गेमिङको लागि राम्रो इन्टरनेट स्पीड कति हो? गेमिङ अनुभव सुधार्न के गर्न सकिन्छ?

GAMING

अनलाइन गेमिङको चर्चा अहिले निकै बढ्दो छ। खासगरी युवावर्गहरु माझ गेमिङ निकै लोकप्रिय बनेको छ। Clash of clans बाट अनलाइन गेमिङले विस्तारै चर्चा बटुल्न थालेको थियो भने Free Fire र PUBG जस्ता गेमले युवावर्ग माझ एउटा सनसनी ल्याउन सफल भएका थिए।

अहिले Call of duty, Fortnite र Genshin Impact जस्ता गेमहरुले पनि उत्तिकै चर्चा बटुलिरहेका छन्। विश्वतथ्ताङ्क अनुसार गेमरहरुले प्रति हप्ता ६ घन्टाको औसतमा गेम खेल्छन् भने विश्व जनसमुदायको ४०% मानिसहरु अर्थात् करिब ३ अर्ब मानिसहरु गेम खेल्ने गर्छन्। यसरी गेमले मानिसहरु माझ निकै ठुलो प्रभाव छोड्न सफल बनेको छ।

अफलाइन गेमहरु भन्दा पनि अनलाइन गेमहरु अहिले निकै नै चर्चित बनेका छन्। अफलाइन गेम खेल्नलाई इन्टरनेटको आवश्यकता पर्दैन तर अनलाइन गेमको लागि इन्टरनेट नभई हुँदैन। फेरी PUBG, call of duty, genshin impact जस्ता हेभि रिसोर्स खपत गर्ने गेमहरुलाई राम्रो डिभाइस सेट बाहेक राम्रो इन्टरनेट कनेक्सनको आवश्यकता पर्छ। 

इन्टरनेट स्पीड अपुग भएर यस्ता गेमहरुमा ल्याग र स्टटर (stutter) बढ्दछ जुन कुनै पनि गेमरको लागि राम्रो अनुभव हैन। यस्ता गेमहरुमा एक सेकेन्डको ढिलाइले गेम ओभर हुन सक्छ त्यसैले यसरी हेभि रिसोर्स खपत गर्ने अनलाइन गेमहरुको लागि राम्रो इन्टरनेट स्पीड निकै ठुलो प्राथमिकता हुन जान्छ। 

तर गेमप्ले राम्रो हुन कति इन्टरनेट स्पीड आवश्यक हुन्छ? यो कुरा धेरैको मनमा रहन सक्छ। यस आर्टिकलमा इन्टरनेट स्पीड भनेको के हो, गेमिङको लागि राम्रो इन्टरनेट स्पीड कति मानिन्छ र गेमिङ एक्सपेरियन्स सुधार्न के गर्न सकिन्छ भन्ने विषयमा केहि जानकारी दिइएको छ।   

इन्टरनेट स्पीड 

इन्टरनेटको प्रयोजन वेब सर्भरमा आधारित हुने हुन्छ। उदाहरणको लागि तपाईँहरु Netflix मा कुनै भिडियो हेर्दै हुनुहुन्छ भने Netflix को वेब सर्भरबाट तपाईँहरुको डिभाइसमा डाटा प्रवाह भइरहनु पर्दछ। यस आधारमा  इन्टरनेट स्पीडले कुनै पनि डाटा वेब सर्भरबाट डिभाइससम्म आइपुग्न कति समय लाग्छ भन्ने कुरा बुझाउँछ।

यद्यपी इन्टरनेट स्पीड एकतर्फि माध्यमबाट मात्र हेरिँदैन। यसैगरी कुनै डाटा डिभाइसबाट वेब सर्भरसम्म पुग्न कति समय लाग्छ भन्ने कुराले पनि इन्टरनेट स्पीड नै बुझाएको हुन्छ। समग्रमा बुझ्ने हो भने वेब सर्भर र डिभाइसको बिचमा डाटा ओहोरदोहोर हुन कति समय लाग्छ भन्ने कुरा इन्टरनेट स्पीडले बुझाउँछ। समग्रमा इन्टरनेट स्पीडले इन्टरनेट पर्फमेन्सलाई जनाएको हुन्छ।

