प्रविधि सम्बन्धी १० मिथकहरू

myth on tech

संसारमा प्राय: सबै क्षेत्रहरूमा भ्रम र मिथकहरू हुन्छन् जसलाई धेरै लामो समयसम्म बिना प्रमाण आँखा चिम्लिएर पत्याउने गरिन्छ । प्रविधिको क्षेत्रमा पनि त्यस्ता थुप्रै भ्रमहरू छन् जसलाई दशकौँदेखि पत्याइदै आइएको पाइन्छ ।

हामी यहाँ तपाईँलाई त्यस्ता १० मिथकहरूबारे बताउँदैछौँ जुन शायद तपाईँले पनि पत्याउँदै आउनुभएको छ । ती केबल मिथक हुन्, सत्य हैनन् भनेर थाहा पाउँदा तपाईँलाई पनि अचम्म लाग्न सक्छ । आउनुस् ती बारे यहाँ चर्चा गरौँ ।

१. एआइ मान्छेभन्दा खत्रा हुन्छ 

हामी सबैले प्रायश्च: प्रमाणको आधारमा भन्दा पनि कुनै कुराले हामीलाई कस्तो र कत्तिको प्रभाव पार्छ भन्नेमा आधारित भएर धारणा बनाउने गर्छौँ र एआइको बारेमा पनि हामीले प्राय: टर्मिनेटर जस्ता फिल्महरू हेरेर धारणा बनाएका हुन्छौँ ।

यो पनि पढ्नुहोस्: एआइ कस्ता क्षेत्रमा दुरूपयोग हुन सक्छ ?

त्यति मात्रै हैन, यो कत्तिको शक्तिशाली छ भन्ने कुरा पनि हामी आफैले त्यसको प्रयोग गरेर वा प्रामाणिक तथ्याङ्क हेरेर भन्दा पनि यो सम्बन्धी चर्चित मानिसहरूले भनेका कुराहरू र यसको कारण जागिर र व्यापार गुम्न सक्नेहरूले फैलाएको त्रासलाई आधार मानेर धारणा बनाउँछौँ ।

खासमा एआइ मान्छेभन्दा शक्तिशाली बनिसकेको छैन र शायद बन्न पनि नसक्ला लामै समयसम्म । कतिपय क्षेत्रमा बिलकुलै यसले मान्छेले भन्दा खत्रा काम गर्न सक्छ तर त्यसको मानिसले नै समीक्षा नगरिकन विश्वास गर्न पनि सकिन्न ।

२. प्रविधि सम्बन्धी जागिर खान कलेज डिग्री नै चाहिन्छ

प्रविधी सम्बन्धी जागिर खानको लागी आइटि वा यो सम्बन्धी कलेज डिग्री नै हाँसिल गर्नुपर्छ भन्ने छैन । खासमा आइटि मात्रै हैन, ११,१२ कक्षामा साइन्स नै नपढिकन पनि प्रविधि क्षेत्रमा प्रतिष्ठित जागिर खान सकिन्छ

तपाईँमा आइटि सम्बन्धी विभिन्न सीप छ भने तपाईँ घरमै बसीबसी इन्टरनेट र ल्यापटपको भरमा थुप्रै कामहरू गर्न सक्नुहुन्छ । नेपालमै पनि कलेज डिग्री बिना नै भर्खरै एइइ दिएर बसेकाहरूले समेत विभिन्न सीप सिकेर विभिन्न कम्पनीहरूमा काम गरिरहेका छन् । 

३. प्रविधि क्षेत्रमा काम गर्ने महिलाहरू थोरै छन्

एक दशक अगाडिसम्म पनि प्रविधि क्षेत्रमा कमै महिलाहरूको रूचि हुन्थ्यो तर अहिले संसारभरी उनीहरूको रूचि र सहभागीता बढ्दो छ । खासमा महिलाहरू आइटिका कतिपय क्षेत्रहरूमा वा खास कामहरूमा पुरूषभन्दा धेरै उत्कृष्ट काम पनि गर्न सक्छन् ।

हुन त आजसम्म संसारका प्रविधि क्षेत्रमा कुनै चर्चित महिलाको नाम सुनिएको छैन तर अब त्यो दिन अर्को दशकमा चाँडै नै नआउला भन्न सकिन्न । थुप्रै खतरनाक महिला ह्याकरहरू हुन्छन् भन्ने कुरा तपाईँले द गर्ल विथ ड्र्यागन ट्याट्टु जस्ता फिल्मबाट पनि थाहा पाउन सक्नुहुन्छ । 

