अमेरिकाको फ्लोरिडा राज्यको केप क्यानाभेरालबाट रिलेटिभिटि स्पेसले पूर्णत: थ्री डीबाट प्रिन्ट गरिएको रकेटको दोस्रो प्रक्षेपण अन्तिम समयमा आएर रद्द भएको जनाएको छ । प्रक्षेपण गर्न ०.५ सेकेण्ड बाँकी रहेकै बेलामा यो प्रक्षेपण अर्को समयको लागि सारिएको छ ।
क्यालिफोर्नियामा हेडक्वार्टर रहेको अन्तरिक्ष सम्बन्धी कम्पनी रिलेटिभिटि स्पेसका लागि यो टेर्रान १ (Terran 1) नाम दिइएको यो रकेटको प्रक्षेपणमा यदि सफलता मिलेको भए खासगरी थ्री डी प्रिन्टिङको प्रयोग अन्तरिक्ष उद्योगमा समेत कोसेढुङ्गा साबित हुने थियो ।
रिलेटिभिटि स्पेस लगायतका विभिन्न कम्पनीहरूले अन्तरिक्ष, मङ्गल ग्रह, चन्द्रमा आदि तिर त्यहाँकै लुनार र मार्शन (lunar and martian) धुलोहरू प्रयोग गरेर विभिन्न आवश्यक सामान, संरचना, स्पेसक्राफ्टहरु यस्तै थ्री डि प्रिन्टिङ जस्ता प्रविधि प्रयोग गरेर बनाउनेबारे धेरै अघिदेखि कल्पना गरिरहेका थिए जुन चाँडै नै वास्तविकतामा परिणत हुने प्रबल सम्भावना देखिएको छ ।
यद्यपि यो कत्तिको सफल हुन्छ भन्ने हेर्न भने बाँकि नै छ । यसका ईन्जिनियरहरुले यो महत्वपूर्ण परक्षणको प्रक्षेपण कस्तो हुनेछ भन्नेबारे हेर्नेछन् र यो घटनालाई उनीहरूले “गुड लक, ह्याब फन” को नाम दिएका छन् । रिलेटिभिटिका वरिष्ठ उपाध्यक्ष जोश ब्रष्ट भन्छन् , “हाम्रो रकेटको पहिलो लक्ष्य भनेकै यो प्रक्षेपणबाट धेरैभन्दा धेरै डेटा सङ्ग्रह गर्नु र सकेसम्म धेरैभन्दा धेरै सिक्नु रहेको छ ।”
ब्रष्ट र उनका सहकर्मीहरू मिलेर यो रकेटले समतापमण्डल (stratoshpere) मा यसले एक मिनेटमै तय गर्ने “म्याक्स क्यु” (max q) भनिने बाटोको बिन्दु (trajectory point) पुग्दासम्म निरिक्षण गर्नेछन् । यो अवस्थामा त्यहाँको तीव्र रूपमा गतिशील हुने चापले रकेटमा निकै दबाब पैदा गर्छ ।
टेर्रान १ तरल अक्सिजन र तरल प्राकृतिक ग्याँसले भरिएको छ । र इतिहाँसमा यस्तो खालको रकेटले यसरी अन्तरिक्षको यात्रा कहिल्यै पनि गरेको छैन । यसको उचाई ११० फीट र व्यास (diameter) चाहीँ ७.५ फीट रहेको छ । र रोचक कुरा के भने यसको ८५% अंश थ्री डी प्रिन्टिङमार्फत नै बनेको हो भने अन्य भागहरू जस्तै कम्प्युटिङ सिस्टम, ईलेक्ट्रोनिक्स र फाष्टनरहरू चाहीँ हैनन् ।
हुन त अन्य कम्पनीहरुले पनि थ्री डी प्रिन्टेड रकेट प्रक्षेपण नगरेका हैनन् तर रिलेटिभिटि स्पेसका अनुसार यो अहिले सम्मकै सबैभन्दा ठूलो हो । यस्तो रकेट र यसका अवयबहरु बनाउनको लागी कम्पनी आफैले विशाल थ्री डी प्रिन्टरहरू बनाएको थियो र सबैभन्दा ठूलोलाई “स्टारगेट” नाम दिइएको छ ।
यस्ता प्रिन्टरहरूले रोबोटिक आर्म (robotic arm) को प्रयोगले आल्मुनियम एल्लोइ (aluminium alloy) को रकेट वा अन्य सामानहरू बनाउँछ । कम्पनीको अनुसार यसको अर्को पुस्ताको प्रिन्टर झनै ठूलो हुनेछ जसले २४ फट व्यास र १२० फीट उचाई भएको रकेट बनाउन सक्छ ।