डाटा ट्रान्सफर वेब सर्भरबाट डिभाइसमा र डिभाइसबाट वेब सर्भरमा दुई तरिकाबाट हुने हुँदा यसलाई क्रमस डाउनलोडअपलोड स्पीड भनेर जानिन्छ। डाउनलोड स्पीडले वेब सर्भरबाट डिभाइसमा हुने डाटा ट्रान्सफर स्पीड बुझाउँछ भने अपलोड स्पीडले डिभाइसबाट वेब सर्भरमा हुने डाटा ट्रान्सफर स्पीडलाई जनाउँछ। मुख्यतया अपलोड स्पीड भन्दा डाउनलोड स्पीड निकै छिटो हुने गर्छ।  

इन्टरनेट स्पीड Mbps अर्थात् मेगाबिट्स पर सेकेन्ड (Megabits per second) मा मापन गर्ने गरिन्छ। यसले प्रति सेकेन्ड कति डाटा ट्रान्सफर गर्न सकिन्छ भन्ने कुराको जानकारी दिन्छ। सामान्य रुपमा इन्टरनेट स्पीड जति राम्रो हुन्छ त्यति नै ओभरल इन्टरनेट पर्फमेन्स राम्रो हुन्छ किनकि जति धेरै इन्टरनेट स्पीड भयो डाटा ट्रान्सफर रेट पनि त्यति नै धेरै हुने गर्छ जसकारण एकैपटकमा धेरै डाटा ट्रान्सफर हुन्छ। 

अनलाइन भिडियो स्ट्रिम गर्दा, अनलाइन गेमिङ गर्दा, केहि कुरा डाउनलोड गर्दा र अन्य कुराहरुको लागि पनि सर्भर र डिभाइसको बिचमा डाटा ट्रान्सफर गर्न इन्टरनेट स्पीडले मद्दत गरिरहेको हुन्छ।

इन्टरनेट स्पीड निर्धारण गर्न तथा अनलाइन गेमिङको लागि बुझ्नुपर्ने केहि कुराहरु

गेमिङको आधारमा इन्टरनेट स्पीड निर्धारण गर्न तपाईँहरुले केहि कुराहरु बुझ्नुपर्ने हुन्छ। उक्त कुराहरु निम्नलिखित छन्ः

डाउनलोड स्पीड र अपलोड स्पीड

यसको जानकारी माथिपनि आइसकेको छ। डाउनलोड स्पीडले कुनै पनि सर्भरबाट डिभाइसमा कति छिटो डाटा ट्रान्सफर हुन्छ भन्ने कुराको जानकारी दिन्छ भने अपलोड स्पीडले तपाईँहरुको डिभाइसबाट सर्भरमा कति छिटो डाटा ट्रान्सफर हुन्छ भन्ने कुरा जनाउँछ।

डाउनलोड स्पीड अपलोड स्पीड भन्दा निकै चाँडो हुन्छ किनकी तपाईँहरुले अनलाइन या इन्टरनेटमा गर्ने कुराहरु प्रायजसो अपलोड भन्दा डाउनलोडसँग सम्बन्धीत हुन्छन्। अनलाइन गेम प्लेको रिसोर्सहरु तपाईँहरुको डिभाइसले यसको सर्भरबाट लगातार डाउनलोड गर्नुपर्ने हुन्छ जसकारण डाउनलोड स्पीड फास्ट हुन्छ। यस कारणले इन्टरनेट स्पीड छान्दा रिसोर्सहरु अपलोड र डाउनलोड हुँदा केहि असर नपर्ने गरी छान्न सक्नुपर्छ।

पिङ्ग (Ping)

पिङ्ग या पिङ्ग रेटले कुनै डाटा तपाईँहरुको डिभाइसबाट इन्टरनेट सर्भरमा ट्रान्समिट भएर पुनः इन्टरनेट सर्भरबाट तपाईँहरुको डिभाइसमा आइपुग्न कति समय लाग्छ भन्ने कुराको जानकारी दिन्छ। भन्नुको अर्थ कुनै डाटा तपाईँहरुको डिभाइसबाट सर्भरमा पुगेर फेरी तपाईँहरुकै डिभाइसमा फर्कन लाग्ने समयको जानकारी पिङ्गले दिन्छ। पिङ्गलाई मिलिसेकेन्ड अर्थात् millisecond (ms) को युनिटमा मापन गरिन्छ।    

