वारगेम्स: ख्यालख्यालमै पनि आणविक युध्द हुनसक्छ !

War-games-movie

वर्षौँ भैसक्यो आणविक युध्दको खतरा संघारमै आइसकेको । यो युध्द भयो भने के हुन्छ भन्ने तिर नलागौँ । आइन्सटाइनले उहिल्यै भनिसकेका छन् कि तेस्रो विश्वयुध्द भयो भने कस्तो हतियारको प्रयोग हुन्छ थाहा छैन, चौथो भयो भने चाहीँ ढुङ्गाको हतियार प्रयोग हुन्छ भनेर । 

आणविक युध्द कस्ता कारणहरुले गर्दा हुनसक्छ ? के त्यसको लागी ठूल्ठूला कारणहरु चाहिन्छ ? 

जसरी मानिस-मानिस बीचको सम्बन्धमा स-साना कुराहरुले निकै ठूला समस्याहरु ल्याइदिन्छ, राष्ट्रहरुबीच पनि यस्तै हुने गर्छ । 

राष्ट्रहरु पनि मानिसले नै चलाएका हुन्छन् र राष्ट्रका शासकहरुबीच स-साना कुरामा वैमष्यता आएको खण्डमा तिनले त्यसलाई जनताको अघि बढाइचढाइ गरेर युध्द नै हुने वातावरण बनाइदिन्छन् । 

तर यो पनि एकातिर पन्छ्याइदिऔँ । 

के भ्रम र ख्यालख्यालमै पनि आणविक युध्द हुन सक्छ ? मानिलिऔँ कि अमेरिकाले ठान्यो कि रसियाले उसको देशमा आणविक मिसाइल प्रहार गर्दैछ, त्योभन्दा अघि नै अमेरिकाले रसियामा आणविक आक्रमण गर्न पनि सक्छ । दुबै देश त्यसको लागी तयारी अवस्थामा छन् । 

हो, यस्तै ख्यालख्याल र भ्रममा पनि भयङ्कर आणविक युध्द हुनसक्छ भन्ने चेतावनी दिएको फिल्म हो वारगेम्स जुन शीतयुध्दकाल (१९८३) मा बनेको थियो । शीतयुध्दकालभरी अमेरिका र तत्कालीन सोभियत युनियनबीच आणविक युध्द हुने चर्चा र डर व्यापक थियो । 

वारगेम्सको ट्रेलर

जोन ब्याडमले निर्देशन गरेको यो फिल्म खासगरी प्रविधिमा उत्साहीहरु र प्रविधि क्षेत्रका विद्यार्थीहरुको लागी विशेष रुचिकर हुनसक्छ किनकी यसको नायक नै प्रविधिमा साह्रै उत्साही र पोख्त एक किशोर विद्यार्थी हो । 

यो विद्यार्थी त्यतिबेलै कम्प्युटरमा मात्रै हैन, प्रविधिका अन्य कुराहरुमा पनि साह्रै उत्साही र सिपालु हुन्छ । स्कुलको कम्प्युटर सर्भरको डेटाबेस ह्याक गरेर आफ्नो र आफ्नो साथीको ग्रेड परिवर्तन गर्न सक्छ । 

ऊ स्कुलमा खासै लोकप्रिय छैन, एकलकाट्टे छ तर प्रविधिमा यति उत्साही छ कि अब उसको ख्यालख्यालमै पूरै संसार आणविक युध्दको चपेटामा पर्दैछ र उसले खास के गर्यो भनेर देशका प्रतिष्ठित प्राविधिज्ञहरुलाई पनि थाहा हुँदैन । 

हुन्छ के भने उसले आफ्नो कम्प्युटरबाट एउटा एउटा सैन्य सुपरकम्प्युटर ह्याक गर्छ र त्यसमा रहेको “वारगेम्स” खेल्छ जुन आणविक युध्द सम्बन्धी हुन्छ । उसलाई लाग्छ कि त्यो केबल कम्प्युटर गेम मात्रै हो तर त्यसले अमेरिकाको आणविक विभागमा रहेको सिस्टममै भ्रम पैदा गर्ने क्षमता राख्दो रैछ भनेर उसले पछि मात्रै थाहा पाउँछ । 

