डिलिट भएको फाइल रिकभर गर्ने सबैभन्दा राम्रा सफ्टवेयर।

best software to recover deleted files

जानेर या नजानेर हामी कम्प्युटरबाट धेरै फाइल डिलिट गर्छौँ। पछाडि नचाहिएला भनेर डिलिट गरेको फाइल कुनै बेला एक्कासि काममा आउन सक्छ। यस्तोमा फेरि नयाँ फाइल बनाउनु पर्ने अवस्था पनि सिर्जना हुन सक्छ। 

तर डिलिट भएका फाइलहरु फिर्ता ल्याउन अहिले निकै सफ्टवेयरहरु उपलब्ध छन्। यस्ता सफ्टवेयरहरु रिकभरी सफ्टवेयरको नामले चिनिन्छन्। रिकभरी सफ्टवेयरको सहयोगमा तपाईँहरुले निकै समय अगाडि डिलिट भएका फाइलहरु फिर्ता ल्याउन सक्नुहुन्छ। 

यस आर्टिकलमा फाइल डिलिट भएको खण्डमा प्रयोग गर्न सकिने केही राम्रा रिकभरी सफ्टवेयरहरुको जानकारी प्रदान गरिएको छ। हाल केही सफ्टवेयरमात्र फ्रिमा उपलब्ध हुने हुँदा धेरै पेड भर्जनमा उपलब्ध छन्। 

डिलिट भएका फाइलहरु रिकभर गर्ने केही राम्रा सफ्टवेयरहरु यस प्रकार छन्।

Recuva

Recuva एउटा फ्रि फाइल रिकभरी सफ्टवेयर हो। यो फ्रि भएको कारणले यसले पेड सफ्टवेयरहरु जस्तो काम गर्न सक्तैन। तापनि फ्रि फाइल रिकभरि सफ्टवेयरहरुमा यसलाई सबैभन्दा राम्रो रिकभरी सफ्टवेयर भनेर मान्न सकिन्छ।

यसको युजर इन्टरफेस त सजिलो छ नै तर यस बाहेक यसमा केही पेड भर्जनको जस्तो फङ्सनहरु पनि रहेका छन्। रिकुभाको प्रयोगमा तपाईँहरुले कम्प्युटरको हार्ड ड्राइभ, एक्सटर्नल युएसबि ड्राइभ, सिडि रोमहरु, मेमोरी कार्ड तथा आइपडबाट पनि फाइल रिकभर गर्न सक्नुहुनेछ।

यसको अन्य सुविधाको कुरा गर्ने हो भने यसमा तपाईँहरुले अनलिमिटेड रुपमा फाइलहरु रिकभर गर्न सक्नुहुनेछ। पेड भर्जनको तुलनामा यो धेरै फाइदाजनक कुरा हो। यस बाहेक यसमा तपाईँहरुले डक्युमेन्ट, म्युजिक, भिडियो, पिक्चर गरी हरेक फर्म्याटको फाइल रिकभर गर्न सक्नुहुनेछ।

यसको नराम्रो पक्षको कुरा गर्ने हो भने यसले पेड सफ्टवेयरहरुको जसरी फाइलहरु फेला पार्न सक्दैन। यसको अर्को नराम्रो पक्ष भनेको यो विन्डोजमा मात्र उपलब्ध छ।     

Puran File Recovery

Puran File Recovery पनि एउटा फ्रि फाइल रिकभरी सफ्टवेयर हो। फ्रि फाइल रिकभरी सफ्टवेयर निकै कम छन् तर ती मध्ये यो एउटा राम्रो फाइल रिकभरी सफ्टवेयर हो।

तपाईँहरुले यसबाट डिभाइसको ड्राइभहरु रिकभर गर्न सक्नुहुन्छ र यसमा केही एड्भान्स अपसनहरु पनि उपलब्ध रहेका छन्। यसको अर्को फाइदा भनेको यसमा तपाईँहरुले अनलिमिटेड रुपमा फाइलहरु रिकभर गर्न सक्नुहुन्छ। यस बाहेक डिस्क पार्टिसनको बेलामा हराएका फाइलहरु पनि यसले फेला पार्न सक्छ।  

रिकुभा सफ्टवेयरले केहि फाइल भेटेन भने तपाईँहरुले यसबाट पनि फाइलको लागि स्क्यान गर्न सक्नुहुन्छ तर फ्रि भर्जन भएको हुँदा यसमा पनि सबै फाइल भेटिन्छ भन्ने ग्यारेन्टि हुँदैन।   

