विन्डोज १२ यस्तो हुनेछ !

MS Windows 12

विन्डोज १२ (Windows 12) बारे प्रविधि बजारमा विगत केही महिनादेखि थुप्रै हल्ला चल्दै आएका छन् । माइक्रोसफ्ट कम्पनी आफैले आधिकारिक रूपमा जानकारी नदिए पनि यो अब सन् २०२४ मा आउने अनुमान गरिएको छ र यो कस्तो होला भन्ने जिज्ञासा आम विन्डोज प्रयोगकर्ताहरूलाई छ ।

हल्ला चल्नुको एउटा कारण भनेको माइक्रोसफ्टले सामान्यतया तीन वर्षको फरकमा नयाँ विन्डोज सार्वजनिक गर्ने गरेको छ । जस्तै विन्डोज ७ बाट विन्डोज ८ मा जाँदा, र त्यसपछिको विन्डोज १० मा जाँदा मोटामोटी तीन वर्षको फरक छ । विन्डोज ११ आएको तीन वर्ष भएकोले पनि धेरैले विन्डोज १२ को हल्ला चलाएका हुन् । यहाँ ध्यान दिनुपर्ने कुरा के भने विन्डोज १० बाट विन्डोज ११ मा आउँन भने माइक्रोसफ्टले छ वर्ष लगाएको थियो ।

विन्डोज १२ ले युजर इन्टरफेसमा प्रगति गर्ने, एन्ड्रोइड एप अझै धेरै सपोर्ट गर्ने, एआइलाई समावेश गर्ने र Settings एपलाई थप भरपर्दो पार्ने अनुमान प्रविधि जगतमा गरिएको छ । र यसको मूल्यचा हि‌विन्डोज १० र विन्डोज ११ का प्रयोगकर्ताहरुलाई निशुल्क अपडेट गर्न दिइने अनुमान छ भने अन्यलाई चाहिं  विन्डोज ११ को भन्दा हल्का बढी मूल्य तोक्नेछ ।

यो बाहेक अन्य के-के विशेषताहरू थपिनेछन् त ? त्यसबारे हामी यहाँ चर्चा गर्दैछौँ यद्यपि यी प्राय: अनुमान र हल्लामा आधारित हुन् ।

विन्डोज १२ का सम्भावित फीचरहरू

माथि नै भनिसकियो कि माइक्रोसफ्टले आधिकारिक रूपमा विन्डोज १२ का केही पनि कुराहरू पुष्टि गरेको छैन तर पनि प्रविधि जगतमा थुप्रै अनुमान र अपेक्षाहरू गरिएका छन् । स-सान आइकन, सेटिङ्स, एनिमेशन, अपडेट र कार्यक्षमता त भैहाल्यो, अन्य मूख्य परिवर्तनहरूको बारेमा हामी यहाँ तपाईँलाई जानकारी दिँदैछौँ ।

नयाँ युजर इन्टरफेस

सन् २०२२ को अक्टोबरमा माइक्रोसफ्टले आफैले झुक्किएर यसको नयाँ युजर इन्टरफेस सार्वजनिक गरेको थियो र पछि बन्द गर्यो । त्यतिबेला देखिएको इन्टरफेस अनुसार यसको सबैभन्दा तल टस्कबार डक (taskbar dock), त्यसको सबैभन्दा माथि सर्च बार (search bar) र स्क्रीनको कुनातिर चाहीँ विभिन्न आइकनहरू रहेका थिए । 

भन्नाले यसको सर्च बारबाहेक अरू पहिलेको जस्तै-जस्तै हुनेछ । यद्यपि विन्डोज सेन्ट्रलका अनुसार युआइ (UI) मा अन्य परिवर्तनहरू पनि हुनेछन् । जस्तै लक स्क्रीन अहिलेको भन्दा ज्यादा राम्रो र प्रयोगपरक, नोटिफिकेशन सेन्टरमा विभिन्न बदलावहरू आउनेछन् ।

कन्सेप्ट सेन्ट्रलले विन्डोज १२ को सम्भावित नयाँ युजर इन्टरफेस तलको भिडियोमा हुने जस्तो अनुमान गरेको छ ।

आर्टिफिसल इन्टेलिजेन्स

च्याटजिपिटिको निर्माण गरेर प्रविधि जगतमा तहल्का मच्चाएको ओपनएआइ कम्पनीमा माइक्रोसफ्टले पनि दशौँ अर्ब डलर लगानी गरेको छ । र हामी सहजैँ अनुमान गर्न सक्छौँ कि उसले त्यसको सदुपयोग आफ्नो विन्डोज १२ मा पनि गर्नेछ भनेर । 

हुन त विन्डोज ११ को टस्कबारमा Bing AI को लागि  शर्टकर्ट अहिले नै उपलब्ध छ तर विन्डोज १२ मा भने अझै थपथाप पारेर इमेल लेख्न, माइक्रोसफ्ट वर्डहरूमा र इमेज एडिटिङमा समेत एआइको प्रयोग गरिने व्यापक आँकलन गरिएको छ । 

त्यति मात्र हैन, विन्डोजमा गरिने अन्य थुप्रै कुराहरू जस्तै भिडीयो कन्फेरेन्सिङ, सर्च इत्यादिमा पनि एआइको प्रयोग गरिने अनुमान छ । 

कन्ट्रोल प्यानल हुने छैन !

हुन त विन्डोज ८ मै सेटिङ्स ल्याइसकेपछि कन्ट्रोल प्यानललाई विस्थापित गर्ने आँकलन थियो तैपनि विन्डोज ११ सम्म आइपुग्दा समेत यसको उपस्थिति अझै छ । तर अब यसको उपादेयतालाई पूर्ण रूपमा सेटिङ्समै समावेश गरेर कन्ट्रोल प्यानल हटाउने अनुमान थुप्रै प्राविधिक विज्ञहरूले गरेका छन् । 

एन्ड्रोइड एपहरूको एपिके (Android Apps’ APK)

हुन त विन्डोज ११ मै थुप्रै एन्ड्रोइड एपहरू इन्स्टल गर्न सकिन्छ तर त्यो यसमार्फत पहुँच पाइने अमेजन स्टोरमा मात्र हो जसमा यसका आफ्नै सीमितताहरू छन् । अबचाहिं विन्डोज १२ ले एन्ड्रोइड एपका एपिके फाइलहरू इन्स्टल पनि गर्न मिल्ने पार्नेछ भन्ने अनुमान गरिएको छ । 

विन्डोज १२ इन्स्टल गर्न आवश्यक कुराहरू

माथि नै भनिसकियो कि विन्डोज १० र विन्डोज ११ का प्रयोगकर्ताहरूले सित्तैमा विन्डोज १२ अपडेट गर्न सक्नेछन् । त्यसको अर्थ यी  तिनैवटा अपरेटिङ सिस्टमको लागि आवश्यक पर्ने कुराहरू लगभग समान छन् । ता पनि हल्का भने हुन सक्छन् ।

विन्डोज १२ को इन्स्टल गर्नको लागि तपाईं को कम्प्युटरको र्याम ८ जिबि, ६४ जिबि स्टोरेज, ६४ बिट प्रोसेसर, १ गिगा हर्ज सिपियु क्लक स्पीड (CPU clock speed) र माइक्रोसफ्ट अकाउण्ट हुनुपर्नेछ । यी न्युनतम आवश्यकताहरू प्रविधि जगतमा अनुमान गरिएका हुन् ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.