वेब थ्री को बारेमा तपाईँले कत्तिको सुन्नुभएको छ? सन् २०१४ देखि यो शब्द प्रविधि जगतमा चर्चामा छ र यसको विकासमा सिलिकन भ्याल्लिका लगानीकर्ताहरुले आजको मिति सम्ममा बीसौँ अर्ब डलर खन्याइसकेका छन् ।
यद्यपी आजसम्म पनि यसले साकार रुप भने ग्रहण गरिसकेको छैन । हुन त एआर, भिआर, एमआरहरु पनि लामो समयसम्म चर्चामा रहेका थिए तर एप्पल भिजन प्रो लञ्च भएपछि यो अब चाँडै नै मानिसहरुको दैनिक जिन्दगीको हिस्सा हुने पक्का छ ।
वेब थ्री को बारेमा तपाईँलाई थाहा छैन भने सजिलो तरिकाले बुझ्नको लागी बिटकोइनको उदारहण लिऔँ । बिटकोइनको बारेमा त प्रविधि र अर्थतन्त्रमा हल्काफुल्का चासो राख्नेलाई पनि अलिअलि थाहा छ नै । बिटकोइन ब्लकचेन प्रविधिमा आधारित रहेर बनाइएको हो ।
जसरी बिटकोइन सूचना र गोपनीयताको मामिलामा साह्रै सुरक्षित छ, त्यसैगरी वेब थ्री पनि ज्यादै सुरक्षित हुनेछ । तपाईँले अहिले जति पनि अ्याप, सफ्टवेयर, वेबसाइट इत्यादी प्रयोग गरिरहनु भएको छ, त्यसको लागी आफ्ना व्यक्तिगत सूचनाहरु तिनीहरुलाई दिनुपर्ने बाध्यता छ ।
यो वेब टु (Web 2) हो तर वेब थ्री मा चाहिँ तपाईँले आफ्ना सूचनाहरु नदिइकनै ती सबको प्रयोग गर्न सक्नुहुन्छ । यसमा तपाईँका सूचनाहरु गोपनीय रहन्छन् र सुरक्षा पनि धेरै हुन्छ ।
हामी वेब थ्रीको बारेमा स्पष्ट चर्चा गर्नुभन्दा अगाडी वेब वान (Web 1) र वेब टुको बारेमा केही चर्चा गर्नु यहाँ सान्दर्भिक र सहयोगी हुन्छ ।
वेब वान (Web 1)
वेबको यो पहिलो संस्करण वेब पेजहरु सिर्जना गरेर प्रयोगकर्ताहरुलाई विभिन्न स्रोत, सामाग्री, सूचना र तथ्यहरु हेर्न र पढ्नको लागी केही मानिसहरु मिलेर बनाएका हुन्छन् । अर्थात् यसको मूख्य उद्देश्य नै मानिसहरुले अझै राम्रो सूचना पाउन् भन्ने हुन्छ ।
यो वेब संस्करण मानिसहरुले डेटा खोज्नको लागी बनाइएको हुन्छ । यसलाई कहिलेकाहीँ “रिड वन्लि वेब” (Read-Only Web) पनि भनिन्छ किनकी यसमा आजको इन्टरनेटमा जस्तो “लेख्न” ((Write) मिल्दैन अर्थात् स्टेटस लेख्न, पोष्ट गर्न, फर्म भर्न लगायतका प्रयोगकर्ता पनि सहभागी हुन मिल्दैन ।
सन् १९९० देखि २००४ सम्म अत्यधिक प्रयोग गरिएको वेबको यो पहिलो संस्करण इन्टरनेटको पहिलो चरण पनि थियो ।
वेब टु (Web 2)
सन् २००४ बाट वेब टु आएपछि आजसम्म पनि यही संस्करण नै व्यापक प्रयोगमा रहिआएको छ । यसकै कारण नै आजका सोसल मिडिया, अनलाइन गेमिङ, स्ट्रिमिङ लगायतका प्ल्याटफर्महरुको व्यापक विकास भएको हो ।
त्यसको कारण भनेको यो नयाँ वेब संस्करण वेब टु मा प्रयोगकर्ताहरु सहभागी पनि हुन सक्छन् । वेब वानको तुलनामा यो धेरै मानिसहरु मिलेर बनाएको वेब हो जुन विशाल जनसङ्ख्याको सहभागीताको लागी प्रयोग हुन्छ ।
वेब टु मूलत: प्रयोगकर्ताको अनुभवमा केन्द्रित छ । प्रयोगकर्ताहरु बीच अन्तरक्रिया गर्ने, समुदाय बनाउने, प्रतिष्पर्धा गर्ने, विभिन्न डिभाइस र प्रणालीहरुसँग अनुकुल हुने, सहज प्रयोग, प्रयोगकर्ताबाटै सामाग्री सिर्जना गर्ने लगायतका कामहरुमा वेब टु केन्द्रित हुन्छ ।