यसको नराम्रो पक्षको कुरा गर्ने हो भने यसको युजर इन्टरफेस पुरानो जस्तो लाग्छ। २०१६ देखि यो अपडेट पनि भएको छैन र यसको फाइल रिकभर गर्ने क्षमता पेड भर्जनका सफ्टवेयरहरु जस्तो छैन। यस बाहेक यो विन्डोज प्लाटफर्म मात्र उपलब्ध छ।

Wise Data Recovery

यस लिस्टमा अर्को नाम रहेको छ Wise Data Recovery। यस सफ्टवेयरले तपाईँहरुलाई २ जिबि साइज सम्मको फ्रि फाइल रिकभरी प्रदान गर्छ। हाल धेरै रिकभरी सफ्टवेयरहरु पेड भर्जनमा उपलब्ध हुने हुँदा २ जिबि सम्मको फ्रि फाइल रिकभरी पाउनु पनि निकै राम्रो कुरा हो।

यसको युजर इन्टरफेस सरल र गार्हो दुवै छ। चलाउन सजिलो हुँदा यो सरल छ र अन्य रिकभरी सफ्टवेयर भन्दा चलाउन फरक भएको कारणले यसको युजर इन्टरफेस गार्हो पनि छ। यसमा कम्प्युटरको ड्राइभ मात्र स्क्यान गर्न सकिन्छ।

यसको नराम्रो पक्षको पनि यसको युजर इन्टरफेस नै हो। यसमा अन्य रिकभरी सफ्टवेयरहरु जस्तो डिलिटेड फाइलहरु अगाडि नै नदेखिने हुँदा यी फाइलहरु खोज्न समस्या पर्न सक्छ। यसको लागि यस सफ्टवेयरले स्क्यान गरेपछि बायाँ साइडमा लिस्ट गर्ने फोल्डरहरुलाई एकाएक गरी खोल्दै हेर्नुपर्ने हुन्छ।

यस बाहेक यसमा कुनै एउटा फोल्डर मात्र स्क्यान गर्न मिल्ने अपसन पनि प्रदान गरिएको छैन। तर यसको फिचरहरु सिमितता फ्रि भर्जनको लागि मात्र हुन सक्छ। विन्डोज र म्याक दुवै प्लाटफर्ममा यो सफ्टवेयर सपोर्ट हुन्छ। 

MiniTool Power Data Recovery

अर्को राम्रो सफ्टवेयर रहेको छ “MiniTool Power Data Recovery”। MiniTool ले पेड सब्सक्रिप्सन बाहेक १ जिबि सम्मको फ्रि फाइल रिकभरी प्रदान गर्छ। यो फिचरको लागि MiniTool राम्रो छ।

यसको युजर इन्टरफेस सजिलो छ र यो चलाउन केही गार्हो पर्ने छैन। यसबाट तपाईँहरुले आफ्नो कम्प्युटरको डिस्कहरु, डेस्कटप, रिसाइकल बिन या कुनै फोल्डर सेलेक्ट गरेर त्यसमा डिलिटेड फाइलका लागि स्क्यान गर्न सक्नुहुनेछ। 

यस सफ्टवेयरमा तपाईँहरुले थप एक्सटर्नल डिस्क, पेन ड्राइभ, मेमोरी कार्ड आदि डिभाइसहरु स्क्यान गरी फाइल रिकभर गर्न सक्नुहुनेछ। फाइल फर्म्याटको कुरा गर्ने हो भने यसले सबै प्रकारका फाइल फर्म्याट सपोर्ट गर्छ।

 १ जिबि भन्दा माथिको फाइल रिकभर गर्न तपाईँहरुले यसको सब्सक्रिपसन लिनुपर्ने हुन्छ। यो सफ्टवेयर विन्डोज र म्याक दुवै प्लाटफर्ममा सपोर्ट हुन्छ। 

Wondershare Recoverit

Wondershare Recoverit अर्को राम्रो फाइल रिकभरी सफ्टवेयर हो। यो मुख्यतया पेड भर्जन भए तापनि १०० एमबि सम्मको फाइल तपाईँहरुले यसमा फ्रिमानै रिकभर गर्न सक्नुहुनेछ। 