उसले सोभियत संघबाट अमेरिकाको आफै बस्ने राज्यमा आणविक आक्रमण गर्ने खालको सेटिङ त्यो गेममा मिलाउँछ तर भोलिपल्ट समाचारमा आउँछ कि अब उक्त ठाउँमा आणविक आक्रमण हुँदैछ भनेर । त्यसपछि मात्रै उसलाई आफू र आफ्नो देश समस्यामा परेको थाहा हुन्छ । 

अमेरिकि सुरक्षा अधिकारीहरुले उसलाई सोधखोज पनि गर्छन् तर ऊ यस्तो तीक्ष्ण बुध्दिवाला र प्रविधिको ज्ञाता हुन्छ कि उसको कुरा त्यहाँ कसैले पनि बुझ्दैनन् । उसको कुरा कसैले पत्याउँदा पनि पत्याउँदैनन् । त्यसपछि कुनै उपायद्वारा ऊ त्यहाँबाट भाग्छ । 

उसलाई के लाग्छ भने अबको अवश्यम्भावी आणविक युध्द रोक्न सक्ने एकमात्रै व्यक्ति भनेको त्यो सैन्य सुपरकम्प्युटर बनाउने र त्यसमा “वारगेम्स” जस्तो गेम बनाउने विद्वान कम्प्युटरशास्त्रीले मात्रै सक्छ । 

समस्या के भने त्यो व्यक्ति मरेको वा दशकौँदेखि गायब भएको कुरा उसलाई थाहा हुन्छ तर साथसाथै उसलाई के पनि लाग्छ भने त्यो व्यक्ति ज्युँदै कतै छ । त्यो कम्प्युटर वैज्ञानिकको नाम थाहा पाउन समेत किशोरलाई केही समय गाह्रो हुन्छ । 

उक्त कम्प्युटर वैज्ञानिकले त्यो सुपरकम्प्युटरमा जुन एल्गोरिदम हालेको हुन्छ, त्यसलाई उसले मात्रै रोक्न सक्छ वा परिवर्तन गर्न सक्छ र त्यो गेम मात्रै हो वा साँच्चिकै हो भन्ने कुरा अन्त्यमा मात्रै खुल्छ । 

यो फिल्ममा कम्प्युटरको किरा (computer geek) ले कसरी अचानक ख्यालख्यालमै सम्पूर्ण संसारलाई आणविक युध्दको संघारमा पुर्याउन सक्छ र त्यो समस्याको समाधान कसरी उसले मात्रै गर्न सक्छ भनेर देखाउँछ । 

विज्ञान र प्रविधिमा साह्रै उत्साही हरुको लागी यो फिल्म प्रेरणादायी छ किनकी यसका नायक र उपनायकहरु नै त्यस्तै छन् । 

साथै शीतयुध्दको समयमा (र शायद आजसम्म पनि) कसरी अमेरिकी अधिकारीहरु चौबीसै घण्टा जुनसुकै बेला सुरु हुनसक्ने आणविक युध्दको लागी तयार भएर बसिरहेका हुन्छन् भनेर पनि धेरै कुरा थाहा हुन्छ । 

त्यो बेला त आजको जस्तो इन्टरनेटको व्यापक विस्तार भएको थिएन र पनि एउटा कम्प्युटरको किराले त्यो हदसम्मको अवस्था ल्याइदिन सक्दो रैछ भने आज हरेकको हातहातमा इन्टरनेट जडित डिभाइस भएको बेलामा झन कस्तो डरलाग्दो अवस्था आउला ?

त्यस्तो समस्या आज पनि आउनसक्छ अझै परिष्कृत र संशोधित रुपमा । र त्यसले महत्वपूर्ण निकायमा बसेका मानिसहरुमा भ्रम सिर्जना गरिदिन्छ जुन नै युध्दको कारण बनिदिन्छ । 

त्यो अवस्था नआओस् भन्नको लागी पनि आणविक हतियार भएका राष्ट्रले सोच्नुपर्ने आवश्यकता छ । 

शीतयुध्दकालीन परिवेशमा आणविक युध्द हुनसक्ने चरम अड्कलबाजी र सम्भावनाबारे थुप्रै फिल्महरु बनेका छन् तर प्रविधिमा साह्रै उत्साहीहरुको लागी भने यो फिल्म विशेष रुचिकर हुन्छ । 

अवश्य हेर्नुहोला । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.