अर्को तिरबाट पिङ्गलाई तपाईँहरुले इन्टरनेट कनेक्सनमा केहि कुराको रिक्वेस्ट पठाउनुभएपछि इन्टरनेट कनेक्सनले कति चाँडो तपाईँहरुको रिक्वेस्टलाई रेस्पोन्ड गर्छ भनेर पनि बुझ्न सकिन्छ। यो इन्टरनेट स्पीडमा निर्भर हुने हुँदा जति धेरै इन्टरनेट कनेक्सन हुन्छ त्यति नै पिङ्गले छिटो काम गर्छ अर्थात् रेस्पोन्स समय त्यति नै थोरै हुन्छ। यो किन महत्त्वपूर्ण छ भन्दा गेमिङ गर्दा पिङ्ग रेट जति धेरै हुन्छ गेमिङ त्यति धेरै सरल र ल्याग फ्रि हुन्छ।

मल्टिप्लेयर मोडमा गेम खेल्दै हुनुहुन्छ र तपाईँको पिङ्ग तपाईँको साथीको भन्दा बढी छ भने तपाईँहरु भन्दा अगाडि तपाईँको साथीको मुभमेन्ट देखिन्छ जसले गर्दा गेमप्ले अनुभव ल्याग भएको जस्तो देखिन सक्छ र गेमिङ अनुभव राम्रो हुँदैन। यस कारण पिङ्ग जति राम्रो भयो त्यति राम्रो गेमिङ अनुभव लिन सकिन्छ।

ल्याटेन्सि (Latency)

गेमिङ पर्फमेन्स र रेस्पोन्स टाइमको लागि ल्याटेन्सिको प्रभाव अपलोड स्पीड र डाउनलोड स्पीड भन्दा धेरै पर्ने देखिन्छ। ल्याटेन्सिलाई अर्को शब्दमा डिले (delay) पनि भनेर बुझ्न सकिन्छ। ल्याटेन्सिले तपाईँहरुले गेमिङ गर्दा लिनुभएको एक्सन (action) र उक्त एक्सनको आधारमा स्क्रिनमा देखिने रेस्पोन्स बिचको ढिलाइलाई जनाउँछ।

जति धेरै ल्याटेन्सि हुन्छ गेमप्लेमा त्यति धेरै ल्याग हुने गर्छ र अड्किएको जस्तो अनुभव हुन्छ। ल्याटेन्सि र पिङ्गमा केहि भिन्नता भएतापनि गेमरहरुले ल्याटेन्सिलाई पनि पिङ्ग भनेर उल्लेख गरेको सुन्न सकिन्छ। 

अनलाइन गेमिङको लागि कति इन्टरनेट स्पीड चाहिन्छ?

इन्टरनेट स्पीडले अनलाइन गेमिङमा निकै ठुलो प्रभाव पार्छ। गेमिङको राम्रो अनुभव लिनलाई राम्रो इन्टरनेट स्पीड हुनु आवश्क पर्छ। तर कति इन्टरनेट स्पीडलाई राम्रो भन्न सकिन्छ? धेरै भिडियो गेम कन्सोल म्यानुफ्याक्चररहरुले कम्तिमा 3 Mbps को डाउनलोड स्पीड र 0.5 Mbps देखि 1 Mbps को अपलोड स्पीडलाई राम्रो इन्टरनेट स्पीडको रुपमा सिफारिस गरेका हुन्छन्।

तर यो कुरा रियल टाइमको लागि सहि हुन्छ भन्न सकिँदैन। पहिलो कारण भनेको यो अवस्था एउटा मात्र राउटरको लागि एउटा मात्र डिभाइस कनेक्ट हुँदाको अवस्थाको लागि उल्लेखित गरिएको हो। तर रियल टाइममा कुनै पनि इन्टरनेट कनेक्सनमा एउटा मात्र डिभाइस जोडिएको हुँदैन। एउटै परिवारको कुरा गर्ने हो भने पनि यसमा कम्तिमा पनि ३ देखि ४ जनाको डिभाइसहरु एउटै इन्टरनेट कनेक्सनमा चलिरहेका हुन्छन्। 

फेरी तपाईँहरु राउटरबाट कतिको पर हुनुहुन्छ भन्ने आधारमा पनि तपाईँहरुको गेमप्लेमा प्रभाव पर्न सक्छ भने अर्को कोठामा हुनुहुन्छ भने यसले पनि इन्टरनेट स्पीडमा प्रभाव पार्न सक्छ। यसरी धेरै कारणले इन्टरनेट स्पीडमा असर पार्न सक्ने हुँदा 3 Mbps र यसको छेउछाउमा रहेका इन्टरनेट स्पीड अनलाइन गेमिङको लागि कम पर्न जान्छ।

