ट, विकेन्द्रीकृत भण्डारण (जस्तै आईपीएफएस (इन्टरप्लेनेटरी फाइल प्रणाली) र फाइलकोइन), सेल्फ-सोभरेन आइडेन्टिटि (SSI), र वेब एसेम्बली (Wasm)
शासनकेन्द्रीकृत संस्थाहरू जस्तै बैंक, सरकार, र सोशल मिडिया साइटहरूसँग नियामक शक्ति र डेटाको नियन्त्रण हुन्छ।वेब थ्री ले सामुदायिक शासन मोडेलहरू प्रयोग गर्दछ । उदाहरणका लागि, विकेन्द्रीकृत स्वायत्त संस्थाहरू जहाँ सरोकारवालाहरूले निर्णय लिने र विवाद-समाधान प्रक्रियामा भाग लिन्छन्। यसमा अनुमति चाहिँदैन र सबैले यसलाई प्रयोग गर्न सक्छन्।
सेन्सरशीपसरकार र कम्पनीहरूले निश्चित अ्याप र वेबसाइटहरूलाई सेन्सर लगाउन सक्छन् । यसमा धेरैजसो सेन्सर गरिएको हुँदैन । 
गोपनीयताब्याङ्क र सोसल मिडिया जस्ता केन्द्रिकृत प्ल्याटफर्महरूले देश अनुसार सुरक्षाको जिम्मा लिन्छन्।यसमा मुख्यत: प्रयोगकर्ताहरू बीचको आपसी विश्वास नै मुख्य कुरा हुन्छ जसकारण ज्यादा पारदर्शी हुन्छ । 
कारोबार र भुक्तानीपरम्परागत भुक्तानी तथा कारोबार तरिकाहरू: डेबिट र क्रेडिट कार्ड, ब्याङ्क ट्रान्सफर, डिजिटल वालेट, अनलाइन पेमेन्ट प्रोसेसर इत्यादी । यसको डिजिटल सम्पत्तिहरू ब्लकचेनको टोकन जस्तो हुन्छ जसले स्वामित्व र मूल्य हस्तान्तरणलाई सजिलो पार्छ । जस्तै बिटकोइन जस्ता क्रिप्टोकरेन्सी 

स्रोत: नर्डभिपिएन

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.