वर्ल्डलिङ्कले देशका दुर्गम सहित सबै जिल्लामा फाइबर इन्टरनेट पुर्याउँदै!

Worldlink expanded internet including remote areas

वर्ल्डलिङ्कले दुई वर्ष अगाडि स्थापनाको २५ वर्ष पूरा भएको उपलक्ष्यमा देशका दुर्गम सहित सबै जिल्लामा फाइबर इन्टरनेट पुर्याउने लक्ष्य लिएको थियो । सोही लक्ष्य पूरा गर्ने यात्रामा एउटा महत्वपूर्ण कार्य सम्पन्न भएको छ जुम्लामा फाइबर इन्टरनेट पुर्याएर ।

कर्णाली प्रदेशको सबैभन्दा ठूलो शहर सुर्खेत हो भने त्यसपछिको ठूलो शहर जुम्लाको खलङ्गा हो । यही खलङ्गामा चैतको पहिलो साताको बुधबार कम्पनीका प्रबन्ध निर्देशक दिलिप अग्रवालले जुम्लाबाट सुरू भएर कर्णालीका सबै जिल्लामा फाइबर इन्टरनेट सञ्चालनमा ल्याउने र काम सुरू भइरहेको पनि बताएका थिए । 

यो सँगै जुम्लामा फाइबर इन्टरनेट पुर्याउने वर्ल्डलिङ्क पहिलो कम्पनी बनेको छ । काठमाण्डुमै उपलब्ध उच्च गतिको फाइबर नेट सुरू गरेको कम्पनीले लगभग पैसा पनि उस्तै-उस्तै लिएको छ । जस्तै ८० एमबिपिएस फाइबर नेटको लागी वर्ल्डलिङ्कले रू १४०० प्रति महिना लिनेछ ।

खलङ्गामा वर्ल्डलिङ्कले आयोजना गरेको कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले भने, “जुम्लामा इन्टरनेट पहिले हामी वायरलेसबाट ल्यायौँ, त्यसपछि हामीले फाइबर पनि जोड्यौँ । यो फाइबर जोड्नमा धेरै ठूलो लगानी हुन्छ तर हामी त्यो लगानी गर्न तयार छौँ किनभने हामीसँग बिआइआइ (ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट) जस्ता इन्भेष्टरहरूको साथ छ ।”

उनले थपे, “उनीहरूले हामीलाई विश्वास गरेर इन्टरनेटको पहुँचले विकास हुन्छ त्यो शहरको । त्यो धारणा लिएर वहाँहरूले हामीमाथि लगानी गर्नुभयो । र हामीले वहाँहरुको पैसा लिएर जुम्ला शहरमा इन्टरनेटको पहुँच विस्तार गरेका छौँ । नाफा त सबैले कमाउन चाहन्छन् । कम्पनीको स्थापना नै नाफा कमाउन हुन्छ । तर हाम्रो लक्ष्य नाफाभन्दा माथि छ । हामी कर्णाली देशको विकास गर्न चाहन्छौँ ।”

बिआइआइले सुर्खेतबाट खलङ्गासम्म फाइबर पुर्याउनमा प्रमूख भूमिका खेलेको छ । त्यसको लागि वर्ल्डलिङ्कले २३५ किमि फाइबर बिछ्याएको थियो र करिब १५ करोड लगानी गरेको थियो । बिआइआइको सहयोग भएकाले वर्ल्डलिङ्कलाई लगानी र ब्याजको भार कम पर्ने भएकोले पनि कम्पनी चाँडै नै खलङ्गा आउन सफल भएको हो । 

जुम्लाजस्तो विकट जिल्लाको सदरमुकाममा फाइबर नेट पुर्याएसँगै वर्ल्डलिङ्कले अन्य जिल्लामा समेत यो सेवा पुर्याउने आशा र अपेक्षा बढेको छ । योसँगै अन्य कम्पनीहरू पनि यी क्षेत्रहरूमा सेवा पुर्याउन आउने अपेक्षा गरिएको छ । जुम्लाबासीले यो सेवाबाट आफू हर्षित भएको प्रतिक्रिया दिएका थिए ।

दुर्गम जिल्लाहरूमा फाइबर नेट पुर्याउन चाहिने पुँजी ब्याङ्कको ऋण, आन्तरिक स्रोत इत्यादि बाट पुर्ति गर्ने र वैदेशिक सहयोग नचाहिने दाबी वर्ल्डलिङ्कका प्रबन्ध निर्देशकले दुई वर्ष अगाडि गरे पनि बिआइआइको सहयोग लिएर ऊ जुम्ला पुगेको हो ।

कर्णालीका दुर्गम सहित सबै जिल्लामा फाइबर नेट पुर्याउने लक्ष्यको लागि जुम्लाको सफल सुरूवात एउटा कोसेढुङ्गा हुन सक्छ । कर्णाली प्रदेश देशकै सबैभन्दा दुर्गम र विकट क्षेत्रको रूपमा कहलिएको छ ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.