यसको युजर इन्टरफेस निकै सरल छ। यसमा तपाईँहरुले आफ्नो कम्प्युटरको ड्राइभहरु स्क्यान गर्न सक्नुहुन्छ भने कुनै एउटा फोल्डर मात्र पनि ब्राउज गरी स्क्यान गर्न सक्नुहुन्छ। यस बाहेक तपाईँहरुले रिसाइकल बिन, एक्सटर्नल हार्ड डिस्क, पेन ड्राइभ, मेमोरी कार्डहरु पनि यसमा स्क्यान गरी फाइल रिकभर गर्न सक्नुहुनेछ।

यसको अर्को राम्रो कुरा भनेको तपाईँहरुले यसमा हराएका फाइलहरुका साथै ड्यामेज भएका भिडियो फाइलहरु पनि मर्मत गर्न सक्नुहुन्छ। यसमा धेरै फाइल फर्म्याटको अप्सनहरु रहने हुँदा हरेक प्रकारका फाइलहरु यसबाट रिकभर गर्न सकिन्छ। 

यसको अर्को राम्रो पक्ष भनेको तपाईँहरुले यसमा ५०० एमबि सम्म फाइल रिकभर क्षमता बढाउन सक्नुहुन्छ तर यसको लागि तपाईँहरुले एउटा अर्को सफ्टवेयर डाउनलोड गरी त्यसमा साइन-अप गर्नुपर्ने हुन्छ। तर यो अफर केहि समयमा हराउन पनि सक्छ। यो सफ्टवेयर विन्डोज र म्याक दुबै प्लाटफर्ममा प्रयोग गर्न सकिन्छ।

AnyRecover Data Recovery

अर्को राम्रो फाइल रिकभरी सफ्टवेयर हो AnyRecover Data Recovery। यसको युजर इन्टरफेस एकदमै सरल हुनुको साथै राम्रो पनि छ। 

यसमा तपाईँहरुले कम्प्युटरको अलग-अलग ड्राइभहरु स्क्यान गर्नुको साथै रिसाइकल बिन, डेस्कटप या कुनै एउटा फोल्डर मात्र सेलेक्ट गरी डिलिट भएका फाइलहरुको लागि स्क्यान गर्न सक्नुहुनेछ। तपाईँहरुले यसमा एक्सटर्नल डिस्क, मेमोरी कार्ड, पेन ड्राइभ लगायत अन्य एक्सटर्नल डिभाइसहरु पनि स्क्यान गर्न सक्नुहुनेछ।

यसमा आइफोन सक्यानको लागि पनि थप फिचर राखिएको छ भने युएसबिलाई बुटेबल बनाएर ड्यामेज भएको कम्प्युटरबाट पनि फाइलहरु रिकभर गर्न सकिनेछ।

यसले फर्म्याट हुँदा हराएका फाइल, पार्टिसन हुँदा हराएका फाइल तथा भाइरसले ड्यामेज भएका फाइलहरु पनि रिकभर गर्न सहयोग गर्छ। यसले सबै फाइलका प्रकारहरु सपोर्ट गर्ने हुँदा यसमा डक्युमेन्ट, पिक्चर, भिडियो लगायत सबै प्रकारका फाइलहरु रिकभर गर्न सकिन्छ।

यसमा फ्रिको लागि मात्र १०० एमबि सम्मको फाइल साइज छुट्याइएको छ भने यो भन्दा माथिको फाइल साइज रिकभर गर्न सब्सक्रिप्सन लिनुपर्ने हुन्छ। यसको नराम्रो पक्ष भनेको यहि नै हो। यो सफ्टवेयर विन्डोज र म्याक युजरहरुले प्रयोग गर्न सक्नुहुनेछ।  

Ease US Data Recovery

Ease US Data Recovery एउटा राम्रो फाइल रिकभरी सफ्टवेयर हो। यसको राम्रो पक्षको कुरा गर्ने हो भने यसको युजर इन्टरफेसको कुरा आउँछ। यसको युजर इन्टरफेस निकै सरल छ र यो चलाउन केही अप्ठ्यारो महसुस हुने छैन।       

यसबाट तपाईँहरुले कम्प्युटरको ड्राइभहरु, रिसाइकल बिन, डेस्कटप या कुनै फोल्डर सेलेक्ट गरी त्यसलाई स्क्यान गरेर फाइलहरु रिकभर गर्न सक्नुहुनेछ। यस बाहेक तपाईँहरुले यो सफ्टवेयरबाट कम्प्युटर, ल्यापटप, हार्ड ड्राइभ, मेमोरी कार्ड, पेन ड्राइभ, डिजिटल क्यामेरा जस्ता थुप्रै डिभाइसहरुको लागि फाइल रिकभर गर्न सक्नुहुन्छ।

