मृत्यु भएपछि तपाईको फेसबुक एकाउन्टको स्थति के हुन्छ?

What happens to your Facebook account when you die

फेसबुक हाम्रो जीवनको एउटा अमुल्य हिस्सा बनिसकेको छ। आफुले गरेका काम हरु देखि लिएर, जीवनको दैनिक क्रियाकलापहरु हामी सबै फेसबुक मार्फत आफ्नो साथीहरु र आफन्तहरुमा शेयर गर्ने गर्छौं। यसरी नै हामीले जानेर वा नजानेर भए पनि आफ्नो जीवनको अमुल्य पल र सम्झनाहरु फेसबुकमा कैद गरेर राखेका छौ।  

तर कहिले सोच्नु भएको छ तपाईको मृत्यु भएपछि तपाईको फेसबुकमा भएको सबै तस्बिर, सेल्फि, स्टेटस र तपाईले सिर्जना गर्नु भएका ती सबै सम्झनाहरूको स्थति के हुन्छ? अर्थात् तपाइको मृत्यु पछि तपाईको फेसबुक एकाउन्ट के हुन्छ होला- त्यस्तै रहन्छ, हराएर जान्छ वा ब्लक हुन्छ ?

मेमोरियलाइज्ड एकाउन्ट

फेसबुकको टर्म्स र कन्डिसन अनुसार, प्रयोगकर्ताको मृत्यु पछि उनीहरुको फेसबुक एकाउन्टलाई “मेमोरियलाइज्ड एकाउन्ट” भनेर राखिन्छ। मेमोरियलाइज्ड एकाउन्ट भए पछि उक्त प्रयोगकर्ताको प्रोफाइल नाम माथि ‘रिमेम्बरिङ‘ भनेर देखाउँछ, जसबाट व्यक्तिको मृत्यु भइसकेको भनेर थाहा पाउन सकिन्छ। एकाउन्टको प्राइभेट सेटिङको आधारमा उक्त प्रयोगकर्ताको साथी र परिवारहरुले टाइमलाइनमा मेमोरीजहरु शेयर गर्न पनि सक्छन् ।

यसरी मृतकका आफन्त वा परिवारले मृत व्यक्तिको टाइमलाइनमा शेयर गरिएका फोटो, पोस्टहरु मार्फत उनिहरुलाई सम्झी रहन सक्छन। साथै मेमोरियलाइज्ड गरिएका प्रोफाइलहरू पिपल यु मेय नो, एड्स र बर्थडे रिमाइन्डर जस्ता पब्लिक इस्पेसहरुमा देखिदैन र यस्तो एकाउन्टमा कुनै पनि व्यक्तिले लगईन गर्न पनि मिल्दैन। 

लिगेसी कन्ट्याक्ट्स

यदि तपाइँ फेसबुक एकाउन्टलाइ आफ्नो मृत्युपछि मेमोरियलाइज्ड एकाउन्टको रुपमा राखी रहन चाहनुहुन्छ भने, तपाइले ‘लिगेसी कन्ट्याक्ट’ सेलेक्ट गरेर राख्नु पर्ने हुन्छ। लिगेसी कन्ट्याक्ट चाही त्यस्तो व्यक्ति हो, जसले तपाइको मृत्यु पछि पनि तपाइको फेसबुक प्रोफाइलको हेरचाह गरीदिन्छ। 

यसरी लिगेसी कन्ट्याक्टको रुपमा सेलेक्ट गर्नु भएको व्यक्तिले तपाइको तर्फबाट प्रोफाइल र कभर फोटो परिवर्तन गर्नु देखि लिएर फ्रेण्ड रिक्वेस्ट ब्यबस्थापन गर्न पनि सक्नेछ। यसबाहेक लिगेसी कन्ट्याक्ट्सले मृतक का तर्फबाट एक अन्तिम पोष्ट र मृतकले शेयर गरेको कुराहरुको प्रतिलिपि डाउनलोड पनि गर्न मिल्छ। यति मात्र नभएर, लिगेसी कन्ट्याक्ट्सको रुपमा भएको व्यक्तिले मृतक व्यक्तिको फेसबुक एकाउन्ट डिलिट गर्नका लागि अनुरोध समेत गर्न मिल्छ। 

तर अघि भने जस्तै तपाइको फेसबुक एकाउन्टमा लगईन गर्ने, तपाइको प्राइभेट मेसेज पढ्ने र साथीलाई अनफ्रेन्ड गर्ने वा कुनै फ्रेन्ड रिक्वेस्ट पठाउनजस्ता कामहरु भने लिगेसी कन्ट्याक्ट्सको रुपमा रहेको व्यक्तिले गर्न मिल्दैन। लिगेसी कन्ट्याक्ट्मा तपाइले एक जना व्यक्तिलाई मात्र राख्न पाउनु हुने छ, यसमा तपाईंले नजिकको कोही मिल्ने साथी अथवा परिवारका सदस्य जो कोहिलाई पनि राख्न सक्नुहुन्छ। 

फेसबुक मेमोरियलाइजेशन कसरी सेट अप गर्ने

तपाइले यसरी आफ्नो एकाउन्टलाई सम्झनाको रुपमा राखी रहनका लागि केहिँ प्रक्रिया भने अपनाउन पर्ने हुन्छ । 

स्टेप १ : आफ्नो मोबाइलमा फेसबुक एप खोल्नुहोस्। 

स्टेप २ : फेसबुकको तलको दायाँ कुनामा भएको आफ्नो प्रोफाइल फोटोमा क्लिक गर्नुहोस्।

स्टेप ३ : सेटिङ्स एंड  प्राइभेसि भित्र रहेको सेटिङमा क्लिक गर्नुहोस्।

स्टेप ४ : अब एउटा नया पेज खुल्छ, त्यहाँ एकाउन्ट सेन्टरमा क्लिक गर्नुहोस्।

स्टेप ५ : फेरी अर्को नयाँ पेज लोड हुन्छ, त्यहाँ रहेको पर्सनल डिटेललाई सेलेक्ट गर्नुहोस्।

स्टेप ६ : पर्सनल डिटेल पेजको सब भन्दा तल रहेको ‘एकाउन्ट ‌ओनरसीप एन्ड कन्ट्रोल’ मा क्लिक गर्नुहोस्।

स्टेप ७ : अब तपाई एकाउन्ट ‌ओनरसीप एन्ड कन्ट्रोल भित्र पुग्नु हुन्छ, त्यहाँ तपाइले ‘मेमोराइजेसन सेटिङ्स’ र ‘डिएक्टिभेसन एन्ड डिलिसन’ गरी दुई विकल्पहरु देख्नुहुन्छ, त्यसबाट मेमोरियलाइजेसन लाई छनौट गर्नुहोस्।

स्टेप ८ : फेरी पनि तपाइले दुई विकल्प देख्न सक्नुहुन्छ, ‘चुज लिगेसी कन्ट्याक्ट’ र ‘डिलिट आफ्टर डेथ’, यहाँ तपाइले  ‘चुज लिगेसी कन्ट्याक्ट’ विकल्पमा क्लिक गरेर आफ्नो मृत्युपछि तपाईंको फेसबुक हेरचाह गर्न व्यक्ति रोज्न सक्नु हुन्छ, अथवा ‘डिलिट आफ्टर डेथ’ भन्ने विकल्पमा क्लिक गरेर मृत्युपछि एकाउन्टलाई कसैले रिपोर्ट गरेर एकाउन्ट डिलिट हुने गराउन सक्नु हुन्छ। 

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.