25 Mbps या 30 Mbps इन्टरनेट स्पीड सिङ्गल युजरको लागि काफि मानिन्छ तर यति हुँदा हुँदै पनि धेरै युजरहरु एकैसाथ गेमिङ गर्नुहुन्छ भने यतिको इन्टरनेट स्पीडले पनि खासै  राम्रो गेमिङ अनुभव अफर गर्न सक्दैन। त्यसैले यस आधारमा हामी युजरहरुलाई २५ Mbps देखि ३० Mbps को इन्टरनेट स्पीड भन्दा बढी स्पीड नै सिफारिस गर्छौँ। 

धेरै युजरहरु हुनुहुन्छ भने युजर संख्या अनुसार १०० Mbps वा सो भन्दा बढी २०० Mbps स्पीड सम्म पनि रेकमेन्ड गर्दछौँ। सम्हाल्न धेरै नै ट्राफिक हुन्छ भने २०० Mbps भन्दा धेरै इन्टरनेट स्पीड पनि आवश्यक पर्न सक्छ।

गेमिङ पर्फमेन्स सुधार्न र ल्याग रहित बनाउन के गर्न सकिन्छ?

गेमिङ पर्फमेन्स सुधार्न र गेमिङ अनुभव राम्रो बनाउन सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको इन्टरनेट स्पीड नै हो। आफ्नो राउटरको इन्टरनेट स्पीड सुधारी राम्रो गेमिङ अनुभव लिन निम्नलिखित कुराहरु गर्न सकिन्छः

राउटरलाई रिसेट गर्नुहोस्

घरमा इन्टरनेट स्लो भएको अनुभूति भयो भने पहिलो स्टेप भनेको राउटर रिस्टार्ट गर्न तिर लाग्नुपर्छ। जसरी मोबाइल स्लो हुन थाल्यो भने त्यसलाई रिस्टार्ट गर्दा पनि समस्या टर्न सक्छ राउटरको मामिला पनि यो कुरा लागु हुन्छ। तपाईँहरुलाई आश्चर्य लाग्न सक्छ तर एउटा साधारण रिस्टार्ट गर्नाले पनि इन्टरनेट स्पीडमा सुधार आउन सक्छ।

राउटरको रिस्टार्ट गर्नु भनेको राउटरको पावर स्विच अफ गरेर फेरी अन गर्नु हो। राउटरको पावर स्विच या पावर बटन मुख्यतया राउटरको पछाडि रहेको हुन्छ।   

इन्टरनेट जडान गर्न इथरनेट केबलको प्रयोग गर्नुहोस्

घरमा धेरै जनाले एउटै इन्टरनेट कनेक्सन प्रयोग गर्नुहुन्छ। यसो हुँदा तपाईँहरुलाई मात्र इन्टरनेट कनेक्सन चाहिएको छ भनेर अरुलाई नचलाउनु भनेर भन्न पनि अप्ठ्यारो हुन्छ। यस्तो परिस्थितिमा तपाईँहरु इथरनेट केबलको प्रयोग गरेर इन्टरनेट कनेक्सन गर्न सक्नुहुनेछ।

अर्को कुरा भनेको तपाईँहरु राउटरको जति नै नजिक हुनुभए तापनि इथरनेट केबलको डाइरेक्ट वायर्ड कनेक्सनले तपाईँहरुको इन्टरनेट कनेक्सन त्यति नै छिटो बनाउँछ। यो एउटा तथ्य नै हो। हालाकि तपाईँहरु ल्यापटप प्रयोग गर्नुहुन्छ भने आजकाल इथरनेट केबलको लागि पोर्ट नभेट्नुहोला तर इथरनेट पोर्ट छ भने इथरनेट केबलको प्रयोग गर्नु राम्रो हुन्छ।

सकेसम्म राउटरको नजिक रहनुहोस्

तपाईँहरुको डिभाइसमा इथरनेट पोर्ट छैन भने यसको लागि उपलब्ध अपसन भनेको वाइफाइ नै हो। तर तपाईँहरु वाइफाइबाट कति टाढा हुनुहुन्छ भन्ने आधारमा पनि गेमिङमा असर पर्न जान्छ। भित्ता, भुईँ, फर्निचर तथा अन्य ठोस वस्तुहरुले वायरलेस सिग्नललाई छेक्न सक्छन् जसकारणले इन्टरनेट स्पीडमा गिरावट हुन सक्छ।

