यस्ता कामको लागी च्याटजिपिटिको मद्दत लिनु हुँदैन

use of chatgpt

ओपनएआइले केही महिनाअघि बनाएको च्याटजिपिटिको बारेमा नसुन्ने मानिसहरु अहिले कमै होलान् । खासगरी टेक्स्टको क्षेत्रमा काम गर्नेहरु र दैनिक अनेक खालका सूचनाहरु खोज्नेहरुको लागी यो निकै सहयोगी सफ्टवेयर साबित भएको छ । 

च्याटजिपिटि एआइ च्याटबट हो जुन विभिन्न रचनात्मक कामहरुको लागी प्रयोग गर्न सकिन्छ । यद्यपी मानिसहरु कतिपय “अनैतिक” र “अवाञ्छनीय” कामहरुको लागी पनि यसको प्रयोग गर्न थालेका छन् ।

जस्तै विद्यालयहरुमा रिपोर्ट बनाउन, अस्साइनमेन्ट गर्न, थेसिस बनाउन इत्यादि कामहरुको लागी यसको प्रयोग गर्न थालिएको छ जुन समस्यालाई सम्बोधन गर्नको लागी च्याटजिपिटिबाट लेखिए वा नलेखिएको थाहा पाउने डिटेक्टर ओपनएआइले बनाइसकेको पनि छ ।

च्याटजिपिटिले गर्न सक्ने थुप्रै कामहरु भएतापनि यो एउटा एआइ हो र यसले अझै पनि मानिसको स्थान ग्रहण गर्न सकेको छैन । त्यसकारण यसको प्रयोग विभिन्न कुराहरुमा नगरेकै राम्रो हुन्छ । 

हामी यो लेखमा तपाईँले च्याटजिपिटिको मद्दतले गर्न नहुने कामहरुको बारेमा केन्द्रित रहनेछौँ । 

यो पनि पढ्नुहोस्: च्याटजिपिटि को प्रयोग कसरी गर्ने ?

१. गोपनीय वा संवेदनशील सूचना यसलाई नदिनुस्

च्याटजिपिटि संवेदनशील वा गोप्य जानकारी शेयर गर्न वा अनुरोध गर्न प्रयोग गर्नु हुँदैन। यसमा व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी (Personally Identifiable Information), वित्तीय विवरणहरू, पासवर्डहरू, वा कुनै अन्य निजी डेटा इत्यादी पर्छन्। याद गर्नुपर्ने कुरा के भन्दा च्याटजिपिटि केबल एक एआइ मोडेल हो, र यसको प्रतिक्रियाहरूले सधैं डेटा गोपनीयता र सुरक्षा प्रोटोकलहरू पालना नगर्न सक्छ। सावधानी अपनाउनुहोस् र तपाइँको गोपनीयता वा सुरक्षामा सम्झौता गर्न सक्ने कुनै पनि जानकारी शेयर गर्नबाट टाढा रहनुहोस्।

२. कानुनी वा स्वास्थ्य सुझाव नलिनुस्

एआइले कसरी काम गर्छ भनेर तपाईँले बुझ्नुभयो भने च्याटजिपिटिबाट पक्कै पनि तपाईँले कानुनी वा स्वास्थ्यसम्बन्धी सुझाव लिनुहुन्न । यसले आफूमा भएका टन्नै डेटाबेसहरुबाट खास स्वरुप (pattern) पहिचान गरेर त्यसैबाट निर्णय लिएर सुझाव दिने हो ।

त्यसको अर्थ तपाईँको व्यक्तिगत समस्याका विशिष्टता र सुक्ष्मताको बारेमा यसले विशेष दखल राख्न सक्दैन जसकारण यसको सुझाव तपाईँलाई काम नलाग्न सक्छ । त्यस्तो अवस्थामा तपाईँले डक्टर वा विशेषज्ञकै सुझाव लिनु राम्रो हुन्छ । 

हुन त कतिपय एआइहरु स्वास्थ्य क्षेत्रकै लागी भनेर बनाउन पनि थालिएको छ र च्याटजिपिटिले नै पनि थुप्रै गम्भीर सुझावहरु पनि दिएको छ । तर यस्ता एआइहरुले लामो समयसम्म विश्वासिलो सुझावहरु प्रदान नगरेसम्म यसबाट कानुनी वा स्वास्थ्य सुझावहरु नलिनु आफ्नै लागी हितकारी हुन्छ । 

३. व्यक्तिगत निर्णय नलिनुस्

मान्छे भनेको मान्छे हो र एआइ भनेको एआइ हो । एआइको लागी आफ्नो डेटाबेस नै संसार हो भने मान्छेको लागी वास्तविक संसार नै संसार हो । त्यसकारण एआइले आफ्नो डेटाबेसको विश्लेषण गरेर निकालेका निचोडहरु मानिसहरुको लागी वास्तविक संसारमा घातक हुनसक्छ ।

यो पनि पढ्नुहोस्: एआइ विरूध्द मान्छे

त्यसमाथि मानिसले भावना, संवेदना, भविष्यको अनुमान, सामाजिक मूल्यमान्यता, कार्यको परिणाम इत्यादी जस्ता निकै महत्वपूर्ण कुराहरुको बारेमा गम्भीर सोचविचार गरेर मात्रै निर्णय लिनु बुध्दिमत्तापूर्ण हुन्छ जुन च्याटजिपिटि जस्ता एआइले गर्न सक्दैन । 

तपाईँको समस्या सबैभन्दा राम्ररी तपाईँलाई मात्रै ज्ञात हुन्छ र त्यसको लागी चाल्ने कदमहरुका परिणामहरु के-कस्ता हुन्छन् भनेर तपाईँले मात्रै सबैभन्दा राम्रो अनुमान गर्न सक्नुहुन्छ । त्यसकारण आफ्ना व्यक्तिगत निर्णयहरु आफै सोचविचार गरेर नै लिनुस् । 

यो पनि पढ्नुहोस्: च्याट जीपीटी थ्री र फोर! के फरक छ ?

४. विश्वस्त स्रोतको रुपमा नलिनुस्

च्याटजिपिटि सन् २०२१ को सेप्टेम्बरसम्म को डेटामा आधारित छ भने जिपिटि फोर चाहीँ सन् २०२२ सम्मको । मानिसमा सीमित क्षमता हुन्छ तर च्याटजिपिटिमा “असीमित” । यति हुँदाहुँदै पनि च्याटजिपिटिलाई विश्वस्त स्रोतको रुपमा लिने गल्ती नगर्नुस् । 

पहिलो कुरा त यो वास्तविक समयसँग मेल नखाने हुँदा अपडेट भएका कुराहरु यसले देखाउँदैन । त्यसैले वास्तविक समयका तथ्यहरूसँग यसले दिने तथ्य बाझ्न सक्छ । अनि अर्को महत्वपूर्ण कुरा के भने यसले बिलकुलै झुटलाई पनि साँच्चिकै हो जसरी प्रस्तुत गर्न सक्छ । 

त्यसकारण यसले दिने जुनसुकै नतिजाहरुलाई मान्छेको विश्लेषण, प्रमाण र समीक्षापछि मात्रै विश्वास गर्नु उपर्युक्त हुन्छ । विभिन्न सामाग्री सिर्जना (कन्टेन्ट क्रिएशन) पनि मानिसको समीक्षापछि मात्रै विश्वास गर्नु राम्रो हुन्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.