साथै आइटिको व्यापक विकास र अवसरको कारण थुप्रै महिलाहरू यो क्षेत्रमा आकर्षित भएका छन् । तपाईँले आइटि कम्पनीहरूमा हेर्नुभयो भने थुप्रै महिलाहरू भर्ती भएको अहिले नै पनि देख्न सक्नुहुन्छ । 

४. विन्डोमा रिफ्रेश गर्यो भने कम्प्युटर छिटो चल्छ 

यो मिथक चल्न थालेको बीसौँ वर्ष अगाडिदेखि हो र आजसम्म पनि यो कुरा पत्याइन्छ तर रिफ्रेश गर्दैमा कम्प्युटर छिटो चल्छ भन्ने प्रमाण केहि पनि छैन । खासमा यसको मुख्य काम भनेको विभिन्न त्रुटी र ग्लीच (glitch) हरू समाधान गर्ने हो ।

तपाईँले हेर्नुभयो भने रिफ्रेश गर्दा डेस्कटपका आइकनहरू झिलिक्क हराएर फेरी आइहाल्छ तर कम्प्युटर छिटो हुँदैन, छिटो भएको जस्तो भान चाहिँ हुन्छ केहिबेर सम्म । खासमा रिफ्रेशले भन्दा पनि त्यो गर्दा लाग्ने समयमा यसै पनि उसै पनि कम्प्युटर छिटो चल्ने हुन्छ ।

सत्य कुरा के हो भने रिफ्रेश गर्दा कम्प्युटर छिटो हैन, ढिलो चाहिँ चल्न थाल्छ किनकी यसले थुप्रै कामहरूलाई फेरि पनि सुरूको अवस्थामा पुर्याइदिन्छ र फेरी पनि प्रोसेसरले धेरै कामहरू सुरू गर्नुपर्छ । 

५. सार्वजनिक वाइफाइ खतरामुक्त हुन्छ

सित्तैमा पाए अलकत्रा पनि खाने बानी धेरैको हुन्छ र त्यस्तो अलकत्राहरू मध्ये सार्वजनिक वाइफाइ पनि हो जुन सजिलै निशुल्क तपाईँले चलाउन सक्नुहुन्छ । तर चलाउने मध्ये धेरै कमलाई मात्रै अनुमान होला कि यो कति खतरापूर्ण छ भनेर । 

यस्ता सार्वजनिक वाइफाइले तपाईँको डिभाइसबारे थुप्रै सूचनाहरू त थाहा पाउँछन् नै, साथै तपाईँका विभिन्न अकाउण्ट विवरणहरू पनि थाहा पाउन सक्छन् । तपाईँलाई थाहै नदिई ह्याकरहरूले ह्याक र फिसिङ आक्रमण गर्न सक्छन् । 

साइबर आक्रमणको अलावा तपाईँका थुप्रै गोप्य कुराहरू पनि यसले चोर्न सक्छ र भाइरस तथा म्यालवेयर मार्फत् तपाईँको डिभाइसमा आक्रमण गर्न सक्छ । ह्याकरहरूले हुँदै नभएको वाइफाइ पनि सिर्जना गर्न सक्छन् जसमा तपाईँले टन्नै सूचनाहरू चुहाउन सक्नुहुन्छ । 

६. प्राइभेट वा इनकग्निटो मोड पूर्णत: प्राइभेट हुन्छ

थुप्रै मानिसहरूले के ठान्छन् भने ब्राउजरको प्राइभेट वा इनकग्निटो मोडमा जाँदा झण्डै-झण्डै भिपिएनको जस्तै गोप्य हुन्छ जुन सत्य होइन । वेबसाइटलाई आफ्नो आइपी अ्याड्रेस थाहा हुन्न वा ब्राउजरलाई आफ्नो पासवर्ड थाहा हुन्न जस्ता कुरा पनि धेरैले सोच्छन्। 

खासमा इनकग्निटो मोडको काम भनेको तपाईँले खोलेका साइटहरूलाई वेब हिस्टोरीमा नराख्ने मात्रै हो, त्योभन्दा बढी खासै केहि हैन । अर्थात् यो बाहेक तपाईँले यो मोडबाट खासै केहि पनि सुविधा लिन सक्नुहुन्न । 