तर तपाईँहरु राउटरको नजिक बस्नुभयो भने यसले इन्टरनेट कनेक्सनलाई सुधार्छ र तपाईँहरुको गेमिङ अनुभव सुधार्छ। यदि राउटर नजिकै बस्दा पनि गेमिङ सुध्रिएन भने आफू बस्नुभएको ठाउँ पनि परिवर्तन गर्न सक्नुहुनेछ। यस बाहेक अन्य कुनै वायरलेस डिभाइस जस्तै वायरलेस स्पिकर, स्मार्टवाच आदि राउटरको नजिकै छ भने यसले वाइफाइ सिग्नलाई डिस्टर्ब गर्न सक्छ। त्यसैले यस्ता डिभाइसलाई छेउमा नराख्नुहोस्।

ब्याकग्राउन्डमा चलिरहेका वेबसाइट र प्रोग्रामहरु बन्द गर्नुहोस्

Netflix, Youtube धेरै रिसोर्स खपत गर्ने साइटहरु ब्याकग्राउन्डमा चलिरहेका छन् भने या केहि कुरा ब्याक्ग्राउन्डमा डाउनलोड भइरहेको छ भने यस्ता कुराले गेमिङ गर्दा पिङ्ग रेट र ल्याटेन्सिमा नकारात्मक असर पुर्याउँछ जसले गर्दा गेमिङ स्पीड स्लो हुन जान्छ।

यस बाहेक कुनै अन्य प्रोग्राम पनि ब्याकग्राउन्डमा रन हुँदै छ भने यसले सिपियुलाई अनावश्यक लोड हुन जान्छ जसले गर्दा गेमिङ पर्फमेन्समा नकारात्मक असर पुग्छ। यस कारण ब्याकग्राउन्डमा चलिरहेका वेबसाइट र प्रोग्रामहरुलाई बन्द गर्नुपर्छ।

इन्टरनेटमा कनेक्ट भएका डिभाइसको संख्या घटाउनुहोस्

तपाईँहरुले गेमिङ गर्ने बेलामा कुनै एउटा डिभाइस मात्र इन्टरनेटमा कनेक्ट भएको हुन्छ भन्ने छैन। जस्तै तपाईँहरुको कम्प्युटर र मोबाइल एउटै समयमा त्यहि इन्टरनेट कनेक्सनमा कनेक्ट भएको हुन सक्छन्। यस्तो हुँदा आफ्नो मोबाइलको इन्टरनेट बन्द गर्न सक्नुहुनेछ।

त्यसै गरी अन्य डिभाइसहरु पनि इन्टरनेटमा कनेक्ट मात्र भएर प्रयोजनमा नहुन सक्छन्। यस्तो हुँदा यी खाली बसेका डिभाइसहरुको पनि इन्टरनेट कनेक्सन हटाउन सक्नुहुनेछ।

फर्मवेयर अपडेट (Firmware Update) गर्नुहोस्

धेरै जनालाई थाहा नहुन सक्छ तर राउटरको आफ्नै सफ्टवेयर रहेको हुन्छ। ब्रान्डेड राउटरहरुले बेलाबेलामा यो सफ्टवेयर मार्फत् अपडेट पठाइरहेका हुन्छन् भने सपोर्ट पनि राम्रो प्रदान गरिरहेका हुन्छन्। यी अपडेटहरु इन्टरनेट ल्याग सुधार्ने हिसाबले तयार पारिएका हुन्छन् त्यसैले आफ्नो राउटरको फर्मवेयरलाई बेलाबेलामा अपडेट गरिरहनु पर्दछ र सफ्टवेयरलाई अप-टु-डेट बनाउन खोज्नुपर्दछ। मोडलको इन्स्ट्रकसन फलो गरी तपाईँहरुले फर्मवेयर अपडेट गर्न सक्नुहुनेछ।

आफ्नो ISP लाई कन्ट्याक्ट गर्नुहोस्

कसै गर्दा पनि इन्टरनेट स्पीड सुध्रेन भने आफ्नो ISP लाई कन्ट्याक्ट गर्न नहिच्किचाउनुहोस्। तपाईँहरुको राउटरमा इन्टर्नल रुपमा खराबी छ भने ISP ले सो राउटर साट्ने सल्लाह पनि दिन सक्छ वा मर्मत पनि गर्दिन सक्छ। 

  

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.