यो वेब टु लाई धेरैले “रीड अ्याण्ड राइट” (Read and Write) वेब पनि भन्ने गर्छन् किनकी प्रयोगकर्ताको सहभागीता नै यसको मूल लक्ष्य हो । सजिलोसँग बुझ्नुपर्दा आज तपाईँले जति पनि वेब वा इन्टरनेट चलाउनुहुन्छ, त्यो लगभग सबै वेब टु नै हो ।
वेब थ्री (Web 3)
यतिन्जेल तपाईँले बुझिसक्नुभयो होला कि जसरी वेब टु ले वेब थ्री लाई विस्थापन नै गरिदियो, ठिक त्यसैगरी, वेब थ्री ले पनि वेब टु लाइ विस्थापन गरिदिनेछ र यो केही विशेष र उन्नत (advanced) हुनेछ दोस्रो संस्करणभन्दा ।
वेब थ्री ले आज जति पनि ठुला टेक कम्पनीहरु छन् ती सबलाई धुलो चटाउने चर्चा पनि प्रविधि जगतमा हुने गर्छ किनकी यी सबैले प्रयोगकर्ताको डेटाको प्रयोग वा दुरुपयोग गरेर मोटाएका कम्पनीहरु हुन् ।
तर वेब थ्री चाहिँ ब्लकचेन प्रविधिमा आधारित भएर बन्ने भएकोले गर्दा यसले प्रयोगकर्ताको डेटालाई सुरक्षित राख्छ र पनि इन्टरनेट र वेबको भरपुर प्रयोग गर्न दिन्छ ।
वेब थ्री मूलत: विकेन्द्रिकरण, खुलापन र प्रयोगकर्ताको उपयोगीतामा बढी केन्द्रित छ । तसर्थ यसलाई धेरैले “रिड, राइट अ्याण्ड एक्जिक्युट” (Read, Write and Execute) वेब पनि भन्ने गर्छन् ।
वेब टु विभिन्न कम्पनीहरूले बनाएका हुन्छन् तर वेब थ्री बिटकोइन जस्तै संसारभरिका व्यक्तिहरूको साझा प्रयास र सहभागिताबाट बनेको हुनेछ ।
सजिलोसँग बुझ्नुपर्दा, वेब थ्रीले तपाईँलाई फेसबुक, गूगल, टिकटक जस्ता केन्द्रिकृत प्ल्याटफर्महरुबाट बिटकोइन जस्ता विकेन्द्रिकृत र झण्डैझण्डै गुमनाम प्ल्याटफर्महरु तर्फ लैजान्छ । अर्थात् तपाईँका व्यक्तिगत सूचनाहरु पनि गोपनीय रहन्छन् ।
वेब थ्री स्वायत्त, विलक्षण र खुला इन्टरनेट हुनेछ जसमा एआइ र मशिन लर्निङको पनि प्रयोग गरिनेछ जसको मद्दतले एउटा “विश्वव्यापी दिमाग” जस्तो संरचना बनाउन सहयोग गर्नेछ र सामाग्रीहरु सन्दर्भ र विचार अनुसार संश्लेषण हुनेछ ।
वेब थ्रीको मद्दतले मानिसहरुले कम्प्युटर र कुनै स्मार्ट डिभाइसको सहयोग बिना नै इन्टरनेटको प्रयोग गर्न सक्नेछन् । यसले बिटकोइनमा जस्तै बिना कुनै मध्यस्थकर्ता पूर्ण स्वतन्त्रतासाथ मानिसहरुबीच सार्वजनिक रुपमा वा गोप्य रुपमा अन्तरक्रिया गर्न सहयोग गर्छ ।
वेब थ्री अझै पनि विकासको प्रारम्भिक चरणमै छ । टेस्लाका मालिक एलन मस्कले त यसलाई “मार्केटिङ बजवर्ड” (marketing buzzword) समेत भनेका थिए ।
यद्यपी यसका केही कुराहरु भने अहिले नै मानिसहरुले प्रयोग गर्न थालिसकेका छन् । जस्तै ब्लकचेन, डिस्ट्रिब्युटेड लेजर (distributed ledger), NFTs, एआर क्लाउड इत्यादी । साथै Siri र Internet of Things पनि वेब थ्री नै हुन् ।
यसको विकासमा थुप्रै चुनौती र सीमितताहरु पनि छन् । जस्तै एउटा प्रमुख चुनौती मानव आवाजलाई मानिएको छ जुन व्यक्ति पिच्छे फरकफरक हुने भएकाले कुनै एआइले सजिलै बुझ्न साह्रै गाह्रो हुन्छ ।
अहिलेलाई यतिमात्रै बुझ्दा हुन्छ कि सन् २००४ मा वेब टु आएपछि जसरी संसारभरका अरबौँ मानिसहरु इन्टरनेटका विभिन्न प्ल्याटफर्ममा जोडिएर मानिसहरुको जीवनस्तर र जीवनशैलीमा कायापलट नै आयो, वेब थ्रीको विकासले हामी पहिले कहिल्यै नसोचिएका प्ल्याटफर्महरुमा जानेछौँ जुन झन् क्रान्तिकारी, सुरक्षित र गोपनीय हुनेछ ।