७. धेरै मेगापिक्सल भयो भने क्यामरा पनि राम्रो हुन्छ 

प्राय: सबैले फोन वा क्यामरा किन्दा मेगापिक्सल मात्रै हेरेर किन्ने गर्छन् किनकी तिनलाई लाग्छ कि फोटो वा भिडियो राम्रो आउनको लागी मेगापिक्सल धेरै हुनुपर्छ र सोही अनुसार क्यामरा पनि राम्रो हुन्छ । तर एक हदसम्म यो कुरा सत्य भए पनि खासमा धेरै हदसम्म यो पनि एउटा मिथक नै हो । 

क्यामरा जानकारहरूका अनुसार खासमा फोटो वा भिडियो राम्रो आउनको लागी मेगापिक्सल मात्रै हैन, यसको लेन्स, सर्किट्रि (circuitry), सेन्सर इत्यादी पनि राम्रो हुनुपर्छ । साथै फोटो खिच्दा चाहिने लाइटिङ, कम्पोजिशन, कन्ट्रोल जस्ता तपाईँको व्यक्तिगत खुबीको पनि महत्वपूर्ण हात हुन्छ । 

८. रातभरि चार्ज गर्यो भने ब्याट्री चाँडो सक्किन्छ

कतिपयले मोबाइल रातभरि चार्ज गर्यो भने ब्याट्रि चाँडै सकिन्छ भन्ने मिथक दशकौँदेखि पत्याउँदै आएका छन् जसको कुनै प्रमाण आजसम्म फेला परेको छैन । सामान्यतया ब्याट्रिचार्ज २०-८०% सम्म राख्दा चाहिँ राम्रो हो भनिन्छ ।

ब्याट्रि बनाउने कम्पनीका प्राविधिकहरू र स्वतन्त्र विज्ञहरूले समेत ब्याट्रि फूल भएर पनि रातभरि चार्ज गरे पनि यसको आयुमा खासै फरक नपर्ने कुरा पटकपटक बताएका छन् । 

९. नेटवर्क टावरको कारण मानिसलाई रोग लाग्छ

मोबाइल कम्पनीले तपाईको घरमा टावर राख्न खोज्यो !के हो त रेडिएसन को वास्तविकता ? भन्ने हामीले छुट्टै लेख लेखेका छौँ जसमा मोबाइल टावरले फ्याल्ने रेडिएशनको बारेमा विभिन्न भ्रमहरूलाई चिर्ने प्रयास गरिएको छ । 

खासमा टावरको कारण मानिसलाई क्यान्सर लगायतका विभिन्न घातक रोगहरू लाग्छ भन्ने कुरा फगत मिथक हो र त्यस्तो दाबीको कुनै पनि प्रमाण फेला परेको छैन । कसैले तपाईँको घरमा टावर राख्न आयो भने जायज पैसा लिएर राख्न दिए हुन्छ । 

१०. र्याम धेरै भयो भने कम्प्युटर छिटो चल्छ 

अर्को एउटा पत्यारिलो जस्तो लाग्ने तर मिथक के हो भने धेरै र्याम भयो भने कम्प्युटर पनि छिटो चल्छ । यो कुरा पत्याएर धेरैले भएको राम्रो र्याम पनि झिकेर धेरै-धेरै स्टोरेज भएको र्याम हाल्ने गर्छन् तर त्यसको नतिजा सोचे अनुसार नपाएर पछि पछुताउँछन् । 

खासमा र्याम भनेको चालु प्रोग्रामहरू स्टोर गर्नको लागी चाहिने अस्थायी स्टोरेज स्पेसभन्दा बढि खासै केहि पनि हैन । प्रोग्रामहरू चल्नको लागी पर्याप्त र्याम जरूर चाहिन्छ तर यो धेरै भयो भन्दैमा कम्प्युटर छिटो चाहिँ चल्दैन । 

भन्न खोजेको तपाईँको कम्प्युटरमा प्रोग्रामहरू चलाउनको लागी ३ जिबि र्याम चाहिन्छ तर तपाईँसँग २ जिबि मात्रै छ भने ४ जिबि र्याम राख्दा पक्कै पनि कम्प्युटर छिटो चल्छ । तर छिटो चलाउनको लागी चाहिँदैनचाहिने ८ वा १६ जिबि र्याम हाल्दैमा पहिलेभन्दा छिटो चाहिँ चल्दैन । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.