फाइल फर्म्याटको कुरा गर्दा यसमा इमेज, भिडियो, डक्युमेन्ट जस्ता फाइलहरुको लागि धेरै फाइल फर्म्याटको सपोर्ट रहेको छ। 

हाल यसको फ्रि भर्जन भने छैन र यसबाट तपाईँहरुले साना साइजका फाइल रिकभर गर्न पनि सब्स्क्रिपसन लिनुपर्ने हुन्छ। फाइल प्रिभ्यु जस्ता फिचरहरु तपाईँहरुले पेड भर्जनमा भेट्नुहुनेछ। यो विन्डोज र म्याक दुबैमा सपोर्ट हुन्छ।

Stellar Data Recovery

Stellar Data Recovery अर्को राम्रो फाइल रिकभरी सफ्टवेयर हो। यसमा तपाईँहरुले डक्युमेन्ट्स, फोल्डर, इमेल, फोटो, अडियो तथा भिडियो गरी धेरै फर्म्याटका फाइलहरु रिकभर गर्न सक्नुहुन्छ।

Stellar Data Recovery सफ्टवेयर खोल्ने बित्तिकै तपाईँहरुले आफुलाई मन लागेको फाइल फर्म्याट सेलेक्ट गर्नुपर्ने हुन्छ। फाइल फर्म्याट गरेपछि यसको होम पेजमा प्रवेश गरिनेछ जहाँबाट तपाईँहरुले हराएका फाइलहरुकाे लागि स्क्यान गर्न सक्नुहुन्छ।

यसमा तपाईँहरुले कम्प्युटरको ड्राइभहरु, डेस्कटप, डक्युमेन्ट्सहरु, डिस्क तथा कुनै लोकेसन सेलेक्ट गरी स्क्यान गर्न सक्नुहुनेछ। यसका साथै यसले डेस्कटप, ल्यापटप, युएसबि ड्राइभ, मेमोरी कार्ड र अन्य स्टोरेज डिभाइसहरुलाई पनि सपोर्ट गर्छ।

कुनै एक प्रकारको फाइल फर्म्याट मात्र स्क्यान गर्न मन लाग्यो भने माथि रहेको आइकनहरु बाट ब्याक अ्यारो आइकनमा क्लिक गरेर यसो गर्न सकिनेछ। विन्डोज तथा म्याक दुवै प्लाटफर्मको लागि यो उपलब्ध छ।

यसको फ्रि भर्जनमा पहिला १ जिबि सम्म डाटा निकाल्न सकिन्थ्यो भने हाल यसको फ्रि भर्जन भनेको डेमोको लागि मात्र सिमित छ। फाइल कम्प्युटरमा रिकभर गर्न सब्सक्रिपसन लिनुपर्ने हुन्छ। यसको डेमो भर्जनमा नै प्रिभ्युको लागि अपसन छ तर फाइल एक्सट्राक्ट गर्न नसकिने हुँदा यसको खासै महत्त्व छैन। 

अन्य केही रेकमेन्डेसन

रिकभरी सफ्टवेयरहरु यतिमा मात्र सिमित छैनन्। माथि उल्लेखित सफ्टवेयरहरु बाहेक अन्य निकै सफ्टवेयरहरु अहिले उपलब्ध छन्। ती मध्ये केही सफ्टवेयरहरुले टेस्टिङको क्रममा सोचे बमोजिम काम नगरेर यस लिस्टमा समावेश गर्न सकिएन। तापनि यी सफ्टवेयरहरु तपाईंहरुले चलाउन सक्नुहुनेछ। 

  • Free Undelete (फ्रि सफ्टवेयर)
  • Ontrack Easy Recovery (१ जिबि फ्रि)
  • iBeeSoft Data Recovery (पेड सब्सक्रिप्सन)

अन्त्यमा,

अहिले फाइल रिकभरी सफ्टवेयरहरुको उपस्थितिमा फाइल रिकभर गर्न निकै सजिलो बनेको छ। खोजेको फाइल भेटिएला वा नभेटिएला त्यो आफ्नै ठाउँमा छ तर प्रयास सम्म पनि गर्न सकिने बनेको छ। यो पनि राम्रो कुरा हो। त्यसैले फ्रि छँदै यी सफ्टवेयरहरुको फाइदा लिनु राम्रो हुन्छ किनभने भोलि नै यी सफ्टवेयरहरु पेड पूर्ण रुपमा पेड पनि बन्न सक्छन्।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.